ग्यास आक्रमणको सर्वत्र निन्दा

बेरुत । सिरियाको इदलिबमा मंगलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने सो संस्थाले जनाएको छ ।
सिरियाली विद्रोहीको प्रभावमा रहेको इदलिब क्षेत्रको खान सेइखुनमा हवाई जहाजबाट विषालु ग्यास प्रहार भएको हो । मंगलबार बिहानै भएको रासायनिक आक्रमणको घटनामा सिरियाको सत्तापक्षको सेनाको हात रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले आशंका गरेको छ ।
घटनाको सर्वत्र विरोध भएको छ । देशभित्र कै प्रतिपक्षी दल र अन्य देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाले पनि घटनाको निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्सले विषालु ग्यासको आक्रमण अमानवीय र क्रुर भएको भन्दै निन्दा गरेका हुन् । अमेरिकाले पनि सिरियाको विद्रोही नियन्त्रित एउटा सहरमा भएको विषाक्त ग्यास आक्रमणमा सिरियाली सरकारको हात रहेको आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उक्त आक्रमणमा बसर अल असदकै सरकार संलग्न रहेकोमा आफू विश्वस्त रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगै विदेशमन्त्री रेक्स टिलरसनले पनि आक्रमणको चर्को आलोचना गरेका छन् । सिरिया कै प्रतिपक्षी दलले घटनामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारको संलग्नता रहेको भन्दै छानविन गर्न संयुक्त राष्ट्रसंघसँग आग्रह गरेको छ । त्यसैगरी फ्रान्सले यसबारे सुरक्षा परिषद्मा छलफल हुन जरुरी देखिएकोले तत्काल बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह गरेको छ ।
घटनालाई घृणास्पद भन्दै फ्रान्सले घटनाको निन्दा गर्दै कुनै पनि राष्ट्र चुप रहनु वा खुम्चिन नहुने जनाएको छ । यद्यपि, सिरियाली वरिष्ठ सैनिक अधिकारीले घटनामा सेनाको संलग्नता नरहेको बताएका छन् । यदि यसप्रकारको घटना सम्बन्धमा पुष्टि भएको खन्डमा पछिल्लो आक्रमण सिरियाली गृहयुद्ध कै सबैभन्दा भीषण रासायनिक हमला भएको जनाइएको छ ।

प्रतिक्रिया