माटो परीक्षण प्रयोगशाला स्थापना

पर्वत, १७ असोज । समयसमयमा खेतबारीका माटोको उपचार नहुँदा उत्पादन घटेको कृषकको गुनासो आएपछि पर्वतमै माटो परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत आवश्यक उपकरण र जनशक्ति तयार गरेर जिल्लामै पहिलोपटक प्रयोगशाला स्थापना गरेको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

उनका अुनसार कार्यालयकै कृषि प्राविधिकलाई माटो परीक्षणसम्बन्धी तालिम दिएर दक्ष बनाइएको छ भने प्रयोगशालाका लागि झन्डै ५ लाख रुपैयाँ बराबरको उपकरणसमेत खरिद गरिएको छ ।

त्यसैगरी माटो परीक्षण गर्न उपयोग हुने रसायनसमेत खरिद गरिएको छ । सुरुमा कार्यालयकै भवनबाट परीक्षण सेवा सुरु गर्ने र भविष्यमा प्रयोगशालाका लागि छुट्टै भवन निर्माण गर्ने तयारी पनि भइरहेको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताए ।

प्रयोगशाला नहुँदा यसअघि पोखरामा रहेको क्षेत्रीय माटो प्रयोगशालाबाट प्राविधिक र विज्ञ बोलाएर विभिन्न गाउँमा शिविर सञ्चालन गर्नुपर्ने अवस्था थियो । अब भने जिल्लाका जुनसुकै क्षेत्रका कृषकले पनि सहज रूपमा कार्यालयमै आएर माटो परीक्षण गर्न पाउने भएका छन् ।

उनले बाहिरबाट प्राविधिक बोलाएर शिविर सञ्चालन गरेर माटो जाँच गर्दा पनि त्यति प्रभावकारी नभएकामा अब जिल्लामै प्रयोगशाला भएपछि कृषक बढी मात्रामा लाभान्वित हुने उल्लेख गरे ।

‘कम बजेटमा सबै कृषकलाई सेवा दिने उद्देश्यले जिल्लामै प्रयोगशाला स्थापना गरेका हौँ,’ कार्यालयका प्राविधिक रामकृष्ण अर्यालले भने, ‘सदरमुकामसम्म आउन असहज हुने गाविसका बासिन्दालाई स्थानीयस्तरमै पुगेर पनि सेवा दिन सक्नेछौँ ।’
वर्षको एकपटक नियमित रूपमा माटो परीक्षण गर्न सकेमा खेतबारीको उत्पादकत्वमा वृद्धि गर्न सकिने र माटोको उपचार पनि गर्न सकिने अर्यालले जानकारी दिए ।

प्रतिक्रिया