ठूलो परिमाणमा हेरोइन पक्राउ

न्युयोर्क । कुकुर ओसारपसार गर्न प्रयोग हुने काठको खोर (उडन क्रेट) मा लुकाएर अमेरिका भित्र्याउन लागिएको १० किलोग्रामभन्दा बढी प्रतिबन्धित कडा लागुऔषध हेरोइन अमेरिकी अधिकारीले बरामद गरेका छन्् । सो क्रेटमा नक्कली पिँधमा तयार पारी त्यसभित्र हेरोइन कोची भन्सारलाई झुक्याउन उक्त लागुपदार्थ अमेरिका भित्र्याउन खोजिएको प्रयासलाई प्रहरी अधिकारीहरूले विफल तुल्याइदिएका हुन् ।
पुर्टोरिकोबाट न्युयोर्कको जोन एफ केनेडी विमानस्थल हुँदै अमेरिकातर्फ तस्करी गर्न खोजिएको उक्त क्रेटमा एउटा लाब्य्राडर रिट्राइभर प्रजातिको कुकुरसमेत रहेको जनाइएको छ । सो हेरोइन तस्करी गर्ने प्रयासमा संलग्न दुई जना अमेरिकी साझेदार न्युयोर्कको ब्रोङ्कस निवासी ३५ वर्षीय सामुएल सिब्रुक्स र न्युयोर्क कै कार्मेल निवासी २७ वर्षीय कार्लोस बेटनकोर्ट–मोराल्सलाई पक्राउ गरिएको छ ।
उनीहरूमाथि प्रतिबन्धित लागुपदार्थ तस्करी गरेको तथा सरकारी अधिकारीलाई झुक्याउन खोजेको आरोपमा मुद्दा चलाइएको समेत क्विन्स जिल्ला न्यायाधिवक्ताको कार्यालयले जनाएको छ । सरकारी वकिलको श्रोतबाट प्राप्त जानकारीअनुसार गत शुक्रबार राती ब्रोङ्कस आइएचओपी रेस्टुराँमा यी दुई जना युवकको भेटघाट भएको र त्यहीँ नै यी दुई जनाले सरसल्लाह गरी अमेरिकाभित्र लागुपदार्थ तस्करी गरी ल्याउने योजना तयार पारेका थिए ।
योजना मुताबिक यिनीले पुर्टोरिकोका तस्कर समूहसँग सम्पर्क गरी कुकुरसहितको क्रेट आयात गरेका र बढ्तै मूल्य तिरी जोन एफ केनेडी विमानस्थलस्थित अमेरिकन एयरलाइन्सको प्रायोरिटी पार्सल सर्भिसको सेवा प्रयोग गरेका थिए । प्रायोरिटी पार्सल सर्भिसमार्फत् मगाइने सरसामानहरूको कमै मात्र भन्सार चेक जाँच हुने गर्दछ । त्यसमाथि पनि कुकुर थुनिएको क्रेट भएपछि भन्सार अधिकारीलाई झुक्याउन सजिलो हुने नै भयो ।
यही भन्सार सुविधा, सहुलियतको दुरुपयोग गर्दै सो क्रेटलाई एउटा ट्रलीमा राखेर छिटोछिटो गुडाउँदै भन्सार परिसरबाट बाहिर निकाल्न लागेकै अवस्थामा यी दुई युवक प्रहरीको फन्दामा परिहाले । नक्कली पिँध फुकालेर खोतलखातलपारी प्लास्टिकले बलियोसँग बेरेर पोका पारिएका १० वटा पार्सलभित्र २२ पाउन्ड (१० केजी) हेरोइन फेला प¥यो । बरामद भएको उक्त सबै हेरोइनको बजार मूल्य १० लाख अमेरिकी डलरभन्दा बढी पर्ने मूल्यांकन गरिएको छ । उक्त सबै पार्सलमा खेलकुदका सामग्री उत्पादक कम्पनीः नाइकको लोगो र पाँचकोणयुक्त ताराको चिन्ह अंकित भएको पाइयो ।
न्युयोर्कका यी दुई जना युवकलाई लगाइएको अभियोग अदालतद्वारा प्रमाणित भएमा जनही २०÷२० वर्षको काराबासको सजाय हुनेछ । यता, एक निर्दोष जनावरलाई प्रयोग गरी यत्रो परिमाणमा लागुपदार्थको तस्करी गर्न लागिएको भनी पशुअधिकारवादीले यस घटनाको निन्दा गरेका छन्् । अमेरिका भित्र्याइनुअघि बन्दरगाह, विमानस्थल वा प्रत्येक प्रवेश नाकामा पशु–पंक्षी (क्वारेन्टाइन)को राम्ररी जाँच पड्ताल गर्नुपर्ने भनी अमेरिकन ह्युम्यान सोसाइटिकी जिन स्याफिरोफले अमेरिकी सरकारलाई सतर्क गराएकी छन्् ।

प्रतिक्रिया