भारत र अस्ट्रेलियाबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली । भारत र अस्ट्रेलियाबीच आतंकवाद विरोधी सहकार्यलाई मजबुत बनाउनेलगायत विभिन्न ६ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहेका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुल र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच ६ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको भारतले बताएको छ । सम्झौता हस्ताक्षर भएपछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने, ‘अस्टे«लिया र नयाँदिल्लीले द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयलाई समीक्षा गर्दै दुई देशबीचको साझा विषयमा सहकार्यका लागि अग्रगामी निर्णयहरू लिन केही नयाँ सम्झौतासमेत गरिएको छ ।’ सम्मेलनमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले भारत प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वका विषयमा जोड दिँदै आतंकवाद र साइबर सुरक्षाका लागि विश्वव्यापी रणनीति र समाधान खोजिनुपर्ने बताए ।
त्यसैगरी अस्टे«लियाली प्रधानमन्त्री टनबुलले आफ्नो मुलुकले भारतसँगको मजबुत एवं सुमधुर सम्बन्धका लागि थप निकटमा रहेर काम गर्ने बताए । मेरो भारत भ्रमणले यसअघि मजबुत एवं मित्रवत् रहँदै आएको सम्बन्ध थप मजबुत बनेको छ, टर्नबुलले संयुक्त पत्रकार सम्मेलनका क्रममा बताए । टर्नबुलले आफ्ना भारतीय समकक्षीले भारतमा आर्थिक प्रगति र विसकासका लागि गरेको नेतृत्व प्रशंसनीय भएको बताए ।
भारतको सफलता विश्वका लागि प्रेरणाको स्रोत बनेको भन्दै अस्ट्रेलियाले धेरै विषयमा भारतसँग सम्बन्ध जोड्न चाहेको बताए । टर्नबुल आफ्नो चार दिने भारत भ्रमणका क्रममा आइतबार साँझ नयाँदिल्ली आएका हुन् ।

प्रतिक्रिया