मोकोआलाई आर्थिक संकटग्रस्त क्षेत्र घोषणा

मोकोआ । बाढीपहिरोका कारण २ सय ७० भन्दा बढीको मृत्यु भएको कोलम्बियाको दक्षिणी क्षेत्रमा पर्ने मोकोआलाई कोलम्बिया सरकारले आर्थिक संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार पहिरो गएको क्षेत्रमा फेरि स्थलगत निरीक्षणपछि राष्ट्रपति जोन म्यानुअल सान्तोषले सोमबार सो क्षेत्रलाई आर्थिक संकटग्रस्त क्षेत्र घोषणा गरेका हुन् ।
उनले स्वास्थ्य र खानेपानी तथा सरसफाइका लागि यसअघि नै संकटग्रस्त क्षेत्र घोषणा गरिसेका छन् । ‘यस दुःखद् घटनामा परी अहिलेसम्म २ सय ७३ जनाको मृत्यु भएको छ, अरु २ सय ६२ जना घाइते हुनुभएको छ,’ उनले भने, ‘मृत्यु भएकामध्ये ४३ जना बालबालिका रहेका छन् ।’
राष्ट्रपति सान्तोषले सोमबार राती उद्धारकर्तासँगै बिताएका छन् । मंगलबार बिहानैदेखि उनी फेरि उद्धारकार्यको निरन्तर संयोजन गरिरहेका छन् । उनले पुनर्निर्माण तत्काल सुरु हुने बताए । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरि यस्तै क्षति हुन सक्नेतर्फ उनले सचेत रहन आह्वान गरेका छन् । संकटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिइरहेका छन् ।
भीषण वर्षापछि गत शुक्रबार मोकोआका तीन वटा नदीमा ठूलो बाढी आएको थियो भने बाढीले ठूलो मात्रामा ढुंगा, माटो र रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो । बाढीपहिरोबाट पीडित व्यक्तिहरु झन्डै पाँच दशक लामो गृहयुद्ध र गरिबीबाट पनि पीडित थिए ।
सरकारी तथ्यांकअनुसार मोकोआमा झन्डै ७० हजार जनसंख्या रहेको थियो । तीमध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ । बाढीग्रस्त क्षेत्रमा विद्युत् वितरणका संरचना फेरि बनाएर विद्युत् सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीले बताएका छन् । तत्कालका लागि भने त्यहाँ बोतलको पानीको व्यवस्था गरिदैछ । स्वास्थ्यकर्मीले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको प्रकोप फैलिन सक्ने भएकाले पूर्वसतर्कता अप्नाउन आह्वान गरेका छन् ।

प्रतिक्रिया