उत्कृष्ट पनि छन सामुदायिक विद्यालय

 

संख्यात्मकरूपमा निजी विद्यालयको बाहुल्यता रहेको काठमाडौंमा केही सामुदायिक विद्यालय उत्कृष्ट छन् । एक हजार दुई सय निजी विद्यालय रहेको काठमाडौंमा दुई सय ८५ सामुदायिक विद्यालय रहेकामा प्रधानाध्याक, शिक्षक र अभिभावकको लगनशीलता एवं सक्रियताले केही विद्यालय अब्बल कहलिएका हुन् । रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलंी, नीलवाराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, जनसेवा मावि, कीर्तिपुर, मंगलोदय मावि थानकोट, विजयस्मारक मावि, डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, तरुण मावि बालाजुलगायत विद्यालय सामुदायिकका राम्रा विद्यालयअन्र्तगत पर्ने पर्दछन्् । ती विद्यालयमा माध्यमिक शिक्षा परीक्षाको उत्तीर्ण प्रतिशत ९६ देखि सय सम्म छ ।
वैशाखको पहिलो हप्ताबाट हुने विद्यार्थी भर्ना कार्यक्रममा अधिकांश विद्यालय विद्यार्थी भर्ना गर्न घरदैलो कार्यक्रम गरे पनि त्यस्ता अब्बल विद्यालयमा भर्ना अभियान नै नगरी पढ्नका लागि विद्यार्थीको भीड देखिएको छ । जसका कारण विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन् । विद्यालयमा विद्यार्थीको आकर्षण भएपछि विद्यार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता ती विद्यालयलाई छ । निजी जस्तै अंगेजी माध्यममा पढाइ हुने ती सामुदायिक विद्यालयमा विद्यार्थी प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र भर्ना पाउँछन् ।
रत्नराज्य माविका प्राधानाध्यापक डा.गीता खरेल भन्छिन् ‘धेरै विद्यार्थी आउन थालेपछि केही वर्षदेखि हामीले प्रवेश परीक्षा लिन थालेका छौँ ।’ उनले प्रवेश परीक्षामा उत्तीर्ण गर्नेलाई मात्र विद्यालयमा भर्ना गर्ने बताएकी छन् । यो विद्यालयले कक्षा एकदेखि सातसम्म तीन वटा र कक्षा आठदेखि १० सम्म चार अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ । करिब २१ सय विद्यार्थी रहेको उक्त विद्यालयमा सवैभन्दा बढी निजी विद्यालयबाट विद्यार्थी भर्ना गर्न आउने गरेको उनी बताउँछिन् ।
सामुदायिक स्कुलमा राम्रो पहिचान बनाउन सफल रत्नराज्य निजी विद्यालयको जस्तै कक्षा तीनबाट नै कम्प्युटर शिक्षा, शान्त वातावरण, अनुशासन भएकोले धेरै अभिभावकको रोजाइ हुने गरेको छ । पूर्णतया निःशुल्क पढाइ हुने रत्नराज्यमा कम्प्युटर कक्षाको भने ५० देखि सय रुपैयाँ लिने गरिएको छ ।
कलंकीस्थित ज्ञानोदय माविमा पनि भर्ना अभियान सञ्चालन गरी नयाँ शैक्षिकसत्रमा विद्यार्थी पढ्नका लागि भीड हुने गरेको छ । विद्यार्थीको अत्यधिक चाप भएकाले विद्यालयले प्रवेश परीक्षा लिने गरेको विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन बताउँछन् । कक्षा एकदेखि १० सम्म अंगे्रजी माध्यममा पढाइ हुने ज्ञानोदयको पढाइको गुणस्तर राम्रो भएकाले विद्यार्थीको चाप छ ।
ज्ञानोदयमा माथिल्लो कक्षामा बढी विद्यार्थीको चाप हुने गरेको छ । कक्षा सात देखिमाथि निजी विद्यालयबाट विद्यार्थी आउने गरेको महर्जन बताउँछन् । विद्यालयमा अघिल्लो वर्ष कक्षा नौमा सिभिल इन्जिनियरिङ विषयको पढाइसमेत हुने गरेको छ । ‘सक्ने अभिभावकले मासिक तीन सय रुपैयाँ दिनुहुन्छ’, उनले भने, ‘तर नसक्ने जति विद्यार्थीलाई निःशुल्क भर्ना गर्छौं र उसलाई आवश्यक कापी, कलम, झोला किन्ने उल्टो पैसा दिन्छौँ ।’
कालीमाटीस्थित नीलवाराही माविले सोमबारबाट प्रवेश परीक्षाका लागि फारम वितरण गरेको नीलबाराहीमा ४ वैशाखमा परीक्षा तोकेको छ । विद्यालयकी प्रधानाध्यापक जानुका नेपाल आफूहरू सरकारलाई विद्यालय भर्नामा सहयोग पु¥याउन अभियान सञ्चालन गर्ने बताउँछन् । ‘हामीले हाम्रा विद्यालयका लागि भर्ना अभियान गरेर विद्यार्थी खोज्नु पर्दैन’, उनी भन्छन्, ‘सरकारलाई सहयोग गर्न अन्य विद्यालयमा विद्यार्थी भर्ना गराउनका लागि अभियान सञ्चालन गर्दछौँ ।’ कक्षा एकदेखि कक्षा आठसम्म अंग्रेजी माध्यममा पढाइ हुने नीलबाराहीले आगामी वर्षमा कक्षा नौमा पढाइ गर्ने उनले जानकारी गराए ।
ज्ञानोदय स्कुलका २० वर्ष काम गरेका पूर्वप्रधानाध्यपक धनञ्जय शर्मा अभिभावकसँग बालबालिकाको पढाइका बारेमा छलफल गर्ने र ती छलफलबाट आएका सुझावका आधारमा प्रधानाध्यापक र शिक्षकले मिहिनेत गरे सामुदायिकको पनि पढाइ गुणस्तर बनाउन सकिने बताउँछन् । कीर्तिपुरको जनसेवा माविका शिक्षक चन्द्र बानियाँ प्रवेश परीक्षाले सामुदायिक विद्यालय सुधारमा सहयोग पुग्ने बताउँदै शिक्षक र अभिभावकको सक्रियता हुने हो भने यी विद्यालयमा विद्यार्थीको चाप अझ बढ्ने धारणा राख्छन् ।

प्रतिक्रिया