नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रतिको सडक दुर्घटनामा परी ३ जेठ २०५० मा निधन भएको थियो । तत्कालीन परिस्थिति देशी–विदेशी साँठगाँठका कारण उनको सुनियोजित षडयन्त्रका साथ हत्या गरिएको उनकै पार्टीले आरोप लगाएको थियो । सामान्यजस्तो देखिए पनि उक्त घटना भयावह राजनीतिक चक्रब्यूह थियो भनिन्थ्यो भनिन्छ । दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित चढेको जीप दुर्घटनामा परेको खबर फैलिएपछि त्यसबेला सारा मुलुक शोकमा डुबेको थियो । जनताहरू स्तब्ध भएका थिए । एक राष्ट्रवादी नेता विलय हुँदा कतिले लाश नभेटुन्जेल खाना खाएनन् त कतिले कपालसमेत खौरे । तर, उक्त घटना दुर्घटना थियो वा षड्यन्त्रमूलक हत्या भन्नेबारे अहिलेसम्म कुनै ठोस तथ्य बाहिर आएको छैन । र उक्त घटनाबारे बितेको २३ वर्षसम्म गठन भएका कुनै पनि सरकारले छानबिन गरेन ।
मदन भण्डारी
मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनको एकजना प्रखर अगुवा र कम्युनिस्ट आन्दोलनका विशिष्ट सिद्धान्तकार थिए । उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपले मार्गदर्शन गरिरहेको छ ।
सामन्तवाद विरोधी आन्दोलनका अगुवा र गणतन्त्रका प्रवल पक्षधर मदन भण्डारीले अघि सारेका विचारहरूलाई आधार मान्दै नेकपाको आन्दोलनले निश्चित रूपमा नयाँ नेपाल बन्ने र नेपाली जनताको आमूल परिवर्तनको सपना पूरा हुने सम्भावना थियो । पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशनलगायत तराईको पार्टी कामको सिलसिलामा दासढुंगामा जीप दुर्घटनामा उनको मृत्यु भएको थियो ।
भण्डारी पूर्वी पहाड ताप्लेजुङमा पिता देवीप्रसाद भण्डारीका माइलो छोरोको रूपमा शिक्षित परिवारमा ०९ साल १४ असारमा भएको हो । ताप्लेजुङमा सामान्य पढाइ सकेपछि आचार्यसम्म र एमए गर्न भण्डारी बनारस विश्वविद्यालय गए । उनले डबल एमए गरे । जुन विश्वविद्यालयमा किसुनजी, पुष्पलाललगायत धेरै नेपाली नेताहरूले पढेका थिए ।
भोजपुरमा जन्मिएर मोरङमा अध्ययन गर्दै गरेकी पार्टी कार्यकर्ता विद्यादेवी पाण्डेसँग तत्कालीन मालेको निर्णयबमोजिम भण्डारीको जनवादी विवाह भएको हो । बनारसको विद्यार्थी जीवनमा शायद नेपाली पुराना नेता र विशेषगरी भारतका कम्युनिस्ट नेताहरू ज्योति बासु, तत्कालीन भाकपाका नेता हरिकिशुं सुरजीत र नेपाली नेताहरू पुष्पलाल, मनमोहन, मोहनविक्रम सिंह, नरबहादुर कर्माचार्य, बिपी कोइराला, सहना प्रधानसँगको सम्पर्कले नेपालको आमूल परिवर्तनको लागि सोच्न झक्झकायो उनलाई । त्यतिबेला भारतमा कम्युनिस्ट आन्दोलन फस्टाइरहेको थियो । भण्डारीको वामपन्थी राजनीतिको झुकाव पहिल्यै भए पनि सक्रियता निखारपन, क्रन्तिभाव देशभक्ति गणतात्रिक र आमूलपरिवर्तनको सोच बनारसको अध्ययनको क्रममा बढेको मानिन्छ ।
मदन भण्डारीको राजनीतिक यात्राका क्रममा उनी पुष्पलालले खोलेको विद्यार्थी मोर्चाको सेन्ट्रल कमिटीको मेम्बर बनेका थिए । ०२८ सालमा बनारास विश्वविद्यालयमा पढ्न जाँदाको समयमा नै उनी वामपन्थी राजनीतिक प्रभावमा परिसकेका थिए । उनी पढाइमा अत्यन्त तेजिलो थिए । उनी कविता, जनावादी गीतका रचयता पनि हुन् । ‘ए हली दाइ बाँदेर ल्याउ है सामन्ती ठूलेलाई’ र ‘जमीन हुन्छ जोत्नेको धरती पुत्र हे वीर किसान हो’ लोकलयमा आधारित यी गीतका लेखक नेता भण्डारी र यी गीत जनावादी गीत सायद भाग १ वा २ मा छ । झिल्को, संकल्पलगायत भूमिगत प्रकासनमा उनका दर्जनौँ लेख, दर्शनसम्बन्धी बिचार, क्रान्तिकारी लेख, कविता तथा गीत छापिएको थियो ।
