भारतको ५ राज्यमा विधानसभाको निर्वाचन हुने

नयाँदिल्ली, २१ पुस । भारतको निर्वाचन आयोगले आगामी फेबु्रवरी ४ देखि विभिन्न ५ राज्यमा विधानसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । यस्तै उत्तरप्रदेशमा विधानसभाको निर्वाचनलाई विभिन्न ७ चरणमा गरिने र निर्वाचन आगामी फेब्रुअरीमा सुरु भई मार्चमा सकिने गरी तोकिएको निर्वाचन आयोगले जनाएकोे छ ।

प्रमुख निर्वाचन आयुक्त नसिम जाइदीले निर्वाचन मिति घोषणा गर्दै भने, ‘पाँचै प्रदेशमा निर्वाचनको मिति घोषणा गरिएको छ भने उत्तर प्रदेशमा ७ चरणमा निर्वाचन गरिने छ । यहाँ फेब्रुअरी, ११, १५, १९, २३, २७ तथा मार्च ४ र ८ तारिखमा निर्वाचन’ हुनेछ ।

निर्वाचन हुन लागेका पाँचै राज्यमा गरी ६ सय ९० निर्वाचन क्षेत्रमा १६ करोड भारतीय जनताले मतदानमा सहभागिता जनाउनेछन् । निर्वाचन आयोगले सन् २०१२ मा तोकेको भन्दा करिव १५ प्रतिशत बढी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गर्दै जम्मा एक लाख ८५ हजार मतदान केन्द्रबाट मतदान हुने जनाइएको छ ।

प्रमुख निर्वाचन आयुक्तसहित अन्य २ निर्वाचन आयुक्त एके ज्योती र आपि रावत उपस्थित पत्रकार सम्मेलनमार्फत निर्वाचन कार्यक्रम घोषणा गर्दै यही जनवरी ११ पञ्जाव र गोवा राज्यको मतदानका लागि जनवरीपछि प्रतिस्पर्धा गर्न चाहने सदस्यले आफ्नो उम्मेदवारी दर्ता गर्ने कार्य सुरु हुनेछ ।

उक्त अवसरमा प्रमुख आयुक्तले निर्वाचन आचारसंहिता तत्कालै लागू हुने र यो राजनीतिक दल र सम्बद्ध राज्य सरकारका लागि लक्षित रहनेछ । निर्वाचनमा गरिने खर्चलाई पारदर्शी बनाउन उम्मेद्वारले नयाँ बैंक खाता खोली २० हजार रूपैयाँभन्दा माथिको कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको जाइदीले सञ्चारकर्मीमाझ बताए ।

उम्मेदवार वा पार्टीलाई गरिने सहयोग पनि बैंकमार्फत गर्नुपर्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो । उत्तरप्रदेश, पञ्जाब, उत्तराखण्ड राज्यमा एक उम्मेद्वारले अधिकतम २८ लाख र गोवा र मणिपुरमा २० लाख मात्र निर्वाचन खर्च गर्नसक्ने अन्तिम सीमा कायम गरेको छ ।

प्रतिक्रिया