सम्बृद्ध महाकुलुङका श्रोतहरू

futre-pic-copyदेश वा ठाउँ कसरी सम्बृद्धि हुन्छ ? दक्षिण कोरिया, सिंगापुर, मलेसिया, कतारजस्ता देशहरूले गरिबीको चेपेटाबाट एक दशकमै कसरी सम्बृद्वि हासिल गरे ? यसको एउटै मात्र जवाफ हो उनीहरूले आपूmसँग भएको श्रोत पत्ता लगाए र त्यसको सही परिचालन गरे । आजभन्दा ४० वर्ष अघि चीनमा ९३ करोड गरिब जनता र प्रयोग गर्न बाँकी प्राकृतिक श्रोत साधनहरू बाहेक अरू केही पनि थिएन । मानौँ त्यतिबेला चीन हालको नेपालजस्तै थियो । जब १९७६ मा चिनियाँ नेता देङले पुँजीको विकास गरेर मात्र समाजवाद लागू गर्न सकिन्छ भन्ने मान्यताका साथ पँुजीवादी अर्थव्यवस्था परिवर्तन गरे, पश्चिमा करोडपतिहरू सस्तो मूल्यमा चिनियाँ श्रमिकलाई काम गराएर त्यहाँको प्राकृतिक श्रोतको परिचालन गर्न चीनमा आफ्ना पुँजी लिएर लगानी गर्न आए । यसको फलस्वरूप सरकारले उनीहरूबाट कर र जनताले रोजगारी पाए, आज चीन अर्थतन्त्रमा संसारलाई चुनौती दिने अवस्थामा छ । जब कतार, मलेसियालगायत खाडी मुलुकका जनताले आफ्नो देशमा केही छैन तर एउटा तेल रहेछ भन्ने कुरा पत्ता लगाए उनीहरूले मरुभूमिको बलौटे ठाउँमा उक्त तेलको उत्खनन् गरेर सम्बृद्वि हासिल गरे । यो देशका मामलामा मात्र होइन, गाउँठाउँको मामलामा पनि उत्तिकै रूपमा लागू हुन्छ । यसै सन्दर्भमा सम्वृद्वि हासिल गर्न सोलुखुम्बुमा हालै प्रस्तावित महाकुलुङ (बुङ, छेस्काम र गुदेल) गाउँपालिकाको स्थानीय श्रोत साधनहरू बारे चर्चा गरिएको छ ।

१. जमिन ः

सोलुखुम्बुमा महाकुलुङको पहिलो चर्चा दुर्गमसँग जोडेर गरिन्छ । भौगोलिक हिसाबले हेर्दा यो ठिकै पनि हो, किनभने यसको उत्तर, पूर्व र दक्षिणतिर नजिकमा अर्को बस्ती छैन । बस्ती नभएका ती ठाउँहरूमा फराकिला खाली वा केही जंगलसहितका प्रशस्त जमिनहरू भने छन् । यस अर्थमा महाकुलुङलाई दुर्गम भन्नेहरूको छेउछाउ अरू बस्ती होलान् तर हाम्रोमा खाली जमिनहरू छन् । कुना र सेन्टरको फरक पनि यतिले गरेको हो । सेन्टरमा हुनेहरू होटल थाप्छन्, त्यो उनीहरूको सम्पत्ती भयो तर कुनामा हुनेले उक्त फराकिलो जमिनको सदुपयोग गरेर आर्थिक सम्बृद्वि हासिल गर्न सकिन्छ र गर्नुपर्छ । यस अर्थमा महाकुलुङको पहिलो श्रोत कुनामा हुनुको नाताले जमिन हो । जमिनको प्रयोगले मात्र महाकुलुङमा सम्बृद्वि हासिल हुन्छ ।

यो प्रस्तावित गाउँपालिका करिब ८ सय मिटरदेखि ७ हजार मिटर माथिसम्म फैलिएको भए पनि यसको मुख्य क्षेत्र भने १ हजारदेखि २ हजार ६ सय मिटरसम्म फैलिएको छ । खासगरी गुदेलका अधिकांश तथा बुङ, छेस्कामका तल्लो चिस्यान क्षेत्रहरूमा अलैँचीको ठूलो सम्भावना छ भने बोक्सिवार, खिराउले, सानाम र मार्मेकु क्षेत्रमा चिराईटो, टिम्बुर, लोक्ता र सतुवाको ठुलो सम्भावना रहेको छ । त्यस्तै पेल्माङ, छेम्सी, सात्दी र पेलेम्ला क्षेत्रमा अम्रिसो, बास, उत्तिस लगायत विभिन्न डाँलेघाँसहरू रोप्ने ठाँउहरू प्रशस्त छन् भने खार्दो, खिराउले, पोपेलु र बुर क्षेत्रमा मालिंगो, खर, कटुस लगायतका विभिन्न रुखहरू काँठको लागी रोप्ने प्रशस्त ठाँउहरू छन् । जे होस् स्थानीय कृषक र सामुदायिक बन समितिहरूसंग राम्रो समन्वयन गरेर कुन ठाँउमा के के उर्मान सकिन्छ भन्ने कुराको सर्वेक्षण गरी बिरुवा उमार्ने हो भने महाकुलुङका तीन गाँउहरूमा करिब ६० लाख देखि एक करोडसम्म बिरुवा लगाउने ठाँउहरू छन् । नेपालको इलाम जिल्लाबाट सिकेर महाकुलुङले उक्त परिणामको बिरुवाहरू तत्काल रोप्ने हो भने यो गाँउले ५ देखि १० वर्ष्भित्र अपत्यारिलो हिसाबले आर्थिक विकासमा काँचुली फेर्नेछ ।

