अस्वेत आन्दोलनका अगुवा कथ्राडाको निधन

जोहनेसबर्ग । दक्षिण अफ्रिकामा स्वेतहरूले गरेको शासनका विरुद्ध अस्वेतले गरेको संघर्षका अगुवा अहमद कथ्राडाको मंगलबार बिहान निधन भएको छ । दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मण्डेलाका सबैभन्दा नजिकका सहयात्री कथ्राडाको ८७ वर्षको उमेरमा निधन भएको हो ।
कथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलन र जेलमा सँगसँगै परेका थिए । उनीहरूले नेतृत्व गरेको आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । उनले २६ वर्ष तीन महिना कारागारका विताएका थिए ।
मस्तिष्कको शल्यक्रिया भएको केहीदिनमै जोहानसबर्गस्थित अस्पतालमा उनको मृत्यु भएको हो । अस्वेतविरुद्ध गरिने भेदभावविरुद्धको आन्दोलन सकिएपछि उनी सन् १९९४ देखि सन् १९९९ सम्म संसद् सदस्य बनेका थिए ।
उनको निधन भएकोमा अफ्रिकामा गहिरो दुःख व्यक्त गरिएको छ । अहमद कथ्राडा फाउन्डेसनका प्रमुख निशान बाल्टोनले शोक वक्तव्य प्रकाशित गर्दै उनको निधनले मुलुकलाई ठूलो क्षति पुगेको बताएका छन् । ‘उनले संसारका विभिन्न ठाउँमा रहेका लाखौँ व्यक्तीलाई प्रेरित गर्नुभएको थियो,’ वक्तव्यमा भनिएको छ । स्वेतहरूले गरेको शासनका विरुद्ध अस्वेतहरूले गरेको संघर्षमा उन १७ वर्षको उमेरदेखि नै सक्रिय भएका थिए । उनलाई भद्र, निःश्वार्थी, त्यागी, सहयोगी र उदार व्यक्तिको रूपमा धेरै जनाले चिन्दथे । उनले जेलमा रहेकै बेला अध्ययन गरेर चार ओटा विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए ।

प्रतिक्रिया