हङकङमा सञ्जयको चित्रकला

haong kong  kalaकाठमाडौं, ४ जेठ । युवाकलाकार सञ्जय वान्तवाको १ महिने एकल कला प्रदर्शनी हङकङको सांघाइस्थित स्पेस आर्ट ग्यालरीमा भइरहेको छ । हङकङस्थित कम्युनिटी कल्चर केन्द्रको आयोजनामा १२ वैशाखदेखि सुरु प्रदर्शनीमा वान्तवाका २५ कलाकृति राखिएका छन् ।

घोडा र नारी बिम्बित अर्धमूर्त चित्रमा उनले आफ्नो परिवेशलाईसमेत कलात्मक रूपमा उतारेका छन् । मानव जीवन जति संघर्षशील छ त्योभन्दा बढी आफ्नो जीवनमा संघर्ष गर्नुपरेको सामाजिक परिघटनालाई उनले चित्रसँग जोडेका छन् । नारीलाई भने उनले कोमल हृदयको खानी र सौन्दर्यको प्रतीकको रूपमा उतारेको बताए ।

चित्रमा आलिंगनमा मस्त जोडीलाई देखाएर उनले प्रेमिल सम्बन्धका विषयलाई पनि जोडन भ्याएका छन् । भर्खरै हङकङको कला प्रदर्शनीमा सहभागी भएर काठमाडौं फर्किएका वान्तावाले आफ्ना कलाबारे प्रष्ट्याउँदै भने, ‘जति पनि समाजका हर्ष, निराश, प्रेम, सौन्दर्य र संघर्षशील जीवनको पाटोलाई मैले बिम्बात्मक रूपमा अभिव्यक्त गर्न खोजेको छु ।’ उनका कलामा प्रेम मात्रै नभई हर्ष र उमंगका साथै पीडा, वेदना र दुःखका कथा पनि समावेश भएका छन् ।

उनका कलामा उनका संघर्ष पनि झलिक्न्छन् । उनी शारिरीक रूपमा अशक्त वान्तावाका चित्रमा पीडा र वेदनाका कथा भए पनि तिनमा जीवनप्रतिको आशावादिता भने प्रचुर मात्रामा रहेको पाइन्छ । प्रदर्शनीमा बिक्री भएका कलाकृतिको केही प्रतिशत रकम गत १२ वैशाखको भूकम्प प्रभावितलाई सहयोग गर्ने उद्देश्य रहेको उनले जनाए ।

प्रतिक्रिया