आतंकवाद रोक्न प्रतिकार गर्नुपर्नेमा जोड

कायरो, ६ पुस । इजिप्टका विदेशमन्त्री समेह सोउक्रीले युद्धले तहसनहस पारेको देश सिरियामा तत्काल युद्धविराम र राजनीतिक वार्ता सुरु हुनुपर्ने सोमबार बताएका छन् । सिरियाको उत्तरी सहर अलेप्पोको अवस्थाको विषयमा ‘अरब लिंग काउन्सिल’को विशेष बैठकमा सोउक्रीले गरेको सम्बोधनमा उनले सिरियाली मालिमा र त्यहाँ जारी आतंकवाद रोक्नको लागि अन्तर्राष्ट्रियस्तरबाट पनि प्रतिकार गर्नुपर्ने बताए ।

विदेश मन्त्रीहरूको सहभागिता रहेको यस वार्तामा राजनितिक समाधानतर्फ पुग्न र सिरियामा जारी युद्ध रोक्न असफल हुनुको प्रमुख कारण अलेप्पोको डरलाग्दो अवस्थाका रहेको सोउक्रीलाई उद्धृत गर्दै राज्यद्वारा सञ्चालित समाचार समिति मेनाले जानकारी दिएको छ ।

अलेप्पोमा जारी मानवीय अवस्थाको मार्गचित्र बनाई समाधान गर्न इजिप्टले पनि सहयोग गर्न तयार रहेको उनले बताए । कुनै पूर्वशर्त र बाहानाविना नै सिरियामा राजनितिक प्रक्रिया सुरु गर्न र सिरियाली जनतालाई भयभित बनाउने कार्य रोक्न पनि उनले आह्वान गरेका छन् ।

सिरियाको व्यापारिक केन्द्रको रूपमा रहेको अलेप्पो सहर सन् २०१२ देखि २ भागमा विभाजन भएको थियो । अलेप्पोको पश्चिभी भाग सरकारी नियन्त्रणमा र पूर्वी जिल्लाहरू विद्रोहीको नियन्त्रणमा रहेका थिए । सिरियाली सरकारी सुरक्षाबलले गत ३ हप्तायता जारी राखेको सुरक्षा कारबाहीमा अलेप्पोको ९९ प्रतिशत भाग नियन्त्रणमा लिएको छ । सरकारी नियन्त्रणपछि हजारौँको संख्यामा व्यक्तिहरूलाई त्यहाँबाट निकाल्ने कार्य सुरु भएको छ ।

सिरियामा सन् २०११ को मार्च महिनामा सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । जारी गृहयुद्धको कारण २०११ देखि हालसम्मा मृत्यु हुनेको व्यक्तिको संख्या ३ लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले हालै जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले करिब १ हप्ता अगाडि सार्वजनिक गरेको तथ्यांकमा युद्धका कारण ३ लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारण रहेका बताएको छ । यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौँ आफ्नो देश या विदेशका शरणार्थी जीवन बिताउन बाध्य छन् ।

प्रतिक्रिया