नेपालका वामपन्थी शक्ति, प्रजातान्त्रिक शक्ति र राष्ट्रवादी शक्तिहरूले भण्डारीबाट सिक्नुपर्ने विषय धेरै छन् । उनी सिद्धान्तमा अडिग थिए, कार्यनीति तय गर्दा जहिले पनि जनता र देशको स्वार्थ हेर्थे । आर्थिक रूपमा उनी कुनै कुरामा विवादमा आएनन् । पार्टीको महासचिवजस्तो शक्तिशाली पदमा रहेका बेला पनि उनी सामान्य डेरामा बस्थे । काठमाडौंमा उनको कुनै घर थिएन ।
वर्गविश्लेषण र वर्गबीचको अन्तरविरोध र त्यसको निकास जाति, भाषा, अर्थ, संस्कृति, रितिरिवाज, भेषभूषासम्बन्धी उनको राम्रो अध्ययन थियो । उनी सामन्त, शोसक तथा त्यसलाई सहयोग गर्ने दलालप्रति अत्यन्तै कडा ढंगले प्रस्तुत हुन्थे । सादा पोसाक, प्रायः कालो भादगाउँले टोपी, सामान्य चस्मा, जाडोमा सस्तो तर सफा जाकेट, प्रायः जिल्ला जाँदा पैदलै हिँड्ने तथा जनतासँग अत्यन्तै राम्रो सम्बन्ध राख्न सक्ने खुबी उनमा थियो । नेपाल सरकारबाट मदन भण्डारीको हुलाक टिकट प्रकाशित छ ।
भण्डारीले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिए । सबै प्रकारका तानाशाही त्रास धम्की र एकदलीय निरंकुशतालाई मदन भण्डारीले सदैव विरोध गरे ।
जीवराज आश्रित
आमा चन्द्रकला र बुवा प्रेमराज शर्माका जेठा छोरा जीवराज आश्रितको जन्म ०१ साल १८ साउनमा गुल्मीको हरेवा गाविस–९ रिठारुखमा भएको हो । ०२० सालमा उनको सपरिवार रुपन्देहीको हसनापुर बसाइँ स¥यो । आश्रितले हरेवा, शान्तिपुर र भैरहवाका विद्यालयहरूबाट हाइस्कुल, सिद्धार्थ कलेज पक्लिहवा पढ्दा कलेजबाट जाजरकोट आर्थिक सर्वेक्षण पैदल भ्रमण, युपी बोर्ड र त्रिभुवन युनिभर्सिटीबाट बिएसम्मको अध्ययन पूरा गर्दै अनिवार्य प्रावि र गणेश जनता हालको कान्ति उमावि बुटवलमा अध्यापन गरे ।
०३२ मा माया ज्ञवालीसँग उनको विवाह भयो । उनका छोरा डा. सागर न्यौपाने र छोरी उषा न्यौपाने छन् । आश्रित ०२३ मा नवजागृति पुस्तकालय र ०२५ मा रेलिमाई सांस्कृतिक मन्डल बुटवलको सचिव र अध्यक्ष बने । उनले ०२६ मा १८ वटा कलेजका विद्यार्थीको हितमा आन्दोलनको नेतृत्व गरे । आश्रितले ०२२ मा पुष्पलालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिए र ०२३ सालमा देवेन्द्र घिमिरेको नेतृत्वमा पहिलो पार्टी कमिटीमा संगठित भए । उनी ०२८ देखि ०४७ सम्म भूमिगत रही ०४७ साल १७ वैशाखमा सार्वजनिक भएका थिए ।
०२६ सालमा उनी १८ महिना जेल परे । उनी ०२८ सालमा लुम्बिनी अञ्चल पार्टी ब्युरो सदस्य, ०३० सालमा अर्घाखाचीको इन्चार्ज, ०३३ सालमा पुष्पलाल समूहबाट विद्रोह, ०३४ मा मुक्तिमोर्चासँगै कोअर्डिनेसनमा विलय र पोलिटब्युरो सदस्यमा मनोनयन भए । आश्रित ०४६ सालको चौथो (मालेको) र ०४९ सालको पाँचौँ महाधिवेशनबाट एमाले पोलिटब्युरोमा र संगठन विभाग प्रमुख बने । ०४८ को आमनिर्वाचनमा गुल्मी–२ बाट उम्मेदवार बने ।
आश्रितले भारतका विभिन्न ठाउँ, चीन, उत्तर कोरियाको भ्रमण गरे । ०५० साल ३ जेठमा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीसँगै आश्रितको पनि दासढुंगामा भएको जीप दुर्घटनामा रहस्यपूर्ण दुःखद् निधन भयो ।
नेपाल सरकारबाट जीवराज आश्रितको हुलाक टिकट प्रकाशित छ । उनको स्मृतिलाई चिरस्थायी तुल्याउन ०६६ सालमा देवेन्द्र घिमिरे संस्थापक अध्यक्ष रहेको जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलमा स्थापित छ ।
प्रतिक्रिया