महाअभियोगपछि निलम्बनमा महिला राष्ट्रपति

south_korean_president_park_geun-hye_igqj-copyकरिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा परेकी छन् । आफ्नै दलका सांसदलेसमेत साथ नदिएपछि पदावधि रहँदै निलम्बनमा पर्ने उनी नै सम्भवतः दक्षिण कोरियाको इतिहासमा पहिलो महिला राष्ट्रपति हुन् ।

सामान्यतया शान्त र राजनीतिक उतार चढावभन्दा टाढा रहने भनेर मानिएको दक्षिण कोरिया पछिल्लो दुई महिनादेखि अशान्त थियो । विगत दुई महिनादेखि राजधानी सोलको चोकहरू लाखौँ प्रदर्शनकारीले भरिएका देखिन्थे । सबैको एउटै नारा हुन्थ्यो ‘भ्रष्टाचारमा संलग्न राष्ट्रपति राजीनामा देऊ’ । राजीनामा दिएर पदबाट हट्ने आमजनताको अडकल विपरीत शुक्रबार संसद्मा भएको मतदानमा राष्ट्रपतिलाई महाअभियोग लगाउने पक्षमा २ सय ३४ सांसदले मत जाहेर गरेका थिए । कुल ३ सय सदस्यीय संसद्मा राष्ट्रपतिकै साएनुरी पार्टीका १ सय २८ जना सांसदमध्ये ५६ ले समेत महाअभियोगको पक्षमा मतदान गरेका थिए । पार्टीको वाध्यात्मक आदेश (ह्विप) विपरीत गएर महाअभियोगको पक्षमा मतदान गरेको पनि पहिलोपटक हो दक्षिण कोरियामा ।

राष्ट्रपति पार्क आफ्नो वफादार मानिएकी चोई सुन सिलसँगको सम्बन्धका कारण विवादमा फसेकी हुन् । राज्ययन्त्र र आफूमा निहित राष्ट्रपतीय शक्तिको दुरूपयोग गरेर भ्रष्टाचार गरेका काण्ड सार्वजनिक भएपछि उठेको भुइँचालोले अन्ततः अमेरिकी फोब्र्स पत्रिकाले दक्षिण एसियाकै ११औँ श्रेणीकी शक्तिशाली महिला मानेको पार्क आफ्नो पदबाट हात धुनुपर्ने अवस्थामा आइपुगेकी छन् । मान्छेलाई लाग्दैनथ्यो राजनीतिको परिणाम यति निर्मम हुन्छ भन्ने तर निर्मम नमानिएको दक्षिण कोरियाली राजनीतिक माहोल आखिर तातिएरै छाड्यो । अवैध तरिकाले वित्तिय लाभ लिने परिपाटी दक्षिण एसियाको राजनीतिमा सामान्यजस्तै छ । प्रजातन्त्रको नाममा हुने आर्थिक र राजनीतिक भ्रष्टाचार र वित्तिय लाभ दक्षिण कोरियाका लागि अपाच्य थियो र छ भन्ने कुरालाई पार्क महाअभियोगसँग जोडेर हेरिएको छ । संसद्ले पारित गरेको महाअभियोगको प्रस्ताव संवैधानिक अदालतले निरूपण गर्नेछ । सो कार्य पूरा हुन अब १ सय ८० दिन लाग्नेछ । संवैधानिक अदालतले संसद््को निर्णयलाई अनुमोदन गरेको खण्डमा त्यसको ६० दिनभित्र राष्ट्रपति स्वतः पदमुक्त हुनुपर्नेछ । चोई सुन सिलको स्वामित्व र नियन्त्रणमा रहेको एक कम्पनीलाई वित्तिय स्रोत जुटाउन राज्यका ठूला उद्योग तथा व्यवसायीलाई अनिच्छित लगानी गर्न अनावश्यक दबाब दिएको आरोप पार्कमाथि छ । यद्यपि, महाअभियोग पारित हुने समयसम्म पनि राष्ट्रपति पार्क सो आरोप स्वीकार गर्न तयार थिइनन् । ‘म उपर राजनीतिक प्रतिशोध साधियो’ निलम्बित राष्ट्रपति पार्कको संक्षिप्त प्रतिक्रिया थियो ।

महाअभियोग उपर मतदान हुने मितिको धेरै पहिलेदेखि नै आफूमाथि लागेको आरोपको सफाइ दिन राष्ट्रपतिले संसद्मा र टेलिभिजनमार्फत् बारम्बार सम्बोधन पनि गरेकी थिइन् । तर, विपक्षी दलले पार्कको सम्बोधनलाई सत्य, तथ्य ओझेलमा पार्ने चालबाजीको रूपमा लिँदै सडक संघर्षमा जोड दिए भने संसद्मा सिएनुरी पार्टीका सांसदहरू चोर्ने अभियान नै चलाए । विपक्षीको योजना सफल भएको छ । महाअभियोग उपर मतदान हुनु एकदिन अघि विपक्षीहरू चहिनेभन्दा यतिसम्म बढी विश्वस्त (ओभर कन्फिडेन्ट) भए कि, महाअभियोग प्रस्ताव पारित नभएमा सबैजना सांसद्हरूले अनिवार्य संयुक्त राजीनामा गर्नैपर्ने गरी संसद्को सबैभन्दा ठूलो प्रतिपक्षी दलका प्रमुखले वाध्यात्मक आदेश (ह्विप) नै जारी गरे । त्यस्तै, अर्को विपक्षीदलले पनि एकमुष्ट संयुक्त राजीनामा गर्ने विषयमा हस्ताक्षर संकलन अभियान नै चलाए ।

