सबै जिल्लामा उद्धार केन्द्र : गृहमन्त्री

shakti basnet copyकाठमाडौं, १२ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले आगामी बजेटमा सबै जिल्लामा आपत्कालीन उद्धार केन्द्र खोल्न आवश्यक बजेटको व्यवस्था गर्न लागिएको बताएका छन् ।

‘अक्सफाम नेपाल’ले बुधबार आयोजना गरेको ‘आपत्कालीन खानेपानी, सरसफाइ तथा प्रतिकार्य सामग्री हस्तान्तरण’ कार्यक्रममा गृहमन्त्री बस्नेतले सातै प्रदेशमा विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणसहितको व्यवस्थित कार्यालयसमेत खोलिने बताए ।

आकस्मिक रूपमा आउने प्राकृतिक विपद्का घटनाबाट पाठ सिक्दै पूर्वतयारीलाई व्यवस्थित र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको उनको भनाइ छ । डिएफआइडीको सहयोगमा अक्सफाम र यसका साझेदार संस्था इन्फो र लुमन्तीद्वारा त्रिभुवन विश्वविद्यालयको हाता कीर्तिपुर, राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क), खुमल्टार र कीर्तिपुर नगरपालिका– ६ स्थित दिखुमा जडान गरिएका आपत्कालीन खानेपानी प्रणाली र आपत्कालीन प्रतिकार्य सामग्री सम्बन्धित निकायलाई गृहमन्त्री बस्नेतले हस्तान्तरण गरे ।

खानेपानी प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड, त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय कृषि अनुसन्धान परिषद्लाई हस्तान्तरण गरिएको थियो भने आपत्कालीन प्रतिकार्य सामग्री अक्सफामको स्थानीय साझेदार एन्फो र लुमन्तीलाई हस्तान्तरण गरियो । आपत्कालीन खानेपानी प्रणालीअन्तर्गत डिप बोरिङ, ट्रिटमेन्ट प्लान्ट, सेडिमेन्ट ट्यांकी, जेनेरेटर र ५० हजार लिटरको पानी भण्डारण ट्यांकी रहेका छन् भने आपत्कालीन प्रतिकार्य सामग्रीमा सरसफाइ सामग्री, गैरखाद्य सामग्री तथा अस्थायी आवासका सामग्री रहेका छन् ।

त्रिविलाई नै हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत १ करोड ७६ लाख १२ हजार र विश्वविद्यालयमा भण्डारण गरी लुमन्तीलाई हस्तान्तरण गरिएको आपत्कालीन प्रतिकार्य सामग्रीको लागत २ करोड ७३ लाख ७० हजार रहेको छ । नार्कलाई हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत १ करोड ४५ लाख ४६ हजार, नार्कमा जडान गरी एन्फोलाई हस्तान्तरण गरिएको आपत्कालीन प्रतिकार्य सामग्री भण्डारणको लागत १ करोड ५० लाख ३६ हजार १ सय र काठमाडौं उपत्यका खानेपानीलाई हस्तान्तरण गरिएको खानेपानी प्रणालीको लागत ६६ लाख ८० हजार ७ सय रहेको छ ।

सो अवसरमा डिएफआइडी नेपाल प्रमुख गेल मार्जेटी र अक्सफाम नेपाल देशीय निर्देशक सेशिलिया केइजरले विपद्पछि र पूर्वतयारीका लागि पर्याप्त गृहकार्य गर्नुको विकल्प नरहेको भन्दै नागरिक समाज, संघसंस्था र सरकार मिलेर यसमा जुट्नुपर्ने धारणा राखे ।

अक्सफामका कार्यक्रम निर्देशक विमल गडालले सन् २०१२ देखि संस्थाले विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील रहेको जानकारी दिँदै समुदायलाई हस्तान्तरण गरिएका संरचना र सामग्रीको रेखदेख र उपयोग उचित रूपमा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया