भारतमा ५ दशमलव ८ म्याग्नीच्युड्को भूकम्प

नयाँदिल्ली, २६ माघ । भारतको उत्तराखण्डमा सोमबार राती स्थानीय समयअनुसार १०ः३३ बजे ५ दशमलव ८ म्याग्नीच्युडको भूकम्प आएको भारतीय जलवायु तथा मौसम विभागले जनाएको छ । भूकम्पको केन्द्रविन्दु रुद्रप्रयाग जिल्लाको उत्तराखण्ड प्रदेशको राजधानी देहरादुनदेखि १ सय ८० किलोमिटर पूर्वमा रहेको जनाइएको छ ।

उत्तर प्रदेशबाहेक अन्य छिमेकी प्रदेशहरू र राजधानी नयाँदिल्लीमा समेत भूकम्पको महसुस गरिएको बताइएको छ । भूकम्प आएपछि स्थानीयबासिन्दा घरबाट भागेर खुलाठाउँमा जम्मा भएका थिए । उनीहरू अहिले पनि त्रसित भएको स्थानीय अधिकारीले जनाएका छन् ।

‘म कार्यालयमा काम गरिरहेको थिए । टेबुलमा रहेको खाली बोतल अचानक भुइँमा खस्यो, म रहेको भवन पुरै हल्लिएपछि मलाई साह्रै डर लाग्यो,’ दिल्लीका एक बासिन्दा अनील अग्रवालले सञ्चार माध्यमलाई भने । भूकम्पका कारण कुनै मानवीय क्षति भएको खबर भने नआएको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया