प्रभावकारी सेवा दिने बेनी अस्पताल

हर्नियाको समस्या भएका रघुगंगा गाउँपालिका–३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनीस्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गरे । ‘बी’ नेगेटिभ रगत र मुटुको समस्याले थलिएकी धौलागिरि–२ लुलाङकी ५१ वर्षीया मनकुमारी विकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गरे । पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश हुँदै घर फर्कने क्रममा विकलाई आफन्तले अन्तिम अवस्थामा बेनी अस्पताल पु¥याएका थिए ।
चिकित्सकका अनुसार ‘बी’ नेगेटिभ रगतको कमी र उनको मुटुको चाल प्रतिमिनेट ७५ भन्दा माथि हुनुपर्नेमा ४६ मा झरेको थियो ।
दाहिने खुट्टा र कम्मरलाई जोड्ने ठाउँमा भएको संक्रमणका कारण एउटा खुट्टा चलाउनै नसक्ने गरी कुँजिएपछि गत माघमा बेनी अस्पताल ल्याइएकी लुलाङकै पानु विक एक वर्षदेखिको स्वास्थ्य समस्याबाट मुक्त भई आफँै हिँडेर घर फर्किइन् । क्षयरोग र कुपोषणको सिकार भएकी विकको शल्यक्रियाका साथै दुई महिनासम्म चिकित्सकको निगरानीमा उपचार गरिएको थियो । अस्पतालमा ल्याउँदा २३ किलोग्राम तौल भएकी उनी फर्कंदा ४३ किलोकी भएकी थिइन् । पिप्लेका खत्री, लुलाङका मनकुमारी र पानुजस्ता सयौँ बिरामीले जिल्लाकै सरकारी अस्पतालमा सर्भसुलभ र सहजरूपमा शल्यक्रियासहितको सुविधा पाएपछि राहत महसुस गरेका छन् ।
अस्पतालले जटिल प्रसूति, हाडजोर्नी, हाइड्रोसिल, हर्निया, पत्थरी, एपेन्डिसाइट्स, पाठेघर खस्ने, छालाको प्रत्यारोपण गर्नुपर्नेलगायत समस्या भएका बिरामीलाई शल्यक्रियासहितको सेवा प्रदान गरेको छ । बेनीमा शल्यक्रिया सेवा पाएपछि धेरै रकम र समय खर्च गरेर उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने समस्यामा कमी आएको छ । गरिब तथा विपन्न सर्वसाधारणको उपचार सेवामा पहुँच बढ्नुका साथै समय र आर्थिकको वचत भएको हर्नियाको शल्यक्रिया गरेका खत्रीले बताए । ‘काठमाडौं, पोखरा, चितवन जाँदा धेरै खर्च र समय लाग्दथ्यो’, खत्रीले भने, ‘बेनीमै सुविधा पाएपछि सजिलो भयो । राहत मिलेको छ ।’
अस्पतालमा हालसम्म ८४ वटा जटिल र साउनदेखि यता एक सय ४९ वटा मध्यम किसिमका शल्यक्रिया भएको छ । ०७१ सालदेखि शल्यक्रियामार्फत जटिल किसिमको प्रसूति गराउने सेवा सुरु गरेको अस्पतालले गतवर्षदेखि अन्य शल्यक्रियासमेत सुरु गरेको थियो । सुविधा विस्तारसँगै चिकित्सक, कर्मचारीको सक्रियता, व्यवस्थापन समितिको समन्वयात्मक भूमिका र समुदायको सहयोगबाट जिल्ला अस्पतालको सेवा प्रवाहमा सुधार आएको हो । पछिल्लो समय बेनी अस्पतालप्रति सर्वसाधारणको विश्वास बढेको अस्पतालमा बुबालाई उपचार गराउन आएका अन्नपूर्ण–८ राम्चेका भक्तबहादुर पुर्जाले बताए ।
समयमै र सही उपचार नपाएर अकालमा ज्यान गुमाउन बाध्य यस जिल्लाका बासिन्दाको स्वास्थ्य स्थिति सुधार्न उनीहरू लागिपरेका छन् । देशका कतिपय सरकारी अस्पतालले दरबन्दीअनुसारको चिकित्सक अभावको समस्या झेलिरहेका बेला बेनी अस्पतालमा १३ र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सक कार्यरत छन् ।
जनशक्ति पर्याप्त भएपछि विस्तार गरेको सेवालाई निरन्तरता र दिगो बनाउन अस्पतालमा पूर्वाधार र उपकरण थप गर्न लागिएको अस्पतालका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताए । ‘जनशक्ति भएपछि सेवा विस्तार गरेका हौँ’, न्यौपानेले भने, ‘यसलाई निरन्तरता दिन पूर्वाधार निर्माण र उपकरण थप गर्न पहल गरेका छौँ ।’
०७२ असोजमा १५ बाट बढाएर ५० श्ययाको बनाइएको बेनी अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकसहित ६९ जना विभिन्न तहका प्राविधिक जनशक्तिको दरबन्दी छ । यसअघि दुई जना मात्रै चिकित्सकको दरबन्दी रहेको अस्पतालमा विशेषज्ञबाहेक अरू सबै दरबन्दीमा पदपूर्ति भएको छ । जनशक्ति, उपकरण र पूर्वाधारसँगै जिल्ला अस्पतालको सेवा विशिष्टीकरणतर्फ अघि बढेको हो । अस्थायी संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा ६० लाख बजेट प्रस्ताव गरिएको छ । ‘स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध नगराए पनि अस्पतालको स्रोतबाट वैकल्पिक पूर्वाधार तयार पारेर अहिले प्रवाह भइरहेको सेवा, सुविधामा कटौती हुन नदिने प्रयास गरेका छौँ’, अध्यक्ष रेग्मीले भने ।

प्रतिक्रिया