खसी जोखेर बेच्दा किसान फाइदामा

चितवन, २१ असोज । चितवनको विकट गाविस चन्डिभञ्याङ–६ रहिबुङकी दीपा चेपाङले २ वर्ष अघिको दसैँमा एउटा खसीलाई हचुवामा बेचे । व्यापारीले भाउ कसे । उनलाई पनि पैसाको खाँचो थियो र ७ हजार रुपैयाँमा बेच्न बाध्य भए । व्यापारीले त्यही खसी ४र हजार नाफा गरेर ११ हजार रुपैयाँमा बेचे ।

त्यति नै समयको र उत्रै खसीलाई पोहर साल उही मूल्यमा जोखेर बेच्दा ९ हजार आयो । ‘हचुवामा बेच्दा किसान मर्ने रहेछ,’ दीपाले आफ्नो विगत सम्झँदै भने, ‘अब त मरे पनि हचुवामा बेच्दिनँ ।’

गाउँमा हचुवामा किन्न व्यापारी यसपालि पनि नआएका होइनन् तर उनले यसपालि दसैँको मुखमा आफ्नो घरमा भएका २१ वटा खसी गाउँबाट झारेर राजमार्गस्थित कालीखोला ल्याए ।

त्यहीँ व्यापारी आए । अनि जोखेर किलोका हिसाबले खसी लिएर गए । ‘श्रमको मूल्य पाएपछि ढुक्कै,’ दीपाले हर्षित हुँदै भने, ‘अब अरू किसानलाई पनि हचुवामा खसी नदिनुस् भन्छु ।’

गाउँघरमा पालिने कुनै पनि वस्तुमा श्रम लगानी बढी हुन्छ । अतिरिक्त मूल्य तथा श्रमको मूल्यसमेत बाहिर जान पाउँदैन । आफैँ मालिक आफैँ श्रमिक भएपछि किसानलाई जोखेर बेच्दा केही न केही फाइदै हुन्छ ।

गाउँका किसान सोझा हुन्छन् । उनीहरूको दसैँको गर्जो टार्न त्यही खसी बेच्नुपर्छ । बिकेन भने दसैँ मान्न पाइँदैन । अनि सस्तोमा भने पनि दिनुपर्ने बाध्यता हुन्छ ।

हचुवामा भन्दा जोखेर बेच्दा कम्तीमा २ हजारदेखि २ हजार ५ सयसम्म एउटै फाइदा हुने दीपाको अनुभव छ । दीपाले पोहरसाल ८ क्विन्टलको २४ वटा खसी बेचेर ३ लाख १५ हजार रुपैयाँ कमाइन्् । यसपालि अलि साना २१ वटा खसीको २ लाख बढी पैसा लिइन् ।

उनकै भनाइमा लागेर मंगलबार चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा पर्ने कालीखोलामा दसैँको ४ वटा जखमले खसी डो¥याउँदै चन्डिभञ्याङ–६ आदमाराका कुमार चेपाङ आए । ‘करिब २१ र २२ हजार लाग्या’थ्यो, अहिले झन्डै ४५ हजार आयो,’ कुमारले खुसी व्यक्त गरे ।

हचुवामा नदिई उनले जोखेरै खसी पठाए । कुमार, घरमा २१ वटा भएका मध्ये १० वटा खसी अर्को दसैँका लागि तयार पार्दै छन् ।

‘हेफर इन्टरनेसनल र दियालो परिवारले २ बाख्रा दिएपछि खसीबाख्रा पालेको हूँ, राम्रै भयो,’ कुमारले भने, ‘बजारसमेत उहाँहरूले नै मिलाइदिनुभयो, हामी चेपाङलाई ठूलो गुन भो ।’

किसानको जागिर भनेकै खसीबाख्रापालन भएको बताउने कुमार भन्छन्, ‘जोखेर मालअनुसार पैसा पाउँदा खुसी छु ।’

गाउँका विपन्न चेपाङसहित गुरुङ, तामाङलाई अहिले एकत्रित गराएर यहाँ सहकारी स्थापना गरिएको छ । ८ सय घरधुरीमध्ये झन्डै ६ सय जना सहकारीमा आएका छन् । उनीहरूमध्ये अधिकांशले बाख्रापालन थालेका छन् ।

उनीहरूसँग बुनु चेपाङ ७० हजार कमाउने योजनाका साथ ६ वटा खसी लिएर बजार आएकी छन् । विपन्न गोरीमाया एउटा खसी च्यापेर बजार आइपुगिन् । गनमाया गुरुङ ३ वटा खसी बेचेर दसैँको जोहो गर्दै छन् । हचुवामा नभई जोखेर उनीहरूले खसी दिए ।