हाई निलम्बनमा परेपछि राष्ट्रपतीय पद भार र जिम्मेवारी संक्रमणकाल भरी वर्तमान प्रधानमन्त्री ह्वान कियो आङ्ले सम्हालेका छन् । तर, भ्रष्टाचारको विषयमा उठेको आन्दोलनलाई मत्थर पार्ने र चोन सुईको विषयमा उठेको विवादलाई निरूपण गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा भने हालसम्म कुनै जानकारी दिइएको छैन ।

महाअभियोग प्रस्तावबाट अपदस्थ दक्षिण कोरियाली राष्ट्रपति पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति थिइन् । सन् १९५२ फेब्रुअरी २ मा जन्मेकी उनले ११औँ राष्ट्रपतिको रूपमा सन् २०१२ मा आफ्नो कार्यभार सम्हालिकी थिइन् । कन्जरभेटिभ पार्टी ग्रान्ड नेसनल पार्टीको सन् २००४ देखि २००६ र २०११ देखि २०१२ सम्म पनि अध्यक्ष रहेकी थिइन् । सन् २०१२ मा सो पार्टीको नाम परिवर्तन भएर साएनुरी भएको थियो ।

पार्कको आमाको एक विवादास्पद हत्यापछि राजनीतिमा प्रवेश गरेकी थिइन् । तथ्य पुष्टी नभएको तर उत्तर कोरियाको आदेशमा उनको आमाको हत्या भएको बताइन्छ । पार्कका पिता पार्क चुङ ही सन् १९६३ देखि १९७९ सम्म दक्षिण कोरियाको राष्ट्रपति भएका थिए । राष्ट्रपतिको कार्यकालको अन्तिम समय तिर गुप्तचर एजेन्टले उनको हत्या गरेको थियो । सन् १९९८ देखि २०१२ सम्म प्रत्यक्ष निर्वाचित प्रतिनिधिका रूपमा लगातार चार कार्यकाल संसद्को प्रनिधित्व गर्ने पार्क कोरियन राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यसमेत छिन् । राष्ट्रपति कै दलले नचाहँदा नचाहँदै पारित भएको प्रस्तावले राजनीतिक द्वन्द्वतिर मुलुकलाई लैजान सक्ने आशयका समाचारहरू पनि सार्वजनिक भएका छन् । प्रधानमन्त्रीसमेत रहेका हुवान कियाले नागरिकलाई संयमताका साथ रहन आग्रह गर्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियाको इतिहास हेर्ने हो भने राष्ट्रपतिको पारिवारिक सदस्यको स्वामित्वमा रहेका सामसुङ, लोटी, एसकेललगायत कम्पनी र सरकारी कार्यालयमा दिनहुँजसो प्रहरीले छापा मार्छ । तर, अनुमानको भरमा राष्ट्रप्रमुखको मान मर्दन गरिएको भन्दै पार्कका वकिलले बचाउको हरसम्भव प्रयास गरेका थिए । अपेक्षितरूपमा शान्त मानिएपछि राजनीति र भ्रष्टाचार दक्षिण कोरियाको प्रमुख विशेषताको रूपमा स्थापित भएको पुसान विश्वविद्यालयका प्राध्यापक रोवर्ट केलीको भनाइ छ । भ्रष्टाचार प्रणालीको रूपमा विकास भएको छ, जुन आममान्छेको सोचभन्दा बाहिरको विषय हो । दक्षिण कोरियामा चेइबोल्स लामो समयदेखि प्रचलित छ । राजनीतिज्ञ, व्यापारी तथा एलिटहरूको स्वामित्वमा विभिन्न कम्पनीको समूह छ । जसलाई दक्षिण कोरियामा चेइबोल्स भनिन्छ । त्यस्ता कम्पनीमा शक्तिका नजिक रहेका मान्छेहरू नै आवद्ध हुन्छन् । कम्पनी चलाउने मुख्य व्यीक्तको नेतासँग विशेष सम्बन्ध हुन्छ । भ्रष्टाचारको पर्दाफास नै भइहाल्यो भने पनि त्यस्ता समूहको प्रमुख जेल जान्छन् तर नाटक के गरिन्छ भने जेल परेका भ्रष्टाचार आरोपी राष्ट्रपतिले आममाफी दिएर रिहाइ गरिन्छ ।

