संसद्मा फेरि कोरम पुगेन

Samsad-Meeting-Biccकाठमाडौं, १३ असोज । संसद्को बैठकमा कोरम नपुगेपछि बुधबारको संसद् बैठक स्थगित भएको छ । बुधबार विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा गणपुरक संख्याको बारेमा प्रश्न उठेको थियो । सभामुख ओसनरी घर्तीले ३ मिनेट जनाउ घन्टी बजाउन निर्देशन दिएर सांसदहरूको सख्या गणना गर्दा पनि कोरम पुगेन । ५ सय ९५ संख्या रहेको संसद्मा जम्मा १ सय २५ सांसद मात्र उपस्थित थिए ।

संसद बैठक सञ्चालनका लागि कम्तिमा १ सय ४९ सांसद हुनुपर्ने प्रावधान छ । बैठक आधा घन्टाका लागि स्थगन भएको जानकारी सभामुखले गराएकी थिइन् । संसद्को बैठकमा कुनै पनि विषय निर्णयार्थ प्रस्तुत हुन कम्तीमा एक चौथाइ मत आवश्यक पर्ने प्रावधान छ ।

बुधबारको संसद् बैठकमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पेस गरेको ‘राष्ट्रिय दलित आयोग विधेयक, २०७३’, ‘राष्ट्रिय समावेशी आयोग विधेयक, २०७३’, ‘आदिवासी जानजाति आयोग विधेयक, २०७३’, माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । तीनै वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन् ।

संसदमा पेस भएका विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले संविधानको अन्तर्वस्तुमा रहेर सरकारले संवैधानिक आयोग गठन गर्न विधेयक ल्याएको भन्दै छलफलमा उठेका आवश्यक सुझावसहित परिमार्जन गर्न सकिने प्रष्ट पारे ।

प्रतिक्रिया