चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

कठमाडौं । चिनियाँ रक्षामन्त्री चाङ वाङक्युले चैतको दोस्रो साता नेपाल भ्रमण गर्ने कार्यक्रम तय भएको छ । नेपाली समकक्षी बालकृष्ण खाँडले आफ्नो निमन्त्रणामा रक्षामन्त्री चाङ नेपाल आउन लागेको बताए । चाङ नेपाल–चीन संयुक्त सैन्य अभ्यासको अवसर पारेर नेपाल आउन लागेका हुन् । रक्षामन्त्री चाङ पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको पालामा नेपाल आउने सबैभन्दा उच्च चिनियाँ नेता हुनेछन् । रक्षामन्त्री चाङको मैत्रीपूर्ण भ्रमणका अवसरमा सुरक्षा र हतियार किनबेचसम्बन्धी सम्झौताको कुनै तयारी नभएको मन्त्री खाँडले बताए । मन्त्री खाँडले भने, ‘चीनसँग हतियार किनबेचसम्बन्धी कुनै सम्झौता हुँदैन । तर ‘लजेस्टिक’ सहयोग लिन सकिन्छ ।’
राष्ट्रसंघीय शान्ति मिसनसँग सम्बन्धी सामग्रीको सहयोग भने हुन सक्ने उनले बताए । ‘संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पाँच हजार नेपाली सेना जाने गरेकोमा त्यसलाई १० हजार बनाउने हाम्रो लक्ष्य छ । त्यसको लागि चीनबाट लजेस्टिक सहयोग लिन चाहन्छौ ं। विश्व शान्तिका लागि आवश्यक सामग्री उपलब्ध गराउनु भए हामी आभारी हुने थियौं भनेका छौं’, उनले भने ।  चीनको केन्द्रीय सैन्य आयोगका सदस्य तथा स्टेट् काउन्सिलका सदस्यसमेत रहेका मन्त्री चाङ र राष्ट्रपति सी जिनपिङबीच निकट सम्बन्ध रहेको मानिन्छ । चिनियाँ जनमुक्ति सेनाको जनरल हुँदै रक्षामन्त्री भएका चाङको नेपाल भ्रमणलाई राष्ट्रपति सीको नेपाल भ्रमणसँग पनि जोडिएर हेरिएको छ । रक्षामन्त्री खाँडले चिनियाँ रक्षामन्त्रीको भ्रमणले राष्ट्रपति सीको भ्रमण गराउन सहज भूमिका खेल्ने उल्लेख गरे ।
‘जुनसुकै देशका रक्षामन्त्री र राष्ट्रपतिबीच अत्यन्त घनिष्ठ सम्बन्ध हुन्छ । रक्षामन्त्री चाङले फर्केर गएपछि नेपालको अवस्थाबारे ब्रिफिङ गर्ने भएकाले राष्ट्रपति सीको नेपाल भ्रमणका लागि सहयोग पुग्छ’, उनले भने, ‘सी नेपाल भ्रमण गर्न इच्छुक हुनुहुन्छ । हामीले पटक–पटक भ्रमणको निम्तो पनि दिइसकेका छौ ं।’ मन्त्री खाँडले चिनियाँ राष्ट्रपति नेपाल आउनेमा विश्वास व्यक्त गरे ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री चाङ नेपाल हुँदै श्रीलंका प्रस्थान गर्ने कार्यतालिका भएको मन्त्री खाँडले जानकारी दिए । मन्त्री खाँडले नेपाली सेना र चिनियाँ सेनाबीच हुने संयुक्त सैन्य अभ्यासमा समकक्षी चाङले भाग नलिने जानकारी दिए । ‘यो सद्भावपूर्ण भ्रमण भएकाले विशेष कुनै एजेन्डा छैन । यो भूखण्डकै सुरक्षा कसरी गर्ने भन्ने विषयमा चिनियाँ रक्षामन्त्रीसँग छलफल हुन्छ’, उनले थपे । रक्षामन्त्री चाङ आउँदा चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’–ओबीओआर (एक पाटो एक बाटो) सम्बन्धी कुनै समझदारी हुने कार्यक्रम पनि नरहेको उनले बताए ।

प्रतिक्रिया