राज्य भन्छ ‘तस्कर’

फ्रान्स, २६ पुस । सही र गलत भनेको आ–आफ्नो हेराइ हो । कुनै काम कानुनको नजरमा ‘गलत’ हुन सक्छ, तर त्यसैलाई जनताले समर्थन गरिदिन सक्छन । फ्रान्सको नीस सहरमा यही स्थिति छ ।

स्थानीय जैतून कृषक सेड्रिक हेरो राज्यका निम्ति ‘तस्कर’ हुन् भने जनताका निम्ति ‘मसीहा’ । उनीविरुद्ध राज्यले हालेको मुद्दामा अघिल्लो बुधबारबाट सुनुवाइ सुरु भयो । त्यस दिन उनका समर्थकले ठूलो संख्यामा अदालतबाहिर जम्मा भएर नाराबाजी गरे । त्यो दृश्य हेर्दा कानुनको परीक्षामा ‘तस्कर’ भनिएका सेड्रिक हेरो छन् कि स्वयं राज्य छ, छुट्टयाउन मुश्किल पर्दथ्यो ।

सेड्रिकमाथि दुई सय जनाभन्दा बढी अफ्रिकी आप्रवासीलाई इटालीबाट गैरकानुनी रूपमा फ्रान्स छिर्न मद्दत गरेको आरोप छ । उनी आफूमाथि लागेको आरोप अस्वीकार गर्दैनन् । बरु हाकाहाकी भन्छन्, ‘मैले ती अफ्रिकीलाई फ्रान्सको सीमा कटाउन मद्दत गरेकै हुँ । राज्यको नजरमा यो अपराध हो भने म यो अपराध फेरि–फेरि पनि गरिरहनेछु ।’

त्यसपछि न्यायाधीशले सोधे, ‘तपाईंले यस्तो काम किन गर्नुभयो ?’ जवाफमा सेड्रिकले उल्टै प्रतिप्रश्न गरे, ‘जीवनदेखि थाकेका ती भोकानांगा अफ्रिकीहरू आफू र आफ्ना बालबच्चाको पेट भर्न फ्रान्स आउन चाहन्छन्, उनीहरूलाई यहाँ स्थान दिनु हाम्रो मानवीय धर्म हो कि होइन ? राज्यको कानुनले के भन्छ मलाई मतलब छैन, तर मेरो धर्म र फ्रान्सको गौरवपूर्ण इतिहासले त्यस्ता असहायमाथि सहानुभूतिले हेर्नुपर्छ भन्ने सिकाउँछ । र, मैले त्यही गरेको हुँ । के आपतमा परेकालाई सहयोग गर्नु पनि अपराध हो ? के कसैको निम्ति बाँच्ने वातावरण बनाइदिनु पनि अपराध हो ?’ ‘यहाँ भोकले सडक किनारमै मान्छे मरिरहेका छन्,’ सेड्रिकले भने, ‘यो सही होइन । यहाँ केटाकेटीहरू सुरक्षित छैनन् । एउटा बच्चा भोकले रातभरि छट्पटाएको कसरी टुलुटुलु हेरेर बस्न सकिन्छ ?’ ‘म फ्रेन्च हुँ, यस्तो घडीमा निरीह भएर बस्ने अनुमति मलाई मेरो देशको गौरवपूर्ण इतिहासले दिँदैन,’ उनले भने ।

पछिल्लो समय युरोपले आप्रवासीहरूको प्रवेशमा कडा नीति लिँदै आएको छ । समुद्री बाटो युरोप छिर्न खोज्ने आप्रवासीलाई समुद्रकै बीचमा गएर समातिएका छन् । शरणार्थीसम्बन्धी कानुन कडा पारिएका छन् । यति मात्र होइन, युरोपको खुला सीमा प्रणालीलाई स्थगित गर्नेसम्मको नीति अपनाउन थालिएको छ । यति कडाइका बाबजुद विभिन्न छिद्रबाट आप्रवासीहरू युरोप प्रवेश गरिरहेकै छन् । त्यही छिद्रमध्ये एक हो, फ्रान्स र इटालीबीचको हिमाली क्षेत्र ।

यसलाई टाल्न दुवै तर्फका प्रहरीलाई रेल्वे स्टेसन, बसपार्क लगायत ओहोरदोहोर हुने ठाउँमा ठूलो संख्या परिचालन गरिएको छ । अर्को वर्ष हुने फ्रान्सको राष्ट्रपति निर्वाचनका लागि आप्रवासी समस्या एक प्रमुख मुद्दा बने पनि यसमा कस्तो नीति लिने अझै टुंगो लागिसकेको छैन । इटालीको बाटो हुँदै छिर्ने ती आप्रवासीसँग मानवीय व्यवहार गर्ने कि उनीहरूलाई फेरि त्यही बाटो फर्काइदिने भन्नेमा बहस जारी छ ।