२.पर्यटन

जमिनपछि महाकुलुङको दोस्रो श्रोत पर्यटन हो । मकालु बरुण राष्ट्रिय निकुञ्जभित्र पर्ने यो गाँउका जंगलहरूमा विभिन्न जंगली जनावरहरू छन् भने बुङको इङ्खु उपत्यका र छेस्कामको सेतीपोखरी उपत्यकाभित्र केही चर्चित हिमालहरू पनि रहेका छन् । उक्त दुई उपत्यकाहरू प्रवेश गर्ने पदमार्गहरूलाई स्तरोन्नती गरेर पर्यटनबाट यो गाँउले फाईदा लिन सक्छ । ग्रामिण पर्यटन पदमार्गहरू अन्र्तगत पहिलो तुम्लिङटार केन्पा, छेस्कामहँुदै लुक्ला, दोस्रो तुम्लिङटार साल्पा, गुदेल, बुङहुँदै लुक्ला तथा तेस्रो फाप्लु सोताङ, बुङहुँदै तुम्लिङटार वा लुक्लासम्मको पदमार्गहरूको स्तरोन्नती गर्न सकिन्छ ।

हिमाली पदमार्गहरूमा पहिलो, लामिडाँडा, गुदेल, मार्मेकु, केन्पा हुँदै सेतीपोखरी, दोस्रो लामीडाँडा गुदेल छेस्काम वा फाप्लु बुङ, छेस्काम हुँदै मुद्वि, खोङमाडिङमा सेतीपोखरीसम्मको पदमार्गहरू विकास गर्न सकिन्छ भने तेस्रो हिमाली पदमार्गको रूपमा फाप्लु, बुङ, खिराउले, छाराखर, हुर्हुरे हुँदै कोठे नौलेखसम्म स्तरोन्नति तथा प्रर्बद्धन गर्न सकिन्छ । यी सबै पदमार्गहरूलाई सबै पर्यटकको सहज पहँच पु¥याउन हाल निर्माणाधिन गुदेल हवाई मैदानलाई शीघ्र निर्माण गरिनुपर्छ ।

३. पानीः

महाकुलुङको तेस्रो स्रोत पानी हो । यहाँ फुलवात्ती, भुवा, भुदुम, कोङखो, बेजो, मुद्वी र तम्खो गरी करिब सात वटासम्म एक सय किलोवाटसम्मको हाइड्रो पावरबाट बिजुली निकाल्न सकिने खोलाहरू छन् । यी खोलाहरू खानेपानीका दिगो श्रोतहरू पनि हुन् । यसबाहेक हुंगाखोलाबाट ठुलो परिणामको विद्युत् निकाल्न पनि सकिन्छ भने भविष्यमा यातायातको विकाससँगै यी हिमनदीहरूबाट मिनरल पानी उत्पादन गर्न सकिन्छ ।

तेस्रो स्रोतको रूपमा रहेको पानीलाई खानेपानीबाहेक विद्युत् निकाल्न र मिनरल पानीको रूपमा बाहिर बेच्नका लागि यातायात तथा विद्युत् प्रसारण लाइनको विकास, प्राविधि, दक्ष जनशक्ती तथा लगानीको लागि ठूलो पुँजीको आवश्यकता हुन्छ । त्यसकारण पानीको परिचालन गर्न बाहिरी लगानीकर्ता, प्रविधी र विकासलाई समेत पर्खनुपर्ने हुन्छ । दोस्रो स्रोतको रूपमा रहेको पर्यटनको विकास पनि धेरथोर पुँजी र प्राविधिक जनशक्तीसँग जोडिएको विषय हो तर पहिलो श्रोतको रूपमा रहेको अति महत्वपूर्ण जमिनको परिचालन स्थानीय श्रोत, ज्ञान, प्रविधि र जनशक्तिले नै पुग्ने भएकोले तत्काल यस विषयमा प्रवेश गरिहाल्न ढिला गर्नु हुँदैन । यसका लागि विकासमा भिजन स्पष्ट भएको नेतृत्व चयन पहिलो सर्त हो र आगामी स्थानीय चुनावमा महाकुलुङबासी यस कार्यमा चुक्नु हँुदैन ।

प्रत्येक जनता स्थानीय श्रोतको परिचालनले धनी भएपछि मात्र अस्पताल, कलेज, खानेपानी, यातायातलगायत विकास टिक्न सक्छ । नत्र एउटा रोगको अप्रेसन गरेर ३० हजार रूपैयाँ तिर्न नसक्ने जनताको बीचमा एउटा डाक्टरलाई मासिक ढेड लाख रूपैयाँ तलब दिएर कसरी अस्पताल टिक्ला ? वा केन्द्र सरकारले पैसा तिरिदिएर महाकुलुङमा अस्पताल वा कलेज खुल्छ भनेर कहिलेसम्म कुर्ने ? त्यसकारण विकासको पहिलो शर्त स्थानीयको आयआर्जन हो । स्थानीय आयआर्जनको पहिलो शर्त स्थानीय श्रोत परिचालन हो । अब यस विषयमा अल्मलिनु हँुदैन ।

प्रतिक्रिया