प्रधानमन्त्रीलाई ओलीको प्रश्न : भारत गएर एमालेको विरोध किन ?

uml_leadersकाठमाडौं, ६ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा गएर एमालेविरुद्ध नकारात्मक प्रचार गरेको भन्दै चर्को आलोचना गरेका छन् ।

बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको सुरुमा बोल्दै ओलीले भने, ‘एमाले सिमलको भुवाजस्तोे फुर्र उडाउने शक्ति होइन, संघर्षको इतिहास बोकेको शक्ति हो । हाम्रा विरुद्धका सबै भ्रम चिर्ने अभियान लिएर जनस्तरमा जानुपर्छ ।’

ओलीले प्रधानमन्त्री दाहालले देशभित्रका पार्टी र अर्को छिमेकीको विरोधमा भारतमा गएर टीका टिप्पणी गरिएको भन्दै चर्को आलोचना गरे । उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कूटनीतिक मर्यादा र हैसियत कमजोर भएकाले त्यसमा आफूहरूको गम्भीर असहमति रहेको उल्लेख गरे ।

ओलीले भने, ‘देशभित्र कुन पार्टी र नेता भारतको विपक्षमा फलनाफलना छन् भनेर नामै तोकेर भारतमा टिप्पणी गरिनु भूmठ, अपरिपक्व र अशोभनीय काम हो । अर्को छिमेकी चीनको विरोधमा पनि टिप्पणी भएको पाइएको छ, त्यो सर्वथा देशविरुद्ध छ ।’ नेपालको आन्तरिक मामलामा अनावश्यक बाह्य चासो निम्त्याइएको र सबै अन्तर्राष्ट्रिय संघसंस्था एवं मञ्चमा भारतसँग निकट समन्वय गर्ने तथा प्रमुख अन्तर्राष्ट्रिय मामलामा भारतसँग समान धारणा राख्ने भन्ने प्रावधान संयुक्त वक्तव्यमा उल्लेख गरेर नेपालको स्वतन्त्र विदेश नीतिलाई परास्रित गराइएको भन्दै एमालेले असहमति प्रकट गरेको हो ।

प्रधानमन्त्री दाहाललाई भारत जानुपूर्व आफूहरूले भेटेर लिखित ध्यानाकर्षण गराई देशको स्वाभिमानमा धक्का लाग्ने काम नहोस् र फर्केपछि स्वागत गर्न पाऊँ भनेर शुभकामना दिए पनि उनी फर्केपछि विरोध गर्नुपर्ने अवस्था आएको अध्यक्ष ओलीले बताएका छन् । नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा सम्बन्ध विकसित गर्दै आएकामा भारत भ्रमणबाट त्यसको उल्लंघन भएको जनाउँदै उनले चीनसँग आफ्नो सरकारले गरेको सम्झौता कार्यान्वयनमा सरकारले चासो नदिएको, नयाँ सरकार गठनलगत्तै अनावश्यक र नाटकीय रूपमा विशेष दूत पठाएको भनी आलोचना गरे ।

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारका पालना ल्याइएको ३ तहको निर्वाचन कार्यतालिका वर्तमान सरकारले प्रभावित पार्न खोजेको, एमालेलाई तराई–मधेस विरोधी भनाउन खोजिएको, पुनर्निर्माणको काम प्रभावकारी नभएको जस्ता विषय समीक्षा गरी पार्टी संगठनलाई प्रदेशस्तरमा परिचालन गर्न देशव्यापी अभियान सञ्चालनबारे बैठकले निर्णय गर्ने बताए । ३ दिन चल्ने भनिएको बैठकमा बुधबार अध्यक्ष ओलीको लिखित प्रतिवेदन प्रस्तुत भई अध्ययनका लागि समय दिइनेछ भने सोमाथि समूहगत आधारमा छलफल हुनेछ ।

प्रतिक्रिया