अन्तर्राष्ट्रिय प्रयोगशाला प्रविधि मेला हुँदै

हानोइ । भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि सुरु हुन गइरहेको वैज्ञानिक प्रयोगशाला प्रविधि मेलामा विश्वका विभिन्न मुलुक तथा क्षेत्रसमेत १७ स्थानका एक सय २० वटा वैज्ञानिक संगठन तथा कम्पनीहरू सहभागी हुने भएका छन् । यसै महिनाको २९ देखि ३१ तारिख गरी तीन दिनसम्म चल्ने उक्त मेलामा बेलायत, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया, सिंगापुर र संयुक्त राज्य अमेरिकाजस्ता विश्वका प्रमुख औद्योगिक राष्ट्रका प्रतिनिधि संस्थाहरूले भाग लिने छन् ।
आधुनिक प्रविधियुक्त वैज्ञानिक प्रयोगशाला, प्रविधीय विश्लेषण, मानवीय व्याधीजन्य समस्याको सम्बन्धमा प्रयोग हुने जैविक र इन्जियरिङ प्रविधि, रोग निदानका लागि प्रयोग हुने प्रविधि इत्यादि तेस्रो पुस्ताको वैज्ञानिक अनुसन्धान प्रयोजनका लागि उपयोगी प्रविधिसम्बन्धी यस अन्तर्राष्ट्रिय पाँचौँ मेलालाई ‘फिफ्थ इन्टरनेसनल ट्रेड फेयर फर ल्याबोरेटरी टेक्नोलोजी, आनालाइसिस्, बायो–टेक्नोलोजी एन्ड डायग्नोस्टिक अर आनालाइटिका भियत्नाम–२०१७’ भन्ने नामकरण गरिएको छ । यसवर्षको विज्ञान तथा प्रविधि मेलामा सहभागी हुने संगठन वा कम्पनीहरूको संख्या गतवर्षको भन्दा २५ प्रतिशतले बढ्ने जनाइएको छ । मेलामा सहभागी हुने प्रदर्शनकारीहरूले अआफ्ना स्टल (पेभिलियन) बाट हालसम्म पत्ता लागेका अत्याधुनिक प्रविधि, उपकरण तथा औजार, वैज्ञानिक समाधान र सेवाका रूपरेखा, विश्लेषणीय प्रविधि, जीवन–विज्ञान तथा जैविक प्रविधिजस्ता विषयमाथि जानकारीमूलक सूचना प्रदान गर्नेछन् ।

प्रतिक्रिया