कांग्रेसलाई ओलीको कटाक्ष : अघाएको बाघजस्तो किन ?

oliकाठमाडौं, १० असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनता र स्वाभीमानमाथि आएको संकटमा कांग्रेस चुप लागेकोप्रति आश्चर्य व्यक्त गरेका छन् । सिकार खाएपछि बाघले खुट्टा पसारेर सुत्ने गरेको उदाहरण दिँदै ओलीले भने, ‘कांग्रेसले के सिकार पायो कुन्नी राष्ट्रको स्वाधीनता र स्वाभीमानमा यत्रो संकट आउँदा केही बोल्दैन, खुट्टा पसारेर सुतेको छ ।’

पत्रकार गोपाल खनालद्वारा लिखित पुस्तक भूराजनीतिको विमोचन समारोहलाई सम्बोधन गर्दै ओलीले कांग्रेस सहभागी सरकारले राष्ट्रिय स्वाधीनता र हित विपरीत गरेका काममा कांग्रेसको मौनताप्रति प्रश्न उठाएका हुन् । ०१६ सालमा नेपालको संसद्मार्फत कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले नेपालको स्वाधीनता ख्याल गर्न भारतीय संसद्लाई सचेत गराएको स्मरण गर्दै ओलीले कांग्रेससँग बिपीको नाम मात्रै वा नीति पनि रहेको भनी प्रश्न उठाए ।

‘अघि रामशरण महतजीले १६ सालमा भारतीय संसद्मा जवहारलाल नेहरूलाई बिपीले पठाएको जवाफका विषयमा राम्रो चर्चा गर्नुभो, नेपाललाई आफ्नो सुरक्षा छाताभित्र राख्ने नेहरूलाई त्यस्तो जवाफ दिने कांग्रेस अहिले त्यस्तै स्थितिमा किन सुतिहरेको छ ?’ ओलीले प्रश्न गरे, ‘हो कांग्रेससँग बिपीको नाम छ, के नीति पनि छ ?’ बिपीको नीति पनि बोकेको भए कांग्रेसले व्यवहारबाट जनतालाई जवाफ दिनुपर्ने बताए । ‘राष्ट्रको स्वाधीनतामाथि आएको यस्तो संकटमा कांग्रेसले बिपीको नीति पनि बोकेको भए व्यवहारबाट जवाफ दिनुप¥यो’ ओलीले भने, ‘यतिबेला जनता यस प्रश्नको जवाफ खोजिरहेका छन् ।’

ओलीले सरकारका प्रवक्ताले चीनको सीमानातर्फ बाटो खोले वातावरण बिग्रन्छ भनी दिएको अभिव्यक्तिमा कांग्रेसको मौनताप्रति पनि ओलीले प्रश्न उठाए । ‘उत्तरतर्फ बाटो बनाए वातावरण बिग्रन्छ भन्ने ‘वातावरणविद’को नयाँ कुरा आएको छ । कांग्रेस र सरकारमा रहेका दलसँग एनी कमेन्ट ?’ ओलीले प्रश्न गरे, ‘कस्तो वातावरण बिग्रन्छ भनेको हो ? राजनीतिक वातावरण हो कि ?’

आफू नेतृत्वको सरकारले सार्वभौमिक समानता र पारस्परिक लाभको सिद्धान्तलाई छिमेकी देशसँगको सन्तुलित नीति मानेर अन्तर्राष्ट्रिय रूपमा स्थापित अधिकारकै रूपमा उत्तरी छिमेकीसँग पनि पारवहन सन्धी गरेको बताउँदै ओलीले त्यसलाई असन्तुलित र एक छिमेकीप्रतिको मात्रै निर्भरतालाई सन्तुलित भनी परिभाषा गर्नेहरूप्रति पनि कटाक्ष गरे । ‘एउटा छिमेकीसँग मात्रै सम्बन्ध राखे सन्तुलित, दुबै छिमेकीसँग आफ्नो हित अनुरूप अन्तर्राष्ट्रिय अधिकार अनुरूपका सम्झौता गरे असन्तुलित । सन्तुलन र असन्तुलनको कस्तो डिक्सनेरी बनाएर काम चलाउनु भएको हो ?’ ओलीले भने, ‘अघिल्लो सरकारले आवेश, उत्तेजनामा आएर उत्ताउलिएर होइन, सोचीबिचारी उत्तरतिरबाट पनि पारवहन सम्झौता गरेको हो ।’ उनले आवेशमा गरिएका काम क्षणिक हुने तर, सोची बिचारी गरिएका काम दीर्घकालीन हुने पनि दृष्टान्त दिए ।

उत्तरी छिमेकीसँग गरेको पारवहन कुनै देशविरुद्ध नभएको बताउँदै ओलीले आफ्नै देशको हितको पक्षमा गरिएको बताए । ‘रिसाउने र रिझाउने दुबै काम आवश्यक छैन, सार्वभौम समानता र पारस्परिक लाभको सिद्धान्तका आधारमा चीनसँग पनि पारवहन सन्धी गरिएको हो, कसैका विरुद्ध होइन’ ओलीले भने, ‘हामी न कसैलाई रिसाउन चाहन्छौँ न कसैलाई रिझाउन ।’ आफ्नो सरकारले कायम गरेको सुदृढ विदेशनीतिमाथि अहिले केही बादल मडारिएको भन्दै ओलीले विस्तारै सबै कुरा जनताले छर्लंग बुझ्ने पनि बताए ।

प्रतिक्रिया