पाकिस्तानमा १९ वर्षपछि जनगणना सुरु

एजेन्सी
इस्लामाबाद । पाकिस्तानमा बुधबारदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलोपटक जनगणना हुन लागेको बताए । दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ । तथ्यांक संकलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्यांक निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरूलाई आह्वान गरेका छन् । यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक व्यक्तित्वहरूको सर्वेक्षण गरिनेछ । साथै पहिलोपटक पाकिस्तानी समलिंगी र उभयलिंगी व्यक्तिको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन् । राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार संख्याजस्ता तथ्यांक संकलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुई लाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ ।
पछिल्लोपटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रव्यापी जनगणना भएको र त्यसबखत राष्ट्रको कूल जनसंख्या १८ करोडको हाराहारी भएको अभिलेख राखिएको थियो । सो आँकडामा वृद्धि भई हालको जनसंख्या २० करोडभन्दा माथि नै पुग्ने तथ्यांक विश्लेषकहरूको अनुमान छ ।

प्रतिक्रिया