दक्षिण कोरियामा पारिवारिक विशृंखलता बढ्यो

दक्षिण कोरियाको राजधानी सहर सिओलमा कार्यरत १ जना ४० वर्षीया जो चो २ दशकदेखि एक्लो जीवन बाँचिरहेकी छन् । उनी पारिवारिक जिम्मेवारीको बोझबाट मुक्त रहेको र पेसागत करिअरलाई निरन्तर अघि बढाएको बताउँछिन् । कहिलेकाहीँ, विदेश यात्रामा निस्कँदा साथीसँगीको साथ नपाउँदा दुःखित हुन्छिन्, तर उनी बन्धनमुक्त जीवनशैलीबाट सन्तुष्ट छिन् । उनको विचारमा विवाहपछि यो सन्तुष्टी हराउँछ – किनभने उनका धेरै साथीहरू काममा र शिशुस्याहारमा अल्झिएका छन् ।

‘साँचो कुरा के भने मेरा धेरै साथीहरू बालबच्चा हुर्काउनेजस्तो चुनौतीपूर्ण कामले थिचिएका छन्, र केहीले त घरायसी कामले जागिरबाटै राजीनामा दिएका छन्,’ चोले बताइन् । ‘मेरा साथीहरूको तुलनामा मैले बढी स्वतन्त्र जीवन बिताउन सक्षम भएकी छु, र यसमा म खुसी छु ।’ दक्षिण कोरियामा चो एकजना प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता धेरै कोरियालीले आजभोलि एक्लो जीवन बिताउन थालेका छन् । यसका पछिल्तिर धेरै कारण छन्ः आर्थिक कठिनाई, सम्बन्धविच्छेद तथा पति वा पत्नीको आकस्मिक मृत्यु ।

कोरियाली तथ्यांक ब्यूरोको पछिल्लो विवरण अनुसार गतवर्षसम्म एकल रूपमा बस्ने व्यक्ति (परिवार) को संख्या ५२ लाख पुगेको छ, र यो संख्या देशभरका १ करोड ९१ लाख घरपरिवारको २७ दशमलव २ प्रतिशत हो । सन् १९९० को तुलनामा यो ९ प्रतिशतको वृद्धि हो । उमेरका आधारमा, कूल एकल परिवारको १८ दशमलव ३ प्रतिशत ३० वर्ष उमेरको हाराहारीका छन् भने ७० वर्ष वा सोभन्दा बढी उमेरका १७ दशमलव ५ प्रतिशत तथा २० वर्षको हाराहारी उमेरका १७ प्रतिशत छन् ।

३० वर्षको समूहमा रहेका एकल परिवार जोन किम पनि हुन् । सिओलको दक्षिणी नगर सुओनमा कार्यरत किम एक दशकदेखि एउटा घरमा एक्लै बस्छन् । उनी विश्वविद्यालयमा भर्ना भएसँगै बाबुआमासँग अलग्गिएर त्यहाँ बस्न थालेका हुन् । किमका लागि आफ्नै किसिमको स्वतन्त्र जीवन प्राप्त छ र समय तथा पैसा पूर्णरूपमा आफ्नै लागि खर्चिने गरेका छन् । ‘अरूका कुरालाई लिएर तपाईंले आफूलाई बदल्नु पर्दैन,’ उनले भने, ‘तपाईंले जहाँ, जहिले पनि धूमपान गर्न सक्नुहुन्छ, कुनै पनि बखत सुत्न सक्नुहुन्छ र आफूखुसी पैसा खर्च गर्न पाउनुहुन्छ ।’

तर, यस्तो मनमौजी जीवनशैलीका पनि आफ्नै किसिमका समस्या छन् । ‘हो, तपाईं एक्लो हुनुहुन्छ भने सबैभन्दा ठूलो दुर्गुण नै समयसमयमा तपाईंले एक्लोपनको महसुस गर्नुपर्ने हुन्छ,’ किम भन्छन् । ‘अर्को नकारात्मक पक्ष, केही नराम्रो भयो जस्तै बिरामी हुँदा तपाईंलाई हेरचाह गर्ने कोही हुँदैन ।’

एकल परिवार संख्याको लगातार बढ्दो स्थितिले खाना खाने ठाउँहरू, बारहरू, कफीसपहरूमा एकल व्यक्तिहरूको संख्या बढेको देखिएको छ । स्थानीय रेस्टुराँ लान्चेस्टर एफएन्डबी कम्पनीले सिओल र अन्य सहरहरूमा १६ वटा रेस्टुराँ सञ्चालन गरिरहेको छ जसले एकल व्यक्तिका लागि रात्रिकालीन खानाको विशेष प्रबन्ध गर्दछ ।

‘यी प्रत्येक रेस्टुराँमा हामीले ठूलो बार स्थापना गरेका छौँ जहाँ प्रत्येक एकल ग्राहकले आरामसँग बस्न र खाना लिन सक्छ । हामीले के पनि सुनिश्चित गरेका छौँ भने एकअर्को सिटबीच निकै फराकिलो ठाउँ छाडिएको र त्यसबाट कोही पनि ग्राहकलाई समस्या हुँदैन,’ लान्चेस्टरका उपाध्यक्ष पार्क जिओन–ऊक बताउँछन् । सिओलमै एकल व्यक्तिहरूलाई लक्षित गरी बढीभन्दा बढी मदिरा पसल (पब) हरू खुल्न थालेका छन् । २ वर्षअघि मध्य सिओलको होन्गीक विश्वविद्यालय नजिकै ली साङ–हूनले एटलान्टिस नामको पब खोलेका थिए । यो पबले एकल ग्राहकहरूका लागि कफी, बियर र अन्य मदिराजन्य पेयपदार्थ बिक्री गर्दछ ।

‘मैले आफैँ यो क्याफे–पबको आन्तरिक साजसज्जा गरेको हुँ । कुनै ग्राहक एक्लै यहाँ आए पनि कुनै किसिमको अप्ठ्यारो अनुभव गर्नु नपरोस् भन्नेमा विशेष ध्यान दिइएको छ,’ लीले भने, ‘म उनीहरूको साथी हुने कोसिस गर्दछु र घरकै वातावरण यहाँ उपलब्ध गराउने प्रयत्नमा छु ।’ एकल व्यक्ति परिवारको वृद्धिलाई ध्यानमा राखी डोङ्बु डेऊ इलेक्ट्रोनिक्स कर्पोरेसनले रेफ्रिजेरेटर, वासिङ मेसिन र माइक्रोवेभ ओभनसमेतका साना घरेलु उपकरणहरूको उत्पादनलाई तीव्रता दिएको छ । ‘आफ्नो आर्थिक क्षमताका आधारमा एकल जीवन बाँच्न चाहनेहरूको संख्या बढेसँगै घरयासी उपकरणहरूको बजार वृद्धि भएको छ,’ डेऊका प्रवक्ता ग्वोन डाई–हुन बताउँछन् ।

व्यापारिक व्यक्तिहरूका लागि, एकल व्यक्तिहरूले व्यापारिक अवसरहरू पनि सिर्जना गरिदिएका छन् । तर, केही अध्येताहरूको विचारमा यो निकै संवेदनशील र सरोकारको विषय हो । उनीहरू यसले मुलुकमा जनसांख्यिक चुनौतीहरू निम्त्याउँछ, खासगरी न्यून जन्मदरलाई यसले बढावा दिनेछ । कोरियाको हाल जन्मदर १ दशमलव २ को हाराहारीमा छ, र सन् २००५ मा यो दर सबैभन्दा न्यून १ दशमलव ०८ रहेको थियो । ‘वयस्क व्यक्तिहरूले विवाह गर्न नरुचाउनाले मुलुकको प्रजनन दरमा असर पर्नेछ, र यसले ठूलो सामाजिक समस्या निम्त्याउनेछ,’ कोरियाली स्वास्थ्य तथा सामाजिक मामिला इन्स्टिच्यूटका एसोसिएट अनुसन्धान फेलो ली साङ–लिमले बताए । ‘दीर्घकालीन दृष्टिकोणबाट विचार गर्दा, यी एकल व्यक्तिहरू बिस्तारै बुढ्यौलीमा प्रवेश गर्नेछन् र उनीहरूकै लागि सामाजिक कल्याण लागतमा वृद्धि हुनेछ ।’

उनको विचारमा सरकारले बढ्दो हाउजिङ लागत र अस्थिर रोजगारीका कारण सिर्जित समस्यामा ध्यान दिनुका साथै विवाहसँग सम्बन्धित सरोकारलाई न्यून गर्न विस्तृत, दीर्घकालीन नीतिहरू ल्याउनेतर्फ तत्कालै आवश्यक कदमहरू चाल्नु पर्दछ ।

प्रतिक्रिया