चेइबोल्सले समृद्ध दक्षिण कोरिया बनाउन सहयोग पनि गरेको छ । पार्कका पिता जसलाई तानाशाह नै भनिन्छ । उनले चेइबोल्स प्रमुखलाई उद्योग स्थापना गर्न निर्देशन दिएर कोरियाको आर्थिक समृद्धिको मार्ग प्रशस्त गरेका थिए । हरेक दश कोरियाली नागरिक मध्ये आठ जनाले पार्कलाई महाअभियोग लाउनुपर्ने प्रस्तावको पक्ष र चेइबोल्सको धरापमा परेको भन्ने बौद्धिक वर्गको धारणालाई आधार मान्ने हो भने दक्षिण कोरियाको राष्ट्रपति भवन आज मात्रै होइन, विगतदेखि नै भ्रष्टाचारको कालो बादल मडारिएको थियो भनेर ठोकुवा नै गर्न सकिन्छ । स्न १९९८ देखि २००३ सम्म राष्ट्रपतिमा रहेका किम दायई जुङ आफू सदाचारी थिए तर भ्रष्टाचारको पिरो गन्ध पारिवारिकरुपमा नै फैलिएको थियो । राज्य संयन्त्र प्रयोग गरेर वित्तिय अपराध गरेको आरोपमा किमका दुई छोरालाई जेल हालिएको थियो । सन् २००३ देखि २००८ सम्मका राष्ट्रपति रोह मु हायुनले कार्यकाल समाप्त हुने बित्तिकै आत्महत्या गरेका थिए । आत्महत्यापछिको कारणका रूपमा भ्रष्टाचारलाई नै लिइएको छ । कुल ६० लाख डलर भ्रष्टाचार गरेको पत्ता लागेपछि आत्महत्या गरेको भन्दै हायुनको आलोचना गरिन्छ । सन् २००८ देखि सन् २०१३ सम्मका राष्ट्रपति ली माइयुङ पनि भ्रष्टाचारमा मुछिएको बताइन्छ । सरकारलाई प्रभाव पार्न आफ्ना सहदोर दाजुमार्फत एक व्यापारीसँग पाँच लाख डलर घुस लिएको आरोप लागेको थियो ।

ठूला कम्पनीले राजनीतिमा पार्ने प्रभाव र राजनीतिज्ञ त्यसमा बहकिने अवस्था नै दक्षिण कोरियाको राजनीतिको अर्को विडम्बनापूर्ण अवस्था हो । केही स्वार्थ समूहले राज्ययन्त्रमाथि पार्ने प्रभावले समग्र मुलुकको राजनीतिक प्रणालीमाथि नै व्यंग्य गर्ने गरेको पुसान विश्वविद्यालयका प्राध्यापक केलीको भनाइ छ ।

राजनीतिक प्रणालीमा पनि सुधारको माग गरिएको छ । पार्क महाअभियोगको अन्तर्यमा प्रणाली सुधारको विषय पनि जोडिएको छ । तर, त्यो विषय क्रमशः फिका बन्दै जाने छ र केही एलिटले पुनः राज्ययन्त्र कब्जा गर्नेछन् । राष्ट्रपतिविरुद्ध सन् १९८० पछाडिकै सबैभन्दा ठूलो प्रदर्शन हुनु, प्रदर्शनकारी सत्यको खोजी भन्दै मैनबत्ती बालेर प्रदर्शनमा उत्रनुले दक्षिण कोरिया परिवर्तनको संघारमा छ भन्ने पनि बुझ्न सकिन्छ । तर, राष्ट्रपति भवन ब्लु हाउसबाहिर प्रदर्शनमा रहेका कोरियारी मजदुर संगठनका प्रवक्ता जियोङ सु भने लाखौँको सहभागितासहितको प्रदर्शनलाई विधिको शासनको रक्षा गर्नु रहेको बताउँछन् ।

चोई काण्डबारे दुईपटक क्षमायाचना माग्दा पनि नागरिकले प्रदर्शन गर्न नछाडेपछि पार्कले दुषित विचारका कारण म रातभर सुत्न सक्दिनँ, चोईको तर्फबाट भएका लापरवाहीप्रति मलाई लाज लागेको छ भनेकी थिइन् । राष्ट्रपतिको थप भनाइ थियो गल्ती गर्ने जो कोहीलाई कडा सजाय दिनेछ । तर महाअभियोगको सजाय आफैँमाथि ब्रजिएको छ, जुन पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्दा जुन उत्साह र लगाव थियो आज सबै निमिट्यान्न भएको छ । आफूले शक्तिको दुरूपयोग गरेको नभई चोइको गतिविधिलाई मसिनो गरी नहेर्दा समस्यामा परेको राष्ट्रपति पार्कको स्वीकारोक्ती थियो । तर, राष्ट्रपतिको उक्त अनुनय विनयलाई संसद्ले सुनेन, आफ्नै दलका सांसदले समेत सुनेनन् । जसका कारण महाअभियोग लागेर ब्लु हाउसबाट वर्खास्तीमा पर्नु नै पार्कको राजनीतिक जीवनको नमीठो पल बनेर आएको छ । जुन कोरियाको लागिसमेत कालो इतिहासको रूपमा दर्ज हुनेवाला छ ।

(एजेन्सीहरूको सहयोगमा) 

प्रतिक्रिया