बर्लिनमा बजारलक्षित ट्रक आक्रमण

बर्लिन, ६ पुस । जर्मनको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको १ इलाकामा सोमबार अबेर राती भएको ट्रक आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । बर्लिनको मुटु मानिने यस स्थानमा भएको आक्रमणमा परी अन्य ५० जना घाइते भएका छन् ।

बर्लिनका आन्तरिक मामिला राज्यमन्त्रीले यो सुनियोजित आक्रमण भएको कयौँ आधार भेटिएको बताएका छन् । उक्त ट्रक आक्रमण कैसेर विल्हेल्म मेमोरिएल चर्चको बाहिरी इलाकामा रहेको प्रख्यात क्रिसमस बजारमा भएको थियो ।

क्रिसमसको पूर्वसन्ध्यामा बनाइने परम्परागत मनोरञ्जनको रूपमा पर्यटक र स्थानीय बासिन्दाहरूले आनन्द लिइरहको बेला सो आक्रमण भएको हो । बर्लिनको प्रहरीले पोलिस नम्बर प्लेट भएको उक्त ट्रक पोल्यान्डबाट चोरेर ल्याएको हुन सक्ने अनुमान गरिएको र यसको अनुसन्धान जारी रहेको बताएको छ ।

यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन् । तर, यसअघि समूहलक्षित ट्रक आक्रमण इस्लामिक स्टेट (आइएस) र अल कायदा आतंककारी समूहले गराउँदै आएका छन् ।

गत जुलाई १४ मा दक्षिणी फ्रान्सको निस सहरमा राष्ट्रिय दिवसको लागि जम्मा भएको समूहलाई लक्षित गरी भएको बम आक्रमण कम्तीमा ८६ व्यक्तिको मृत्यु भएको थियो । यस आक्रमणको आइएस लडाकू समूहले जिम्मा लिएको थियो ।

प्रतिक्रिया