मानसिक रोगीको संख्या बढ्दै

डँडेल्धुरा । जिल्लाको विभिन्न ६ स्थानमा गरिएको अध्ययन एवं उपचारमा करिब पाँच सय नागरिक मानसिक रोग (डिप्रेसन) बाट पीडित भएको पाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय डँडेल्धुरा र सिएमसि नेपालले जिल्लाको जोगबुढा, आलिताल, नवदुर्गा, अजयमेरु, देवलदिव्यपुर र बगरकोटमा गरेको अध्ययन एवं उपचारमा उक्त संख्यामा मानसिक रोगी फेला परेको हो । तथ्यांकअनुसार डँडेल्धुरामा सबैभन्दा बढी मानसिक रोगी (डिप्रेसन) को समस्या भएका नागरिक जोगबुढामा दुई सय ५३, अजयमेरुमा ७१, बगरकोटमा ६२, नवदुर्गामा ५९, देवलदिव्यपुरमा २६ र आलितालमा १६ जना छन् । स्वस्थ नागरिकमा आइपर्ने चिन्ता नैराश्यता लगातार दुई सातासम्म रहिरहनुलाई डिप्रेसन मान्न सकिने चिकित्सकहरूको भनाइ छ ।
डिप्रेसनका कारण विश्वमा आत्महत्याका घटनामा पनि वृद्धि भएको पाइन्छ । आत्महत्याका घटना पछिल्लो समय डँडेल्धुरामा पनि बढ्दै गएका छन् । चालु वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा सबैभन्दा बढी छन् । डिप्रेसनले नागरिकको आत्मविश्वासमा कमी ल्याई निराशजनक जीवन व्यतीत गर्नमा सहयोग पु¥याउँछ । जसका कारण मानिसमा धेरै चिन्ता भई आफू केही गर्न नसक्ने ठानी आत्महत्याको मानसिकता पलाउने गर्छ । यो रोगको सबैभन्दा उपयुक्त र प्रभावकारी उपचार भनेको नै मनोपरामर्श भएको उप क्षेत्रीय अस्पताल डँडेल्धुराका मेडिकल अधिकृत डा. विप्लव घिमिरेले बताए ।
विश्व स्वास्थ्य दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय डँडेल्धुरामा आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवादमा डा. घिमिरेले पछिल्लो समयमा संसारभरी कै नागरिकमा यो समस्या देखिने गरेको बताउँदै यसबाट मुक्ति पाउनका लागि मनोवैज्ञानिकको सल्लाहअनुसार औषधि सेवन गर्नु उपयुक्त हुने बताए ।

प्रतिक्रिया