बाबुछोराको एकसाथ प्रदर्शनी

babau-xora-copyकाठमाडौं, १३ मंसिर । आफ्नै क्षेत्रमा प्रगति देख्न चाहाने चित्रकार किरण मान्नधरसँगै उनका छोराले समेत यो बाटो अख्तियार गरेका छन् । आफ्नै पदचाप पछ्याएका छोरालाई साथमा लिएर हिँडेका बरिष्ठ कलाकार किरण मानन्धरले चित्र प्रदर्शनी आयोजना गरेका हुन् ।
काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिल ग्यालरीमा चलिरहेको बाबुछोराको चित्र प्रदर्शनीमा यो कुराको खुलासा भएको छ । उनको यो प्रदर्शनी २ सातासम्म चल्दै छ ।

‘आफ्ना कामहरू यसरी सार्वजनिक नगरेको लामो अवधि भइसकेको थियो,’ नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्रथम कुलपतिका रूपमा अलि अघिसम्म व्यस्त रहँदै आएका मानन्धरको बुझाई छ । उनले भने, ‘तन्नेरीहरूसँग मिलेर काम गर्दै आएको मैले यसपाला आफ्नै छोरामार्फत् नयाँ पुस्तालाई प्रोत्साहन मिलोस् भन्ने भावना पनि राखेको छु ।’ प्रदर्शनीमा मानन्धरले हालसालै ठूला क्यानभासमा बनाएका केही चित्रहरू पनि राखिएका छन् ।

बेग्लाबेग्लै खण्डमा प्रदर्शित बाबुका चित्रहरूलाई ‘दुनुगःया स्वापू’ (भावना र सम्पर्क) शीर्षक दिइएको छ भने छोरा सागर मानन्धरले ‘भैरव’ शीर्षकका चित्रहरू प्रस्तुत गरेका छन् । प्रदर्शनीका अधिकांश चित्रहरू उपत्यकाका सांस्कृतिक सम्पदाहरूलाई रंगका माध्यमबाट प्रस्तुत गर्न खोजिएको प्रतित हुन्छ । अझ छोराले त नेपाल मण्डलाका प्रभावशाली एवं रंगहरूले भरिपूर्ण देउता ‘भैरव’लाई नै अभिव्यक्तिको माध्यम बनाएका छन् । किरणका चित्रहरूलाई लामो समयदेखि नियाल्दै आएका पारखीहरूलाई उनमा अहिलेसम्म कायम रहेको ‘फर्म’ हेर्नुको आनन्द प्रदर्शनीले दिएको छ । छोराले ‘भैरव’ शीर्षकमा सिरिज चलाएकै बेला एक वर्षअघि मात्र बाबुले तयार पारेको भैरवकै लाल झाँकी प्रभावशाली देखिन्छ ।

अर्कोतर्फ बाबुले पढेकै स्थान वनारस हिन्दू विश्वविद्यालयबाटै कलामा स्नातकोत्तर गरेर फर्केका सागरमा पनि पछिल्लो समय थप निखार आउन थालेको छ । ‘बाबुको संगतबाट हुर्कंदै गरेका सागरलाई मैले घरभित्र र बाहिर पनि नियाल्दै आएको छु,’ प्राध्यापक अभी सुवेदी भन्छन्, ‘बुबाको प्रभावमा हुर्कंदा हुर्कंदै पनि उनले आफ्नो बेग्लै शैलीको विकास गरेका छन् ।’ अभिव्यक्तिका निम्ति बाबुले क्यानभासमा एक्रेलिक रंगको प्रयोग गरेका छन् भने छोराले एक्रेलिक र तैल दुवै रंग प्रयोग गरेका छन् ।

प्रतिक्रिया