उपप्रधानमन्त्रीको वरीयता विवाद मन्त्रिपरिषद्को बैठक आलटाल

pm office nepal
काठमाडौं ।उपप्रधानमन्त्रीमा देखिएको वरीयता विवाद सुल्झन नसक्दा बिहीबार बस्ने नियमित मन्त्रिपरिषद्को बैठक बस्न सकेन । उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा र उपप्रधानमन्त्री विमलेन्द्र निधीबीचको वरिष्ठ भन्ने विवादको टुंगो लगाउन गरिएका प्रयासहरू निष्फल भएपछि बैठक आइतबारसम्मका लागि सारिएको हो ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बिहीबारको बैठक सारिएको स्वीकारे । तर, उनको भनाइ भने मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन बैठक सरेको हो भन्ने छ । तीन सातादेखि मन्त्रिपरिषद् बैठक बस्न नसक्दा निर्णयका लागि फाइलको चाङ लागेको छ । सरकारले नियमित रूपमा निर्णय गर्नुपर्ने विषय नै सातामा १५–२० वटा हुन्छन् । मन्त्रिपरिषद्को बैठक प्रभावित हुनुको अर्को कारण भने प्रहरी महानिरीक्षक नियुक्तिमा अन्योल हुनु पनि हो ।
२६ फागुनमा राप्रपा अध्यक्षसमेत रहेका थापाले उपप्रधानमन्त्रीको शपथ लिएपछि अहिलेसम्म निधी र थापाको वरीयताक्रमको विवाद कायमै छ । उपप्रधानमन्त्रीबीचको वरीयता विवादले लामो समयदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन भने चीन भ्रमणमा जाँदा प्रधानमन्त्री दाहालले कार्यवाहक प्रम तोक्न सकेका थिएनन् ।
गृहमन्त्री निधीका प्रेस संयोजक रामजी दाहालका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहाललाई भेटेर वरीयताक्रममा आफूलाई पछि पारिए मान्य नहुने चेतावनी दिइसकेका छन् । मन्त्री निधीले प्रथम उपप्रमलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको हुनाले पनि समस्या लम्बिएको हो ।
देउवाले प्रधानमन्त्री दाहाललाई जसलाई प्रथम प्रधानमन्त्री बनाए पनि आफूलाई मान्य हुने तर प्रहरी प्रमुखमा भने जयबहादुर चन्द नै हुनुपर्ने अडान राखेको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट एनपीमा भने प्रधानमन्त्रीपछि निधी नै वरीयतामा दोस्रो सूचीमा छन् । त्यसपछि माओवादी नेता कृष्णबहादुर महरा छन् । थापा तेस्रो नम्बरमा छन् ।
सर्वोच्च अदालतको फैसला आएपछि मन्त्रिपरिषद्को बैठक अहिलेसम्म बसेको छैन । अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट आइजिपीको नियुक्ति विवाद र वरीयता दुवै टुंगो लगाउने प्रधानमन्त्री दाहालले बताउँदै आएका थिए । मन्त्रिपरिषद्मा वरीयता मापन गर्ने दुईवटा विधि छन् । को पहिला उपप्रधानमन्त्री भएको हो भन्ने आधारमा र ठूलो पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेको आधारमा । पहिला उपप्रधानमन्त्री भएको आधारमा तीन अर्थमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा सबैभन्दा वरिष्ठ उपप्रधानमन्त्री हुन् तर महराले आपैmँले निधीलाई आफूभन्दा वरिष्ठ उपप्रम स्वीकार गरेर बाटो सजिलो पारेका थिए ।

प्रतिक्रिया