इजिप्टमा संकटकालको घोषणा

कायरो । इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सीसीले देशभर तीन महिने संकटकाल लगाएको घोषणा गरेका छन् । आइतबार इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले दुई वटा चर्चहरुमा बम विस्फोट गराउदा ४४ जनाको मृत्यु भएपछि उनले संकटकालको घोषणा गरेका हुन् ।
‘पाम सन्डे’ नामक पर्व मनाइरहेका बेला राजधानी कायरो नजिकै रहेका दुई वटा चर्चमा बम विस्फोट गराइएको थियो । उनले घोषणा गरेको तीन महिने संकटकाल लगाउने प्रस्ताव एक हप्ताभित्रमा संसद्मा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । संसद्मा रहेका बहुमत सदस्यको समर्थन राष्ट्रपति सीसीलाई छ र संसद्ले अनुमोदन गरेपछि संकटकाल कार्यान्वयनमा आउनेछ ।
संकटकाल घोषणा गर्दै उनले जिहादिष्ट विरुद्धमा पिडादायक र निकै लामो लडाइ लड्ने बताए । कायरोदेखि उत्तरतर्फको टान्टामा रहेको मार गिर्गिस चर्च गराइएको पहिलो विस्फोटनमा परी २७ जनाको मृत्यु भएको इजिप्टका स्वास्थ्य मन्त्रीले जानकारी दिए । त्यसैगरी अर्को विस्फोटन एलेक्जान्ड्रीयामा रहेको मार्कको चर्चमा भएको थियो । सो विस्फोटनमा परी चार जना प्रहरी अधिकृतसहित कम्तीमा १७ जना मारिएका छन् । आक्रमणकारीले आत्मघाती हमला गरेको गृहमन्त्रीको भनाइ छ । टान्टामा भएको विस्फोटमा कम्तीमा ७८ जना र एलेक्जान्ड्रीयामा भएको विस्फोटमा कम्तीमा ४० जना घाइते भएको स्वास्थ्य मन्त्रीले बताए ।
इजिप्टमा भएको विस्फोटमा परी ठुलो संख्यामा मानवीय क्षति भएको प्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ । आइएसले सामाजिक सञ्जालबाट बक्तव्य सार्वजनिक गर्दै आफ्ना दुई जना आत्मघाती हमलाकारीले बम विस्फोटन गराएको स्पष्ट पारेको छ । साथै आइएसले घटनाको जिम्मेबारी पनि लिइएको जनाएको छ ।
संकटकालको घोषणासँगै महत्वपूर्ण संरचनाको सुरक्षाका लागि अब इजिप्टमा प्रहरीसँगै सेना खटिनेछ र सुरक्षा निकायलाई पक्राउ पूर्जी विना गिरफ्तारीहरु गर्ने अधिकार हुनेछ । संकटकालको कार्यान्वयनसँगै अधिकारीले विना पूर्जी मानिसलाई गिरफ्तार गर्न र घरमा छापा मार्न पाउनेछन् ।

प्रतिक्रिया