नेपाली उत्पादनलाई विश्वबजारमा चिनाउनु छ

krishna prasad lamichhane_2 copyपर्यटकीय नगरी पोखरामा सानो कम्प्युटर पसलबाट व्यवसायमा हात हालेका कृष्णप्रसाद लामिछाने समाजसेवामा उत्तिकै रुचि राख्छन् । कास्कीको सामुदायिक वन उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको सचिव, त्यसपछि जिल्ला अध्यक्ष, पश्चिमाञ्चलको क्षेत्रीय अध्यक्ष हुँदै सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय सदस्यसमेत भएका लामिछाने नेपालमा हुँदा कन्सल्ट्यान्सी व्यवसायलगायत सहकारीमासमेत संलग्न थिए । लामिछाने विगत ५ वर्षदेखि सपनाको संसार भनिने मुलुक अमेरिकामा बस्दै आएका छन् । यतिबेला उनी ‘नेपाल आमाप्रतिको अभिभारालाई जहाँ बसे पनि पूरा गर्छु’ भन्ने अठोटका साथ उनले नेपाली उत्पादनलाई अमेरिकी बजारमा स्थापित गराउने र संसारभर नेपाललाई चिनाउने अभियानमा लागेका छन् । उनको व्यावसायिक समूहले अमेरिकामा कन्सल्ट्यान्ट कम्पनी दर्ता गरी त्यसैको माध्यमबाट ‘नेपाल एक्जिभिसन एन्ड इन्टरनेसनल ट्रेड सो’ को आयोजना गर्दैछ । यसै सेरोफेरोमा वल्र्ड बिजनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्ट एलएलसीका बोर्ड अफ डिरेक्टरसमेत रहेका लामिछानेसँग कृष्णप्रसाद मरासिनीले गरेको कुराकानीको सम्पादित अंश ।

निकै व्यस्त देखिनुहुन्छ, अहिले के गर्दै हुनुहुन्छ ?
अहिले हामीहरू आगामी ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म अमेरिकाको न्युयोर्कस्थित म्यानहटन सहरमा व्यापारिक मेला आयोजना गर्न गइरहेका छौँ । विशेषगरी नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउनुपर्छ भन्ने मान्यताका साथ आयोजना गर्न लागिएको व्यापार मेलाको लागि विगत केही दिनदेखि म नेपालमा रहेको कार्यालयमा व्यस्त छु । स्टल बुक गर्ने व्यवसायीहरूको निकै चाप बढेको छ । उहाँहरूको खुलदुली मेटाउनमै व्यस्त छु ।

यहाँबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
नेपाल उद्योग वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, हस्तकला व्यवसायीहरूको संगठन र नेपाल पर्यटन व्यवसायीको छाता संगठन नाटा, नेसनल मिडिया, उद्योग मन्त्रालयका सबैसँग विभिन्न चरणमा छलफलहरू भइराखेका छन् । यसभन्दा अगाडि हामीले सबैका प्रतिनिधिलाई अमेरिकाबाट टेलिटक अन्तत्र्रिmया कार्यक्रम गरेका थियौँ । त्यसमा सबै सरोकारपक्ष सकारात्मक देखियो जसले गर्दा हामीलाई थप ऊर्जा प्रदान गरेको थियो ।

कस्ता वस्तुको प्रदर्शनी गर्न लाग्नुभएको हो ?
नेपाली कला संस्कृतिको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू जस्तै सल, पस्मिना, हेन्डमेड झोला, टेक्सटायल, नेपाली छालाका उत्पादन, खुकुरी, ढाकाटोपी, भादगाउँले टोपी, हेन्डिक्र्याफ्टलगायत अन्य नेपालमा सुरुआत गरेका तर फस्टाउन नसकेका उत्पादनलाई हामीले एक्जिभिसनमा राख्ने सोच बनाएका छौँ ।

एक्जिभिसन नै गर्ने अवधारणा कसरी पलायो ?
यो मेरो एक्लो प्रयास होइन । यसमा मलगायत हाम्रो अध्यक्ष बुद्धिप्रसाद रेग्मी, यस कार्यक्रमको प्रमोसनल डाइरेक्टर टेकराज पौडेललगायत साथीहरूको टिमले निर्णय गरेको हो । हाम्रो समूहको निर्णयलाई विभिन्न व्यापारी संघसंस्था र व्यक्तित्वहरूले सकारात्मक रूपमा लिएर अगाडि बढ्न सुझाव तथा सहयोग गर्नुभएकैले यो सबै संभव भएको हो ।