जैतून खेती गर्दै आएका ३७ वर्षीय कृषक सेड्रिक हेरोले भने कित्ता छानिसके । फ्रान्सले आफ्नो इतिहासलाई निरन्तरता दिँदै यो मुद्दा मानवीय आँखाले हेर्नुपर्ने उनको निष्कर्ष छ । उनी आफ्नो यही विश्वासमा टेकेर इटाली र फ्रान्सको सीमामा अलपत्र ती अफ्रिकीलाई हरसम्भव मद्दत गर्न अघि सरेका छन् । असुरक्षा, अनिश्चय र दुःखको भँवरमा फसेका ती आप्रवासीले युरोपको सुरक्षित भविष्यमा पाइला टेक्न सकून् भनेर उनले केही स्थानीय व्यक्तिको अनौपचारिक सञ्जाल निर्माण गरेका छन् । राज्यले ‘तस्कर’ को संज्ञा दिएको त्यस सञ्जालका उनी निर्विवाद ‘नायक’ र ‘नेता’ हुन् ।

यसरी सीमा कटाइदिने क्रममा प्रहरीसँग बेला–बेला झडप हुन्छ । तर, उनीहरू यसबाट दच्किएका छैनन् । ‘सुरक्षाकर्मीहरू ती कालालाई समात्न रेल्वे स्टेसन नै घेरेर बसेका हुन्छन्,’ सेड्रिकले केहीअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘महिला र बच्चाहरूलाई समेत बल प्रयोग गरेर फिर्ता पठाउँछन् ।’

‘आफ्नो घरको आँगनमा यस्तो घटना हुँदा मसँग दुइटा विकल्प रहन्छ, कि त मैले आँखा चिम्लनुप¥यो, होइन भने यो अन्यायविरुद्ध बोल्नुपर्यो,’ उनले भने, ‘मैले दोस्रो विकल्प रोजें ।’ ती अफ्रिकीका साथमा कागजपत्र केही थिएन । यसको मतलब, उनीहरू असुरक्षित थिए । त्यस्ता व्यक्तिलाई झन् ठूलो असुरक्षा र अन्धकारतिर धकेल्नु भनेको मानवताविरुद्धको अपराध भएको सेड्रिकको भनाइ छ ।

अन्तरआत्माले घच्घच्याएर यो अभियानमा धकेलिएका सेड्रिकले त्यसपछि जैतूनको खेतीमा भन्दा आप्रवासीहरू हिँड्डुल गर्ने हिमाली बाटोमा बढ्ता समय बिताए । इटाली र फ्रान्सको सीमामा पर्ने भेन्टिमिग्लिया भन्ने ठाउँमा उनी धेरैचोटि गए । त्यही ठाउँबाट फ्रेन्च प्रहरीले केहीअघि ८ सय जना आप्रवासीलाई रोक्यो, जसमा महिला र स–साना बच्चा पनि थिए । आफ्ना लालाबाला च्यापेर सपरिवार युरोप छिर्न खोजिरहेका गरिब परिवारलाई सुरक्षाका नाममा प्रहरीले दुःख दिएको सेड्रिकलाई सह्य भएन ।

उनी शरणार्थी शिविरमा राखिएका ती अफ्रिकीको उद्धार गर्न र उनीहरूलाई सकुशल फ्रान्स छिर्ने बाटो बनाउन आफ्नो गाडी लिएर त्यहीँ गए । त्यही गाडीमा उनले समातिएका आप्रवासीको खानपिन निम्ति अन्डा, कुखुराको मासु र अन्य खानेकुरा पनि लगेका थिए । उनले ती आप्रवासीलाई रोया उपत्यकामा रहेको आफ्नो जग्गामा लिएर आए । त्यहाँ जैतून खेतीको बीचमा तिनको बसोबासका लागि दुइटा सानो क्याम्प खडा गरे । र, अन्ततः उनीहरूलाई सुरक्षित फ्रान्स छिराउन सफल भए । सेड्रिकका अनुसार उनले अहिलेसम्म २ सय जना आप्रवासीलाई फ्रान्स छिर्न मद्दत गरेका छन् । तीमध्ये केही फ्रान्सको बाटो हुँदै बेलायत र जर्मनी पुगिसकेको उनी बताउँछन् ।

प्रतिक्रिया