चर्च बस र ट्रक ठोक्किदा १२ जनाको मृत्यु

होस्टन । अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । स्थानीय समयअनुसार मध्यरातको १२ः२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एन्टोनियोदेखि एक सय २० किलोमिटर पश्चिमतर्फ दुर्घटना भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टिस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले घटनामा परी गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
मृतकमध्ये ट्रकका चालकको पनि मृत्यु भएको हो की होइन भन्ने स्पष्ट भइसकेको छैन । टेक्सासका गभर्नर ग्रेग अब्बोटीले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट गरेका छन् । दुःखद घटनाको बारेमा सार्वजनिक सुरक्षा विभागले अध्ययन अनुसन्धान सुरु गरिसकेको जनाएको छ । दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुननसकेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया