पार्टी एकता हुक्के र ढोके प्रवृत्तिले भाँडिएको हो

feature-2धर्मराज पोखरेल
उपसंयोजक, राष्ट्रिय प्रजातान्त्रिक युवकसंघ

राष्ट्रिय प्रजातान्त्रिक युवकसंघको उपसंयोजक धर्मराज पोखरेल केही समय पहिला सूर्यबहादुर थापाले पशुपति शमशेरसँग पार्टी एकता गरेसँगै उक्त पार्टीको युवकसंघको उपसंयोजक भए । पार्टी एकता हुँदा निकै उत्साही पोखरेलको उत्साह यति बेला निराशामा परिणत भएको छ । पार्टी एकता भएर पाएको जिम्मेवारी अनुसार काम गर्ने अवसर नपाएका उनले आफ्ना पीडा पटकपटक नेतृत्वसँग राखे । तर, सुन्ने कोही भएन । पार्टीभित्र हुक्के र ढोके प्रवृत्तिले इमानदार कार्यकर्ता छायाँमा परेको ठान्छन् पोखरेल । पछिल्लो समय राप्रपा नेपालसँग हुनै आँटेको पार्टी एकता निजीस्वार्थले भाँडिएको ठान्ने पोखरेलसँग गरिएको संवादः

तपाईंको युवा संगठनको अवस्था कस्तो छ ?
–हाम्रो युवक संघको मात्र होइन हरेक पार्टीको संगठनहरू यति बेला लथालिंग र भताभुंग अवस्थामा छन् । यो नेतृत्वमा बस्नेले कार्यकर्तालाई गरेको काखा र पाखाको कारण हो । यस्ता रोग सबै पार्टीको भातृसंगठनमा छ । नेतृत्वसँग सन्तुष्ट र असन्तुष्ट कार्यकर्ता सबै पार्टीमा छन् । हाम्रो पनि छ । यस्तै धेरबीच चलेको छ संगठन ।

युवाहरूलाई अगाडि बढाउने सवालमा संगठनले केके गरेको छ ?
–राप्रपापार्टी जन्मदै जुम्ल्याहा भएर जन्मेको पार्टी हो । हामी युवासंघका मान्छे पनि त्यहि नियतिभित्र छ । पञ्चायतमा काम गरेका भन्दै सूर्यबहादुर थापा र लोकेन्द्रबहादर चन्दले गलत ढंगले पार्टी बनाए । मैले ०४८ देखि पार्टीको युवासंघमा रहेर काम गर्दै आएँ । यतिबेला संघको उपसंयोजकको जिम्मेवारी छ । एउटा संगठनको जिम्मेवार नेता र पार्टीको कार्यकर्ताको हैसियतमा भन्दा विचार मिल्ने पार्टीहरू एक भएर अगाडि बढनुपर्छ भन्ने मान्यता राख्छु । यसका लागि धेरै पहल ग¥यौँ । म त राप्रपा मात्र होइन बृहत् प्रजातान्त्रिक मोर्चा बनाउनुपर्छ भन्ने मान्यता राख्छु । युवासंघको उपसंयोजक भएर पदीय काम गर्ने अवसर पाएको छैन पद छ काम छैन ।

युवासंघ भित्र एकता छैन भनेर बेलाबेला सुनिन्छ के यो कुरा सत्य हो ?
–पार्टी एकतासँगै दुई युवकसंघ पनि एकता भयो । एकतापछि नीतिगत रूपमा एउटा संयोजक एक उपसंयोजक बनाइयो । राजपाबाट गएको कारण म उपंयोजक भए । संयोजक भएका दीपक राईले सधैँ एकलौटी रूपमा संगठनलाई कोठे बनाएर चलाए । एकतापछि हामीले कहिल्यै पदीय सम्मानको अनुभूति गर्न पाएनौँ । म मात्र होइन हिजो त्यहि राप्रपाभित्र रहेका साथीहरूको पनि हविगत उस्तै छ । त्यहिभित्र पंकज प्रधानकोे नेतृत्वमा अर्को युवकसंघ छ । यसबारेमा पटकपटक पार्टीलाई भन्यौ संगठनलाई एउटा सिद्धान्तमा चल्ने वातावरण बनाइ दिनू । संगठनका लागि म पनि उपयुक्त नभए अरूको नेतृत्वमा संगठन निर्माण गर्नू भनेर । तर, पार्टीले सुनेन । जसको कारण आफ्नै संगठनले के गर्छ पत्तो हुँदैन ।

एउटौ विचार भएका र हिजो एउटै मुलबाट आएर पञ्चायतको संरक्षणमा रहेकाहरूको एउटै पार्टी हुनुपर्छ भन्नेमा तपाईंको पहल कत्तिको भयो ?
–हामीले आफ्नो पहल सधैँ गरी रह्यौँ । पार्टीमा हुक्के, चम्चे र ढोकेहरूको बाहुल्यता भएकोले हाम्रा कुरा ओझेलमा परे । हामीले हिजोदेखि पार्टीमा इमानदार, योग्य र असल मान्छे नेतृत्वमा पुग्नुपर्छ भन्यौँ । तर, त्यसो हुन सकेन पार्टीमा व्यक्तिगत स्वार्थ भएका मान्छेहरूको बाहुल्यता छ । पार्टीमा योग्यताभन्दा को कसको मान्छे भनेर हेर्ने गरियो । यहि संस्कार रहेमा पार्टी उमो लाग्दैन । यस्ता कुरामा मेरो सधैँ विमति रहँदै आयो । भन्नेठाउँमा भन्यौँ सुन्नेले सुनेन ।

पार्टीभित्र चाकडी र चाप्लुसी गर्नेले प्रस्रय पाएको छ भन्न खोज्नुभएको हो ?
–पार्टीभित्र दौराको फेर समातेर भ¥याङ चढ्नेहरू प्रसस्त छन् । पार्टीको काम गरेर भन्दा नेताको पछिलागेर वैतर्नी तर्न खोज्नेहरूको कारण पार्टीले सोचे अनुसार काम गर्न नसकेको हो । नेपालीमा उखान भनिन्छ नि ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने । हो पार्टीमा पनि योग्यताभन्दा चाकडिले नेता भएकाहरूले केही गर्न सक्दैन् । मैले यसो भनिरहँदा पार्टीमा सबै खराब भन्ने होइन खराबको कारण असल पनि खराब बन्दैछन् भन्न खोजेको हो ।

तपाईं आफूलाई चाकडी गर्न नसकेको कारण कत्ति पछि परे भन्ने लाग्छ ?
–दुईदशक भयो राजनीति गर्न लागेको पार्टी कहिले कता कहिले कता भयो । म सधैँ राप्रपा नै रहे । खोटाङबाट दुईपटक संविधानसभा निर्वाचन लडे । माथिबाट कसैको सहयोग रहेन आफ्नै बुताले लडे । त्यहाँ मेरो आवश्यकता थियो र टिकट पाएँ । कहिलेकाहीँ लाग्छ पार्टी पार्टीजस्तो देखिएन भन्ने । तर, छोडेर कतै जान सकिँदैन ।

राप्रपा नेपालसँग हुनै लागेको पार्टी एकीकरण रोकिनुको कारण चाहिँ के हो । दुवै तिरबाट एकले अर्कोको कारण एकता भएन भनेको सुनिन्छ ?
–पार्टी एकीकरण निजी स्वार्थको कारण नभएको हो । सिद्धान्तको कारण एकता नभएको होइन । उतिबेला हामीले सूर्यबहादुरलाई भनेको थियौँ हिन्दू राज्यको बारेमा प्रष्ट हुन भनेर थापा बोल्न सकेनन् त्यहि विषयलाई कमल थापाले क्यास गरेर फाइदा लिए । अहिले आएर नीति सिद्धान्त सबै कुरा मिल्यो, पद नमिलेको कारण एकता भएन । सबैलाई अध्यक्ष चाहिने । हाम्रो भनाइ थियो निश्चित समयमा पार्टीको अधिवेशन गरौँ काम र कार्यक्रताको रोजाइमा अध्यक्ष बन्नु । तर, एकता हुनै लागेको पार्टी केही मान्छेलाई लगाएको दौरा नखोली पुनः मन्त्री बन्नुपर्ने, केहीलाई मन्त्री बनाउनुपर्ने अड्डीको कारण पार्टी एकता भाँडियो । यसमा दुवै तिरको कमजोरी छ । व्यक्तिलाई खुसी राख्न खोज्दा पार्टी धरापमा प¥यो ।

अब पार्टी एकता हुन सक्छ कि सक्दैन ? तपाईंको अध्यक्षले त हाम्रो ढोका खुला छ उता समस्या छ भन्छन् ?
–मैले बुझेअनुसार एकता प्रयास बन्द भएको होइन । केही स्वार्थी मान्छेको कारण एकता नभएको हो । पार्टीभित्र इमानदार मान्छेको बाहुल्यता हुने र स्वार्थीहरूलाई पाखा लगाएर जान सक्ने हो भने पार्टी एकता मात्र होइन राष्ट्रवादी प्रजातान्त्रिक शक्ति ठूलो बन्छ । पार्टी एकताका लागि पवित्र भावना भएका मान्छेको एउटा आयोग बनाउनु पर्छ । उनीहरूले दिएको सुझावअनुसार एकता गर्नुपर्छ । पार्टीमा त्यागको भावना भएका मान्छे नहँुदासम्म एकतामा समस्या आउँछ भन्ने लागेको छ । एकता गररे मात्र हुँदैन । २२÷२३ वर्षमा राप्रपा नामको पार्टी फुट्ने र जुट्ने काम धेरै भयो । तर, भावनात्मक एकता हुन सकेको छैन यो सबै स्वार्थको कारण भएको हो ।

तपाईंको अध्यक्षले अघिल्लो हप्ता पार्टी हिन्दू गणराज्यको पक्षमा रहेको बताए, यतिबेला यो सम्भव छ ?
–यो प्रश्न अध्यक्षलाइ नै सोध्नूस् । यस्तो मिल्दै नमिल्ने कुरा पनि बोल्ने हो ? उहाँले भनेको त्यो कुराको कुनै अर्थ छैन र सम्भव पनि छैन । गणराज्य मान्ने हो भने किन राप्रपा भन्ने ? सिधै माओवादी वा आफूलाई कम्युनिस्ट भने भई हाल्यो नि ।
त्यसो भए तपाईंको अध्यक्षसँग तपाईंको विचार मिल्दैन ?
–यो विषयमा मिल्दैन । अरू विषयमा मलाई केही भन्नु छैन यो विषयमा उहाँसँग मेरो कुरा मिल्दैन यस्ता विषयमा बोल्दा विचार गर्नुपर्छ । आफूले उठाएको कुराले पछिसम्म के अर्थ राख्छ सोचेर बोल्नुपर्छ । कसैलाई खुसी राख्न नभई टिक्ने कुरा गर्नु वेस हुन्छ ।
राजसंस्थाको विषयमा तपाईंको धारणा के हो ? केही त फेरि संवैधानिक राजसंस्था चाहिन्छ भन्छन् नि ?
–मेरो विचारमा राजाले राजा हुन जानेनन् । उनी अरूको कारण होइन आफ्नै कारण त्यहाँ पुगेका हुन् । घरको मुलीले आफ्नो भूमिका निभाउन जान्नुपर्छ । जतिबेला राजसंस्था अन्त्य भयो त्यतिबेला सीमित मान्छेको चाहनाले भएको हो । आमनेपालीको सुझाव वा जनमत संग्रहबाट राजसंस्था राख्ने वा नराख्ने निर्णय भएको होइन । केही नेता र पार्टीको निर्णयले भएको हो । जुनजुन पार्टीले राजसंस्था फाल्ने भने तिनै पार्टीभित्र राजावादी थिए र छन् । उनीहरूको विचार कहीँ कतै आएन । त्यस्तो बेला राजाले आँट गरेर भन्न सक्नुपथ्र्याे, मलाइ हटाउने भए जनमतसंग्रह गर भनेर । कुम्लो कुटुरो बोकेर लुरुक्क जानु हुँदैनथ्यो ।
फेरि कतै कतै उनको पक्षमा आवाज आएको छ नि ?
–अब खोलाबगेर धेरै पर पुगिसक्यो । त्यति सजिलै पुनरागमन हुने अवस्था म देख्दिनँ । यदि, मुलुकमा ठूलै परिवर्तन भए मात्र हो नत्र त्यो सम्भव छैन । मन्दिर मन्दिर गएर पूजा गर्दैमा र दुई÷चार जना रिझाउँदैमा राजसंस्था फर्कंदैन ।

संविधान कार्यान्वयनमा चुनौति कत्तिको देख्नुहुन्छ ?
–संविधान कार्यान्वयनमा धेरै अन्योलता छ । केही संशोधनको कुरा गरिरहेका छन् । तर, एक वा दुईलाइ चित्त नबुभ्mदैमा हतारमा संशोधन गर्नु हँुदैन । संशोधन गर्दा विज्ञहरूको सुझावको आधारमा छुटेको बुँदाहरू समेटेर गर्नुपर्छ । त्यो पनि एकैपटक । जसले जति बेला भन्यो उति बेला गरिनु हँुदैन । यदि यसो गरियो र सबै पार्टी इमानदार भए भने संविधान कार्यान्वयन हुन्छ ।
प्रस्तुतिः चमिना भट्टराई

प्रतिक्रिया