एभरेस्ट प्रिमियर लिग क्रिकेट : पञ्चकन्या र एक्स फ्याक्टर्सको जित

panchakanya-teez-won-eplकाठमाडौं, १४ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टर्सले जित हात पारेका छन् । बिहीबार भएको खेलमा पञ्चकन्याले सगरमाथा लिजेन्डलाई र कलर्सले कान्तिपुर गुर्खाजलाई पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टियू) मैदानमा भएको खेलमा पञ्चकन्याले सगरमाथालाई ४९ रनले पराजित ग¥यो । पञ्चकन्याले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याएको सगरमाथाले १७ दशमलव ४ ओभरमा अललाउट हुँदै १ सय ३६ रन मात्र बनाएपछि लिगमा हार जारी राख्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्चकन्याले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । पञ्चकन्याका लागि करण केसीले ३१ बलमा ५२ रन बनाए । कप्तान शरद भेषवाकरले ३२ बलमा ३० रन र सोनु तामाङले १२ बलमा १७ रन जोडे । पुथु बास्कोटाले २१ बलमा ३८ रन र कुशल भुर्तेलले ९ बलमा २२ रन बनाए । सगरमाथाका बिक्रम शोबले २ तथा चन्द्र साउद, महबुब आलम र राहुल विश्वकर्माले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको सगरमाथाका लागि महबुब आलमले १९ बलमा २३ रन र राहुल विश्वकर्माले १५ बलमा २२ रनको योगदान दिए । चन्द्र साउदले १५ बलमा २२ रन, दीलिप नाथले १७ बलमा १४ रन र सुनील धमलाले १६ बलमा १८ रन बनाए । पञ्चकन्याका सुशील कँडेल र शरद भेषावकरले ३–३ विकेट लिए । यस्तै आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, पुष्प थापा, कुशल भुर्तेलले १–१ विकेट लिए । इपिएल क्रिकेटमा पञ्चकन्याको यो लगातार चौथो जित हो । जितसँगै पञ्चकन्या ४ खेलबाट ८ अंक जोडेर लिगको शीर्ष स्थानमा रहेको छ । विशाल वारियर्स ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै टियू मैदानमा बिहीबार नै भएको अर्को खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गुर्खाजलाई १५ रनले हराएको हो । कलर्सले दिएको १ सय २५ रनको लक्ष्य कान्तिपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको कलर्सले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । कलर्सका योगेन्द्रसिंह कार्कीले २८ बलमा ३० बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा २० रन र अमर रौतेलाले १० बलमा १६ रन बनाए । कान्तिपुरको बलिङमा बसन्त रेग्मी र ललितसिंह भण्डारीले २–२ विकेट लिए । यस्तै ललित राजवंशी र आकाश विष्टले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको कान्तिपुरका लागि प्रदीप ऐरीले २४ बलमा सर्वाधिक ३१ रन बनाए । बसन्त रेग्मीले ३९ बलमा २५ रन र अन्तिम थापाले ३३ बलमा ३० रन बनाए । कलर्सका अभिनास कर्णले २ र अमर रौतेलाले ३ विकेट लिए । यस्तै योगेन्द्रसिंह कार्की र हरिशंकर शाहले १–१ विकेट लिए । कान्तिपुर गुर्खाजको यो लगातार तेस्रो हार हो । एभरेस्ट प्रिमियर लिग क्रिकेट इपिएलअन्तर्गत बिहीबार भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गुर्खाजलाई १५ रनले हराएको छ । कान्तिपुर गुर्खाजले लगातार तेस्रो खेल हारेको हो ।

प्रतिक्रिया