वैदशिक रोजगारको कमाइबाट एल्बम

dipak-hang-rai-copyकाठमाडौं, २० मंसिर । ‘रहर भए बहर किन्न सकिन्छ’ अनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ यो नेपाली उखान सबैलाई व्यावहारिक नभएता पनी अपवादमा कसैको जिन्दगीमा ठ्याक्कै मेल खाएको पाइन्छ । तपार्इंको दिमागमा आउला विदेश जाने धेरै पैसा कमाई जग्गाजमिन जोडी व्यापार व्यवसाय गर्ने तर ! कोही व्यक्ति यस्ता पनि भेटिन्छ जो रगत पसिना बगाएर पैसा कमाउँछन् कमाएको रकम मनोरञ्जनको दुनियाँमा लगानी गर्छन् । यसैको भिडमा चार वर्षभरीको मलेसियाको कमाई खोटाङ अर्खौलेका नवगायक दीपकहाङ राईले भने नेपाली गीतसंगीतमा लगानी गरेका छन् ।

नेपाली संगीतबजारले उभोगति लिन नसकिरहेकोे अवस्थामा ‘शुभारम्भ’ नामक गीति एल्बममार्फत नवगायक दीपकहाङ राई नेपाली संगीतबजारमा शुभारम्भ गर्न लागेका हुन् । पछिल्लो समयमा चुनौतीपूर्ण रहेको नेपाली संगीतबजारमा मलेसियाको ४ वर्षे कमाइ सार्वजनिक हुन लागेको आफ्नो एकल एल्बम ‘शुभारम्भ’ मा लगानी गरेको युवा गायक राईले बताए । बुवा तीर्थबहादुर राई तथा माता विष्णुकुमारी राईको साहिँलो छोराको रूपमा खोटाङ अर्खौले–३ पीपलटोलमा ०४९ असार १८ गते जन्मनुभएका नवयुवागायक राईले ०६६ सालमा सरस्वती मावि अर्खौलेबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । रहर नै आफ्नो जिन्दगीको लागि टर्निङप्वाइन्ट भएको बताउने उनले ‘शुभारम्भ’ एल्बममा समाविष्ट ‘दिक्क कि हैन ठीक्क कि’ बोलको गीतको भने म्युजिक भिडियो पनि निर्माण गरी युट्युबमार्फत सार्वजनिक गरिसकेका छन् ।

५ वटा गीत रहेको एल्बममा पाँचँै श्रष्टाहरूको रचना छन् भने भूवन सुप्तीहाङ राईको सोलो संगीत रहेको छ । आधुनिक तथा सेन्टिमेन्टल विधामा समाविष्ट उक्त गीति एल्बममा ‘क्या भोर भो, तिम्रै यादमा जलीरहे, पिरतीको यात्रामा, दिक्क कि हैन ठीक्क की, साथ देऊ हात देऊ’ जस्ता गीत समावेश रहेका छन् । नवगायक दीपक हाङको एकल स्वर रहेको गीतमा नवराज विष्ट, पत्रकार डब्बु क्षेत्री, बुद्घबीर लामा, मुकेश राई र गोपाल दाहालको रचना रहेको छ । संगीतकार भूवन सुप्तीहाङसँग ३ महिना संगीत शिक्षा सिकेका गायक राईले एक म्युजिक भिडियोसहित साढे ३ लाखको लागतमा उक्त एल्बम तयार पारेका हुन् ।

एक म्युजिक भिडियो युट्युबवाट सार्वजनिक गरिए पनि एल्बम केही समय लगत्तै औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिने गायक राईले जनाए । मोडल तथा नायिका पार्वती राई र लविन राईद्वारा अभिनीत ‘दिक्क कि हैन ठीक्क की’ बोलको गीतले भने राम्ररी बजार तताइरहेको छ । परी सिने प्राली म्युजिक कम्पनीमार्फत आफ्नो एकल गीति एल्बम बजारमा ल्याउन लागेको र एल्बममा रहेका ५ गीतले श्रोताहरूको मन छुने विश्वास रहेको गायक दीपक हाङले बताए ।

 

प्रतिक्रिया