सहकारीमार्फत नै मूल्य निर्धारण गरी तौलेर मात्रै खसी बेच्ने व्यवस्था यहाँ मिलाइएको चन्डिभञ्याङ सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष रश्मी गुरुङ बताउँछिन् । उनका अनुसार गाविसमा १ हजार ६ सय बाख्रापालक छन् ।

त्यसमध्ये यसपालि दसैँमा ८ सय खसी बिक्रीका लागि तयार छन् । अहिलेसम्म सहकारीमार्फत २ सय ५६ वटा खसी बेचेर गाउँले किसानले २३ लाख ७६ हजार आम्दानी गरेको अध्यक्ष गुरुङले जानकारी दिइन् । व्यापारीमार्फत किलोको ५ रुपैयाँ सहकारीले लिन्छ । किसानलाई कति पनि शुल्क नलाग्ने भएकाले यहाँका किसानले श्रमको शतप्रतिशत मूल्य पाएका छन् ।

पहाडी क्षेत्रका खसी चिल्ला, रसिला र कसिला हुन्छन् । अन्न कम खाने र घाँसमा आधारित पशुपालन हुने हुँदा बोसो पनि कम हुन्छ । पुष्ट हुने र चिसो ठाउँमा रहेकाले रोग पनि कम लाग्छ ।

यस्तै खसी व्यापारीले मन पराउँछन् । लैजाँदा पनि नघट्ने र मासु पनि मीठो हुने भएकाले सहरका खसीभन्दा गाउँका खसी मनपराउने गरेको व्यापारी कविराज गुरुङको भनाइ छ ।

खसी किन्न कालीखोला आइपुगेका व्यापारी राजकुमार गुरुङले २ समूहमा खसी उठाएको बताए । उनका अनुसार हचुवामा किन्दा व्यापारीलाई बढी फाइदा हुन्छ । भुँडी बढी छ, दुब्लो छ, रोगी छ भन्दा केही सस्तोमा पाइन्थो, किलो जोखेर किन्दा सबै जोख्नुपर्ने भएकाले कम फाइदा हुने राजकुमारको अनुभव छ ।

यहाँ बढीमा ३ सय ७० प्रतिकिलो किनेको खसी काठमाडौंमा आफूले ४ सय २५ रुपैयाँसम्ममा बिक्री गरेको अर्का व्यापारी कविराज गुरुङले बताए ।

चितवनको सिद्धी, कोराक, शक्तिखोर, कविलासलगायत क्षेत्रका बाख्रापालक किसानसमेत अहिले सचेत हुन थालेका छन् । विपन्न परिवार दसैँमा ज्याला मजदुरी गर्ने र ऋणमा दसैँ मान्नेमा समेत बाख्रापालनले परिवर्तन ल्याइदिएको छ ।

४० देखि ८० वटासम्म बाख्रापालन गर्दै आएका सिद्धिका बिबिमाया चेपाङ, इन्द्रमाया चेपाङ, जैमाया चेपाङ पनि हचुवामा खसी बिक्री बन्द गरेर श्रमको उचित मूल्य लिन थालेका छन् । जैमायाले यसपालि खसी मात्रै १९ वटा जोखेरै बेचिन् ।

यसपालिको दसैँमा यहाँ प्रतिकिलो २ सय ३० देखि २ सय ७० सम्ममा खसी बिक्री हुँदै आएको किसानकी सहयोगी सुनिता शेर्पा बताउँछिन् ।

कृषिविज्ञ तथा हेफरका राष्ट्रिय निर्देशक डा.शुभनारायण महतो यसैगरी बाख्रापालन फस्टाउने हो भने नेपाल सरकारको खसीबोका आयात प्रतिस्थापन गर्ने योजना केही वर्षमा सफल हुने बताउँछन् ।

तौलिएर बेच्दा करिब २५ प्रतिशत किसानले फाइदा पाउने महतो बताउँछन् । ‘राम्रो गरे विदेश जानुपर्दैन भन्ने उदाहरण हो,’ उनले भने ।

अर्का विज्ञ तथा पशु चिकित्सक डा.तीर्थ रेग्मीका अनुसार गाउँमा किसानले खसीको मासुमा प्रतिकेजी करिब २१० लागत लगाउँछन् । त्यसको ७० देखि ८० प्रतिशत लागत आफ्नै श्रमको हुन्छ । बाँकी करिब २१÷३० प्रतिशत अन्य लगानी हुन्छ ।

प्रतिक्रिया