कांग्रेसमा पौडेल समूहको छुट्टै भेला

काठमाडौं, १० असोज । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल पार्टीको केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनबारे पार्टीको आधिकारिक धारणा तय गर्न भन्दै पौडेल पक्षले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको हो ।

आइतबार अनामनगरमा पौडेल पक्षका नेताहरूको छुट्टै बैठक बसेको थियो । बैठकमा सहभागी केही पदाधिकारी र केन्द्रीय सदस्यहरूले संविधान संशोधनको बहस चलिरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा मौन बसेको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकमा सहभागी नेता जीवन परियारले संविधान संशोधन, स्थानीय संरचना र सरकार सञ्चालनमा पार्टीको धारणा बनाउन केन्द्रीय समिति बैठक बोलाउनुपर्ने बताए ।

यसैगरी नेता बलबहादुर केसीले संविधान संशोधनबारे पार्टीलाई आधिकारिक कुनै जानकारी नभएकाले त्यसबारे पार्टीको धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्ने निष्कर्ष निकालेको बताए । स्थानीय निकायको पुनर्संरचनाबारे शीर्ष नेताहरूको धारणा नै फरकफरक आउँदा कार्यकर्ताहरूमा अन्योल सिर्जना भएकाले पार्टीको आधिकारिक धारणा बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा नेता पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष एवं शान्तिमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा.रामशरण महत, पूर्वप्रवक्ता दीलेन्द्रप्रसाद बडु, आनन्दप्रसाद ढुंगाना, डा.मीनेन्द्र रिजाल, महेश आचार्यलगायत नेताहरूको उपस्थित थियो ।

बैठकमा आसन्न तरुण दलको महाधिवेशन र पार्टीबाट प्रतिनिधित्व हुने राज्यमन्त्रीको छनोटलगायत विषयमा समेत छलफल भएको थियो । बैठकमा सहभागी अधिकांशले तरुण दलको महाधिवेशनको एक हप्ताअघि नै सबै प्रतिनिधि टुंगो लगाएर मात्र गर्नुपर्ने धारणा राखेका थिए । अन्यथा नेविसंघ र नेपाल महिला संघको महाधिवेशनमा जस्तै विवाद हुने उनीहरूको भनाइ थियो ।

प्रतिक्रिया