विमानस्थल सुचारु गर्न डोजरद्वारा हिउँ पन्छाइयो

dolpa
डोल्पा । भारी हिमपातका कारण पाँच दिनदेखि अवरुद्ध जुफाल विमानस्थल मंगलबारदेखि पुनः सञ्चालन भएको छ । उक्त विमानस्थल भारी हिमपातपछि दुई फिटसम्म हिउँ जमेर अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
विमानस्थलमा हवाई सेवा लिन पुगेका सयौँ बिरामीको समस्यालाई ध्यानमा राखी छिटो विमानस्थल सञ्चालन गर्न जमेको हिउँ डोजरबाट हटाइएको थियो । मौसममा सुधार आएसँगै लगातार दुई दिनसम्म लागेको घामले बाँकी हिउँ र हिलो सुकेपछि विमानस्थल पुनःसञ्चालन भएको हो ।
यातायातको एक मात्र साधनका रूपमा रहेको विमानस्थलमा हवाई सेवा सञ्चालन भएपछि हप्तौँदेखि विमानस्थलमै अलपत्र परेका सर्वसाधारण पालो कुर्दै गन्तव्यसम्म जान थालेका छन् ।
विमानस्थल सञ्चालन भएसँगै दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सहज भएको व्यापारीले बताएका छन् । मंगलबार मात्रै तारा एयरलायन्सले नेपालगञ्जदेखि एउटा उडान भरेको छ ।

प्रतिक्रिया