सवारी दुर्घटनामा १ वर्षमा ५८ हजारको मृत्यु

बेइजिङ, ८ पुस । चीनमा सन् २०१५ मा मात्रै सवारी दुर्घटनाका कारण ५८ हजार जनाको सडकमै मृत्यु भएको अधिकारीले जनाएका छन् । चीनको संसद्को वेभसाइटमार्फत् बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार यसअघि सन् २०१४ मा १ लाख ७ हजार जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण चीनमा ठूला दुर्घटना गम्भीर समस्याका रूपमा रहेका छन् । बसको लामो दुरीको यात्राका कारण हुने दुर्घटनाले चीनमा बेलाबेलामा तनाव दिने गरेको छ । आकस्मिक रूपमा हुने व्यक्तिगत दुर्घटनाका कारण पनि नियमित रूपमा धेरैको मृत्यु भइरहेको हुन्छ । सवारी दुर्घटनामध्ये झन्डै ९० प्रतिशत दुर्घटनाको कारण ट्राफिक नियमको उल्लंघन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अत्यधिक भार भएका ट्रक, कमजोर सडक संरचना र ग्रामिण क्षेत्रमा हुने असुरक्षित यात्रा पनि सवारी दुर्घटनाका अन्य प्रमुख कारण रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिक्रिया