रोम, २ माघ । सन् २०१६ मा करिब २५ हजार ८ सय बेसहारा बालबालिका इटालीको शरणमा पुगेको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले जनाएको छ । संख्या सन् २०१५ को तुलानामा दोब्बर बढी हो ।
युनिसेफले जनाएअनुसार सन् २०१६ मा इटाली पुग्ने २८ हजार २ सय बालबालिकामध्ये ९० प्रतिशत अर्थात् २५ हजार ८ सय बालबालिका बेसहारा अवस्थामा त्यहाँ पुगेका थिए भने बाँकी उनीहरूका अभिभावकका साथमा त्यहाँ पुगेका थिए । इटालीको गृह मन्त्रालयले दिएको जानकारीमा सन् २०१५ मा १२ हजार ३ सय ६० बेसहारा बालबालिका इटाली पुगेका जनाइएको छ । सन् २०१५ मा इटाली पुग्ने बालबालिकाको संख्या सन् २०१४ को तुलनामा केही कमी हो ।
पछिल्लो तथ्यांकले बेसहारा अवस्थामा विभिन्न देशबाट आफ्नो जीवन जोखिममा पारेर पनि युरोप पुग्ने बालबालिकाको संख्यामा बढ्दा रहेको र यो दुःखद भएको युनिसेफका आपतकालीन मामिला हेर्ने वरिष्ठ व्यवस्थापक लुसिओ मेलान्ड्रीले बताए ।
बेसहारा अवस्थामा युरोप छिर्ने बालबालिका १५ देखि १७ वर्ष उमेर समूहका रहने गरेका र उनीहरू इरिट्रिया, इजिप्ट, गम्बिया र नाइजेरियाका अधिकांश केटाहरू रहेको युनिसेफले जनाएको छ । यसरी इटाली पुगेका केही बालिकाहरूले भूमध्यसागरीय क्षेत्रको डरलाग्दो यात्राका लागि मानव तस्करलाई बुझाउने रकम जम्मा गर्न वेश्यावृतिसमेत गरेको जनाइएको छ ।
प्रतिक्रिया