पहिरोमा परी कोलम्बियामा २ सय ६ जनाको मृत्यु

कोलम्बिया । दक्षिणी कोलम्बियामा गएको पहिरोका कारण कम्तीमा २ सय ६ जनाको मृत्यु भएको छ भने अरू कयौँ घाइते र बेपत्ता भएका छन् । पेरु र इक्वेडरबाट केही महिनाअघि मात्रै आएका बाढीपीडित पनि पहिरोमा परेका छन् । दक्षिणी कोलम्बियाको मोकोआ भन्ने ठाउँमा गएको पहिरोले हजाराँै घर, पुल, सवारी साधन तथा रुखहरू ढलाएको तथा बगाएको छ । पछिल्लो विवरणअनुसार कम्तीमा दुई सय ६ जनाको मृत्यु दुई सय दुई जना घाइते र दुई सय २० जना बेपत्ता भएको कोलम्बियन रेडक्रसका प्रमुखले आइतबार जानकारी दिएका छन् ।
कोलम्बियाका राष्ट्रपति जोन म्यानुअल सान्तोषले उद्धारकर्तालाई भेटेर अझ सक्रियताका साथ उद्धार तथा खोजी कार्यमा सक्रिय हुन निर्देशन दिएका छन् ।
उनले घटना भएको क्षेत्रमा संकटकालको घोषणा गर्दै मृतकप्रति श्रद्धाञ्जलि र पीडितप्रति सहानुभूति व्यक्त गरेका छन् । स्थानीय पुटुमायोका गभर्नर सोरेल अरोकाले ‘अकल्पनीय दुःखदायी घटना’ भएको बताएका छन् । उनले स्थानीय एक रेडियोसँग भनेका छन् । ‘सयाँै व्यक्तिलाई हामीले अहिले फेला पार्न सकिरहेका छैनौँ, सँगसँगै भएका सबै छुट्टिएका छन् ।’
राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइका निर्देशक कार्लोस इभान माक्र्वीजले मोकोआ नदीमा पानी बढेर पहिरो आएको बताए । विशाल हिम पहिरोका कारण मोकोआ नदीमा ठूलो बाढी आएको उनको भनाइ छ । राष्ट्रपति सान्तोषले त्यो नदीमा केही महिनादेखि बेलाबेलामा यस्तो बाढी आउने गरेको र नदी वरिपरि बसोबास गर्नेलाई सतर्क रहन भनिए पनि गएराती अनपेक्षित बाढी आएको बताए । उनले यस दुःख घडीमा पीडित सबैलाई सरकारले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘हामी सबै बाढीपहिरो पीडितको साथमा छौँ, हामी तपाईंहरूको लागि प्रार्थना गरिरहेका छौँ’ उनले भने ।
उक्त नगरमा बिजुली, पानी, फोनलगायत सेवा अवरुद्ध भएका छन् भने झन्डै ८० प्रतिशत सडक क्षेत्रमा आवतजावत गर्न नसकिने अवस्था रहेको र पुलहरू पहिरोले बगाएको बताइएको छ । निरन्तरको खराब मौसम र भत्किएका संरचनाका कारण खोज तथा उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्मीले बताएका छन् ।
कोलम्बियामा बेलाबेलामा यस्ता बाढीपहिरोका कारण सयौँको मृत्यु हुने गरेको छ । सन् २०११ यता यसपटक मार्च महिनामा कोलम्बियामा सबैभन्दा बढी पानी परेको अधिकारीले जनाएका छन् । गत नोभेम्बरमा दक्षिणी पश्चिमी क्षेत्रमा पर्ने इल टम्बोमा आएको पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो । त्यसैगरी एक महिनाअगाडि आएको अर्को पहिरोका कारण १० जनाको ज्यान गएको थियो ।
जलवायु परिवर्तनका कारण यस्ता अनपेक्षित र अकल्पनीय प्राकृतिक प्रकोपका घटना हुने गरेको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया