भाटभटेनी अब बुटवलमा

बुटवल । एकीकृत सेवा प्रदान गर्ने उद्देश्यले नेपालको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटको १३औँ व्यापारिक कम्प्लेक्स बुटवलमा सञ्चालनमा आउने भएको छ । एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा बुटवल उपमहानगरपालिका–८ को मुख्य क्षेत्र सुख्खानगरमा खडा गर्न लागिएको आठ तलाको बहुउद्देश्यीय व्यापारिक भवनको निर्माण कार्य सम्पन्न भएको छ ।
भवन निर्माणसँगै नयाँ वर्षको दिनदेखि नै व्यावसायिक सेवा सुरु गरिने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
गत असारदेखि निर्माण सुरु भएको व्यापारिक कम्प्लेक्स भवन कुल आठ कठ्ठा क्षेत्रफलमा निर्माण भएको र भवन निर्माण मात्र ३५ करोड रुपैयाँ लगानी भएको अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार भवनका लागि जग्गा गरिद र व्यवसाय सञ्चालनको अवस्थासम्मको लगानी ९० करोड रुपैयाँ पुगेको छ ।
निर्माण सुरु भएको झन्डै १० महिनामा सञ्चालन हुन लागेको यो सुपरमार्केटको भवन निर्माणमा दैनिक ३०० भन्दा बढी कामदार परिचालन भएका छन् । ‘हामीले दक्ष र युवा इन्जिनियरको कन्सल्टेन्टलाई जुन समयसीमा तोकेर जिम्मा दिएका थियौँ, त्यही समयमै काम सकिएको छ, यो नै हाम्रो सफलता हो’ अध्यक्ष गुरुङले भने ।
स्थानीय उत्पादन, स्थानीय जनशक्ति र स्थानीय बजार भन्ने मुख्य लक्ष्य बनाएको यो सुपरमार्केटको सञ्चालनमा स्थानीय गाउँघरमा उत्पादित वस्तुको प्रवद्र्धन गरिने र दैनिक कामका लागि स्थानीय युवायुवतीलाई नै रोजगारी दिइने उनले बताए । यसका लागि २०० प्रत्यक्ष र झन्डै पाँच हजारभन्दा बढी अप्रत्यक्ष रोजगार सिर्जना हुने उनको दाबी छ ।

प्रतिक्रिया