डुंगा दुर्घटनामा १२ को मृत्यु, २५ बेपत्ता

क्वालालम्पुर, १२ माघ । मलेसियामा भएको डुंगा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अन्य २५ जना हराइरहेका छन् । मृतकहरूको शव तान्जुङ लेमन सामुन्द्रिक तिरमा भेटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । ‘मृतकमध्ये २ जनाको शव सुरक्षाकर्मीले पछि भेटाएका छन्, ती दुवैजना पुरुष छन्, उनीहरू इन्डोनेसियाली नागरिक भएको हुनसक्ने विश्वास गर्न सकिन्छ,’ एक अधिकारीले भने ।

इन्डोनेसियाका अवैध आप्रवासी चढेको डुंगा दुर्घटना भएको बताइएको छ । २ जनालाई उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । डुंगामा ४० जना यात्रु रहेका थिए । जबकी ९ मिटर लामो सो डुंगामा १५ जनाको मात्र भार क्षमता रहेको थियो । भार क्षमताभन्दा अत्यधिक यात्रु र खराब मौसमका कारण डुंगा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । हराइरहेकालाई खोज्नका लागि सुरक्षाअधिकारी खटिएका छन् ।

मुख्यतया निर्माण र कृिषसम्बन्धी काम खोज्न इन्डोनेसियाबाट यसैगरी जोखिमपूर्ण यात्रा गरेर धेरै मान्छे मलेसिया आउने गर्दछन् । गत नोभेम्बरमा पनि अवैध इन्डोनेसियाली आप्रवासी कामदार लिएर फर्केको तीव्रगतिको डुंगा दुर्घटना हुँदा ४० जना हराएका थिए ।

प्रतिक्रिया