सिआइएमा माइक पम्पियो

cia copyवासिंगटन, १२ माघ । संयुक्त राज्य अमेरिकाली संसद्को माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था–सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई अनुमोदन गरेको छ । गतः सोमबार साँझ (नेपाली समयानुसार मंगलबार बिहान) बसेको, १ सय सदस्यीय सिनेटको बैठकमा मतदान हुँदा माइकको समर्थनमा ६६ मत र विपक्षमा ३२ मत परेको थियो ।

माइकले हासिल गरेका ६६ मतमध्ये ५१ मत रिपब्लिकन सिनेटरहरूको, १४ मत डेमोक्र्याट सिनेटरहरूको र १ मत स्वतन्त्र सिनेटरको भएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिले राष्ट्रिय महत्वका ठूला पदहरूमा कसैलाई नियुक्त गरेपछि सिनेटको सामान्य बहुमतले यसको अनुमोदन गर्नु आवश्यक छ । सिनेटको यस मतदानबाट सिआइए निर्देशक पदमा माइकको नियुक्तिले औपचारिकता पाएको छ ।

गत शुक्रबार राष्ट्रपति ट्रम्पले पदबहाली गरेकै दिन सिआइएका पूर्वनिर्देशक जोन ब्रेनानले राजिनामा दिई उनलाई सजिलो पारिदिएका थिए । सोही दिन माइकले नियुक्ति पाएका हुन् ।

राष्ट्रपति ट्रम्प गतः शनिबार सिआइएको प्रधान कार्यालय पुगेर त्यहाँ एक सद्भाव वक्तव्य दिएका थिए । वक्तव्यका क्रममा, राष्ट्रपति ट्रम्पले सिनेटले आफ्ना नियुक्तिहरू अनुमोदन गर्न विलम्ब गर्ने गरेको गुनासो गर्नु भएको २ दिनपश्चात् सिनेटले माइकको नियुक्ति अनुमोदन गरेको छ ।

सिआइए निर्देशकको यस अनुमोदन नवनिर्वाचित डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा राष्ट्रपतीय कार्यकाल सुरु भएपछि ठूला पदहरूमा नियुिक्तको तेस्रो अनुमोदन हो । यसअघि राष्ट्रपति ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्रीमा र जोन केलिलाई आन्तरिक सुरक्षा (होमल्यान्ड सेक्युरिटी) मन्त्रीमा गरेको नियुक्तिलाई सिनेटले यसैगरी अनुमोदन गरिसके को छ ।

क्यासास राज्यबाट रिपब्लिकन पार्टीको टिकटमा सन् २०११ देखि अमेरिकी काङ्ग्रेसमा प्रवेश गर्नुभएका ५२ वर्षीय माइक पम्पियो एक कट्टरपन्थी रिपब्लिकनको रूपमा परिचित छन् । रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि दिइने उम्मेदवारी मनोनयनमा उनले ट्रम्पलाई सहृदय सघाएका छन् ।

प्रतिक्रिया