प्रधानमन्त्री दाहालले भने : शक्ति सञ्चय गर्दैछौँ

Prachandaकाठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र माओवादी आन्दोलनले शक्ति सञ्चय गरिरहेको बताएका छन् ।

शुक्रबार माओवादी केन्द्र र नेकपा माओवादी (विद्रोही) बीचको एकतासभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले शक्ति सञ्चय गरिरहेको बताएका हुन् । ‘हिजो हामी विभाजित भयौं । यसले माओवादी आन्दोलनलाई मात्र कमजोर बनाएन, राष्ट्रका युगान्तकारी एजेण्डाहरू पनि कमजोर बने’, उनले भने, ‘अहिले हामी विगतको समीक्षासहित एकताबद्ध हुँदैछौँ र शक्ति सञ्चय गरिराखेका छौँ ।’

सभामा दाहालले नेपालमा राजनीतिक परिवर्तनहरू दिगो नहुँदै राजनीतिक पार्टीमा विचलन आउने गरेको स्मरण गरे । उनले भने, ‘नेपालमा ठूलठूला बलिदान भए, राजनीतिक परिवर्तन भए । तर, तिनलाई संस्थागत गर्न नपाउँदै राजनीतिक पार्टीमा विभाजन र स्खलनहरू देखिए । हामीले त्यसलाई छिचोल्दै अघि बढ्न सक्नुपर्छ । माओवादी अहिले त्यही अभियानमा छ ।’

प्रधानमन्त्री दाहालले माओवादी आन्दोलनलाई पहिलो शक्तिको रूपमा स्थापित गर्ने र राष्ट्रलाई निकास दिने जिम्मेवारी आफ्नो काँधमा आएकोसमेत बताए । ‘माओवादी आन्दोलनलाई पहिलो र देशकै निर्विकल्प शक्तिको रूपमा स्थापित गर्ने जिम्मेवारी मेरो काँधमा छ’, उनले थपे, ‘मलाई माओवादी आन्दोलन र सिंगो राष्ट्रको निकासका लागि गहिरो जिम्मेवारीबोध छ ।’

उनले पुरातनपन्थी, नश्लवादी र समावेशी लोकतन्त्रका विरोधी माओवादी आन्दोलनविरुद्ध झुटो प्रचारमा लागेको आरोप लगाए । ‘हामी राष्ट्रिय एकता चाहन्छौं । सबैको भावनाको प्रतिनिधित्व होस् भन्ने चाहन्छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘सन्तुलित विदेश नीतिका आधारमा देशलाई विकास र समृद्धिको दिशामा लैजान चाहन्छौं ।’

घोषणासभामा नेकपा (क्रान्तिकारी)बाट नेता शिव कट्टेल, राप्रपाबाट नेता एवं पूर्वमन्त्री नरबहादुर बुढाथोकी, मालेबाट रविन्द्र थापाको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरे ।

प्रतिक्रिया