फोन गर्नका लागि चार घन्टा धाउँछन् प्रहरी

जुम्ला । जुम्ला ताम्ती गाविसमा रहेको अस्थायी प्रहरी चौकीका प्रहरीहरू फोन गर्नका लागि चार घन्टाको बाटो धाउन बाध्य छन् ।
ताम्ती गाविसमा दूरसञ्चार सेवा प्रदायकका नेटवर्कको टावर नहुँदा प्रहरीसहित ताम्तीबासी सञ्चार सुविधाबाट बञ्चित हुँदै आएका छन् । यो गाविसमा घटेका घटनाहरू जिल्लामा जानकारी दिनका लागि ४ घन्टाको बाटो पार गर्दै कुडारी गाविस पुगेर फोन गर्नुपर्ने अवस्था रहेको अस्थायी प्रहरी चौकी ताम्तीका प्रहरी सहायक निरीक्षक जीवराज योगीले बताए ।
घर परिवारसँग फोन सम्पर्क टुटेको पनि धेरै भइसकेको उनले बताए । हवल्दार वीरबहादुर शाहीले कुनै गाउँमा घटना भए पनि सजिलै जानकारी पाउन गाह्रो भएको बताए । ‘अहिले पनि एक गाउँबाट अर्को गाउँको बारेमा थाहा पाउन हिँड्नै पर्छ, काम गर्न साह्रै अप्ठ्यारो छ,’ उनले भने । स्थानीय महिला लालसरी शाहीले मोबाइलमा नेटवर्क नहुँदा विदेश गएका छोराछोरी तथा आफन्तको खबर बुझ्न नसकेको गुनासो गरिन् । मोबाइल टावरका लागि गाउँका अगुवाहरू डेलिगेसन गए पनि अहिलेसम्म केही नभएको उनको भनाइ छ । नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले ताम्तीमा प्राविधिकहरूको टोली सर्भे गर्नका लागि गएको बताए । टावर छिटै बन्ने भएकाले अब त्यहाँ सञ्चारको असुविधा नहुने उनले बताए । ताम्तीका समुदायले भने फोनलगायत रेडियो एफएम सुन्न नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया