धरानमा ब्युँतियो रंगमञ्च

natak-Aramva-Daman-ko-Raap-सुनसरी, ३ जेठ । सुनसरीको धरानमा रहेको पुरानो नाट्य समुह ‘आरम्भ नाट्य डबली’ १६ वर्षपछि ब्युँतिएको छ । सुनसरीमै एक पत्रकार सम्मेलन गरेर उक्त रंगसंस्था आरम्भले धरानमा नियमित नाट्य गतिविधि गर्ने जनाएको छ ।

आरम्भका संस्थापक अध्यक्ष गोपाल देवानले नियमित र बेजोड प्रस्तुतिको संकल्प लिएर आगामी योजनाहरूसहित संस्थाको पुनरागमन भएको जानकारी दिएका छन् । उनले भारतीय रंगकर्मी तथा निर्देशक एमके रैनाले ३ दशकअगाडि सारेको विचारलाई आत्मसाथ गर्दै संस्था फर्किएको जानकारी दिएका छन् । रैनाले, ‘थियटर कहिले मर्दैन, मानिसहरू फिल्म र टिभीमा केही समय आकर्षित भए पनि अन्ततः कृत्रिम अभिनयबाट वाक्क भएर वास्तविक अभिनय हेर्ने लालसाले थियटरमै फर्किनेछन्’ भनेका थिए ।

विश्वभरि थियटरको पुनरागमन हुने गरेको चर्चा गर्दै उनले धरानमा पनि आरम्भले पुनरागमनलाई सार्थक तुल्याउने तयारी गरिरहेको बताए । विगतमा धरानको रंगकर्म देशकै अब्बल दर्जाको मानिन्थ्यो । विविध कारणवश सेलाएको रंगकर्मलाई फेरि एकपटक ब्युँताएर राष्ट्रिय स्तरमा धरानलाई रंगकर्मीहरूको सहरको रूपमा पहिचान गराउने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यसअघि आरम्भ नाट्य समूहको नाममा क्रियाशील रहेको संस्था हाल आरम्भ नाट्य डबलीको नाममा पुनर्जन्म भएको उनको भनाइ थियो ।

धरानमा रंगकर्म सुस्ताउनुमा व्यावसायिक हुन नसक्नु, रंगकर्ममा सार्थक सोच र प्रतिबद्धताको कमी हुनु, रंगकर्मसम्बन्धी थियटर हल, प्राविधिक सामग्री र अन्य साधन स्रोतहरूको अभाव हुनु, कलाकारमा चलचित्रप्रतिको अन्धमोह र पलायन, थियटरको विकासमा राज्य उदासिन रहनु, अभिनय प्रशिक्षण, गोष्ठी, कार्यशाला गराउने निकाय नहुनु, कलाकारहरू व्यावहारिक जिम्मेवारीहरूका कारण विभिन्न बाध्यता र विवशताहरूको जञ्जालमा फस्नु जस्ता कारणहरू रहेको उनको भनाइ थियो ।

संस्थाले आगामी कार्यक्रमका रूपमा विधान दर्ता, एकल नाटक प्रस्तुति, प्रशिक्षण तथा अभिनय कार्यशाला, रंगमञ्च तथा रंगकर्मबारे बौद्धिक अन्तक्र्रिया र गोष्ठी आयोजना गर्ने, महिनामा एकपटक नाटक मञ्चन गर्ने र नाटक संग्रह प्रकाशन गर्ने जनाएको छ ।

आरम्भका पुराना कलाकारहरू सन्तोष थेबे, राजन दाहाल, सुवर्ण पलिखे, सचिन क्षेत्री, राजेश थापा मगर, राजिव आचार्य, प्रताप राईलगायत धरानको रंगमञ्च ब्युँताउन उत्साहका साथ जुटेका छन् ।

प्रतिक्रिया