अमेरिकाको न्युयोर्क सहरलाई नै किन रोज्नुभयो ?
अन्यत्र पनि गर्न सकिन्थ्यो । तर, न्युयोर्क विश्वको व्यापारिक राजधानी हो । नयाँ अवसर र अवधारणाको विकास गर्ने थलोका रूपमा न्युयोर्क सबैभन्दा उत्तम विकल्प हुने भएकोले त्यसलाई हामीले छानेका हौँ ।

तपार्इंलाई के कुराले उत्प्रेरणा मिल्यो ?
म नेपालमा रहँदा पनि विभिन्न सोसियल मुभमेन्टमा सहभागी भइरहन्थे । त्यही भएर होला अमेरिका पुगेपछि पनि आफ्नो भेटघाट र सम्पर्क त्यस्तै मानिसहरूसँग हुन गयो । अमेरिकामा बसेर सामाजिक काममा के–कस्ता कठिनाई रहेछन् बुझ्दै जाने क्रममा त्यहाँको कानुनी प्रक्रियाबारे पनि बुझ्दै गयौँ । सुरुमा सहकारी खोल्ने योजना बनाएका थियौँ तर अमेरिकामा त्यो खोल्न नपाइदो रहेछ । त्यो थाहा पाएपछि एकैदिन हामीले अमेरिकामा रहेका नेपालीसँग मिलेर २ वटा लाइन्स क्लब दर्ता ग¥यौँ । त्यसैको माध्यमबाट त्यहाँका प्रोपर अमेरिकनसँग नजिकिने, उनीहरूका कुरा सुन्ने र आफ्ना कुराहरू भन्ने मौका मिल्यो । नेपालको अहिलेको परिस्थिति र अमेरिकी सरकारले पछिल्लो समय नेपालप्रति लिएको नीतिले पनि हामीलाई प्रेरित ग¥यो ।

अमेरिकाको भ्रमणमा रहेका तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग छलफल गरेका थियौँ । हाम्रो मनसाय देखेर उहाँ निकै उत्साहित हुनुभएको थियो । त्यसपछि शंकर पोखरेल अमेरिकामा हुँदा उहाँसँग पनि यस विषयमा कुरा भएको थियो । नेपाल सरकारका वर्तमान पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेलले पनि सकारात्मक प्रतिक्रिया देखाउनु भएपछि अझ हामी हौसिएका हौँ ।

अमेरिकामा चाहिँ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
नेपालबारे सबै उनीहरूले थाहा पाएका हुँदैनन् । जतिले बुझेका छन् तिनीहरूले हामीलाई सगरमाथाको देश अथवा बुद्ध जन्मिएको देश भनेर चिन्ने गर्दछन् । हाम्रो देश सानो भए पनि उनीहरूले हामीलाई हेर्ने नजर फरक छ । न्युयोर्कको महावाणिज्य दूतावासका प्रतिनिधिसँग पनि बस्यौँ, उहाँहरूको सकारात्मक प्रतिक्रियापछि स्थानीय संघसंस्था र पत्रकारहरूसँग अन्तर्क्रिया ग¥यौँ । नेपालको तर्पmबाट अमेरिकी राजदूत अर्जुनबहादुर कार्कीसहित नेपालका लागि अवैतनिक राजदूत र विभिन्न स्टेटका सिनेटरहरूसँगको छलफलमा उहाँहरूले नेपालको प्रतिष्ठासँग पनि गासिएको विषय भएकोले सकारात्मक रूपले अगाडि बढ्न सुझाव दिनुभएको थियो ।

खर्च कति लाग्छ ? कसरी व्यवस्थापन गरिरहनुभएको छ ?
मेलाको लागि १० लाख डलर लाग्ने अनुमान गरेका छौँ । त्यसको सबै खर्च कम्पनीका सदस्य अथवा कम्पनीले बेहोर्ने गरी स्टिमेट गरिएको छ । अहिलेको हिसाबमा ३ सय २३ वटा स्टल हुन्छन् । स्टल बनाउन चाहिने हल ५ दिनको लागि ९० हजार डलरमा बुकिङ गरिएको छ । डेकोरेसनको लागि २ लाख ४ हजार डलरमा एग्रिमेन्ट भएको छ । इन्स्योरेन्स गर्नुपर्ने, सेक्युरिटीको लागि, नेपाल र अमेरिकाका विभिन्न ठाउँमा अहिलेको लागि अमेरीकामा र नेपालमा अफिस सञ्चालनसहित सबै रकम जोडदा १० लाख डलर पुग्ने हाम्रो पूर्वानुमान हो ।

