हवाई आक्रमणमा दश जना लडाकू मारिए

काबुल । अफगानिस्तानको पाक्टिका प्रान्तको पूर्वी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा सोमबार कम्तीमा १० जना हक्कानी लडाकूहरूको मृत्यु भएको छ । गृहमन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार सोमबार साँझ हक्कानीका एक जना उच्च तहका कमान्डर र अरू नौ जना लडाकू मारिनुका साथै दुई जना घाइते भएका छन् । घटनामा मारिनेहरूको विस्तृत विवरण सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन । घटनास्थल राजधानी काबुलदेखि १ सय ५५ किलोमिटर दक्षिणतर्फ पर्दछ । तालिवानी समूहसँग नजिक रहेका हक्कानी लडाकूहरूले अफगानिस्तानको राजधानी काबुल र पूर्वी राज्यहरूमा आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएका छन् । उनीहरूले विषेशगरी सुरक्षा निकायका उच्च पदाधिकारीहरूलाई बढी आक्रमण गर्ने गरेका छन् । आक्रमणका कारण ठूलो मात्रामा विस्फोटक पदार्थ, लाइट आदिसहित दुई वटा सवारी साधन नष्ट भएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय सुरक्षा बलले सरकारविरोधी गतिविधि गरिरहेका समूहहरूविरुद्धको सुरक्षा कारबाही चलाइरहेको छ । हक्कानी समूहलाई संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि आतंककारीको सूचीमा राखेको छ ।

प्रतिक्रिया