अनलाइनमार्फत हाम्रो वेबसाइटमा गएर स्टल बुकिङ गर्न सकिन्छ अथवा हामीले सजिलो होस् भनेर काठमाडौं र अमेरिकाको न्युयोर्कमा अफिस राखेका छौँ । त्यहाँ गएर पनि गर्न सकिन्छ । बुकिङको लागि आवेदनहरू आइरहेका छन् ।

सहभागीहरूबाट पनि त रकम उठाउनु हुन्छ होला नि ?
प्रवेश सबैलाई निःशुल्क हो । स्टल राख्न चाहनेको लागि ३ किसिमका साइज अनुसारको रकम लिने निर्णय गरेका छौँ । पहिलो १०÷१० को स्टलको लागि सबै गरेर ७ हजार ४ सय ९९ डलर तिर्नुपर्ने हुन्छ । त्यसमा स्टलको लागि ४ हजार ९ सय ९९ डलर, २ जनाको अप डाउन टिकेट, ५ नाइटको होटेलको बसाइँ र ५ दिनको लागि ब्रेकफास्ट पनि पर्दछ । त्यस्तै १०÷२० को स्टलको लागि १० हजार ४ सय ९९ डलर त्यसमा २ जनाको ठाउँमा ३ जनालाई आउने जाने र अन्य सबै सुविधा रहेको हुन्छ । र, १०÷३० को लागि १४ हजार ९९ डलर रहेको छ । त्यसमा ४ जनालाई उक्त सुविधा उपलब्ध रहेको छ । तर, स्टलबाहेकको सुबिधा स्वेच्छिक हो । लिन नचाहानेले नलिन पनि पाउँछ । नलिएको सुविधाको रकम तिर्नुपर्दैन ।

भिसाको लागि कसरी कुरा अगाडि बढाइरहनु भएको छ ?
मेलामा सहभागी हुने सबै कम्पनीका प्रतिनिधिहरूको भिसा लाग्ने सम्भावना छ । यो कार्यक्रमबारे नेपालस्थित अमेरीकी दुतावासमा पहिल्यै जानाकारी गराइसकेका छौँ । सही कम्पनी, सही कागजपत्र, सही कम्पनी प्रतिनिधि र सही उत्पादनलाई हामीले छनोट गरी दर्ता गराउने हुँदा भिसा नलाग्ने भन्ने कुरै हुँदैन । तैपनि, भिसा दिने नदिने भन्ने अधिकार अमेरीकी राजदूतावासलाई मात्र अधिकार हुन्छ ।

यसअघि हुने यस्ता मेलामा नेपालीहरू जाने तर उही लुकेर बस्ने गरेका उदाहरण छन् नि ?
पक्कै पनि यस्ता घटना यदाकदा पहिले पनि हुने गरेका थिए । त्यस्तो नहोस् भनेर हामी पूर्णरूपमा सचेत छौँ । स्टल बुकिङ गर्ने र भिसाको लागि आउने कम्पनी अथवा उद्योगलाई हामीले केही मापदण्डहरू बनाएका छौँ । बुकिङको लागि आउने कम्पनी अथवा उद्योगले दर्ता भएर काम सुरु गरेको कम्तीमा २ वर्ष भएको हुनुपर्ने, कम्तीमा ३ देखी ५ मजदुर भएको कम्पनी हुनुपर्ने, नेपाललाई नियमित राजस्व र अन्य बुझाउनुपर्ने कर सबै बुझाएको, नियमित कारोबार भएको, कारोबार बैंकमार्पmत पारदर्शी ढंगले भएको र मेलामा सहभागी हुने मानिस पनि सम्बन्धित विषयमा जानकार हुनुपर्ने नियम बनाएका छौँ । त्यसैको आधारमा जाने कम्पनीसँग हाम्रो सम्झौता हुन्छ । त्यसपछि रजिस्ट्रेसनको लागि हामीले २ सय ९९ डलर लिन्छौँ । त्यो फिर्ता हुँदैन । तर, भिसा नलागेको खन्डमा रजिस्ट्रेसन दस्तुर २ सय ९९ डलरबाहेक अरू सबै फिर्ता हुन्छ । फ्रड डकुमेन्ट (झुठो कागजात) बनाएर जान खोज्नेलाई भिसा दिइदैन । हामीले पनि तिनीहरूको लागि सिफारिस गर्न मिल्दैन । भिसा पाएर अमेरिका पुगेपछि जुन कामको लागि जाने हो त्यो काम पूरा भएपछि अमेरिकी अध्यागमन कार्यालयले दिएको भिसा अवधिभित्रमा नेपाल फर्किसक्नु पर्नेछ ।

यहाँबाट लगेका सामान फिर्ता ल्याउन गाह्रो हुन्छ, केही व्यवस्था छ कि ?
त्यसको अहिलेसम्म कुनै पनि आधिकारिक निर्णय भएको छैन । तर, ती कम्पनीलाई यहाँको मूल्यमा रकम दिएर सामान उही कम्पनीले खरिद गरिदिने जसले गर्दा मेला सकिएपछि बिक्री भएर बाँकी रहेको सामान फिर्ता लिएर आउने झन्झट हुँदैन । यो हाम्रो सोच मात्रै हो । त्यसमा हामी छिट्टै नै निर्णयमा पुग्नेछौँ ।

नेपाली उत्पादन मात्रै कि बाहिरको सामान पनि हुन्छन् ?
मुख्यतः यो नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन आयोजना गरिएको हो । नेपाली बस्तुको बजारलाई विस्तार गर्ने उद्देश्य भएता पनि अन्य देशको उत्पादन पनि त्यसमा रहनेछन् । अहिलेसम्म नेपाली उत्पादन ७० प्रतिशतको हाराहारीमा र अन्य देशको उत्पादन ३० प्रतिशत रहनेछन् । यसले नेपालीमा उद्यमशीलता विकास गर्नमा मद्दत पुग्दछ साथै नेपाली उत्पादनको गुणस्तरमा पनि वृद्धि हुँदै जान्छ ।

मेला सफल हुनेमा विश्वस्त हुनुहुन्छ ?
लङटर्म बिजनेसको लागि मेलाको आयोजना गरिएको हो । हामीले २० देखि ३० लाख मानिसले मेलाको अवलोकन गर्ने अनुमान गरेका छौँ । मेलामा सामान बिक्री गर्ने मात्रै उद्देश्य नराखेर अमेरिकी सरकारले जुन ६६ वटा नेपालमा उत्पादित बस्तुहरूलाई भन्सार छुट दिने निर्णय गरेको छ त्यसैको माध्यमबाट अमेरिकनहरूलाई नेपाली उत्पादन प्रयोग गर्ने बानी पार्नुपर्नेछ । यसलाई वार्षिक रूपमै निरन्तर सञ्चालन गर्ने योजनामा छौँ । मेला पूर्णरूपले सफल हुन्छ ।

यो सबै उद्योगी व्यवसायीको लागि राम्रो अवसर हो । त्यही मौकालाई उपयोग गर्दै नेपालको प्रतिष्ठालाई विश्वमाझ पु¥याउनु छ । मेलालाई सफल बनाउने हामी सबैको दायित्व हो । यो हामी नेपालीले नेपालको लागि गर्न लागेको चुनौतीपूर्ण अनि साहसी कार्यमा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली र संघ–संस्थाबाट पूर्ण सहयोगको अपेक्षा गर्दछौँ ।

त्यसपछिको लक्ष्य के छ ?
नेपाली नागरिक र अमेरिकी नागरिक तथा लगानी कर्तासँग जनस्तरमा सम्बन्ध विस्तार गर्ने उद्देश्यले यो सफल भएपछि बिटुबी कार्यक्रम गर्ने सोचमा छौँ । बिटुबी भन्नाले बिजनेस टु बिजनेस कार्यक्रम हो । यसअन्तर्गत अमेरिका तथा नेपालको उत्पादनलाई नेपालमै प्रदर्शनको आयोजना गर्ने र संसारका अन्य देशहरूमा पनि यी कार्यक्रमहरू आयोजना गर्ने योजनामा छौँ ।

प्रतिक्रिया