मल्लिका र पुनमलाई स्वर्ण

काठमाडौं । आनन्द नगर डोजोकी मल्लिका तामाङ र न्यू लिराकी पुनम पौडेलले तेस्रो महान सिद्धार्थ उपत्यकाव्यापी खुला कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपाल सितेरियो डो संघ महान सिद्धार्थ शाखा डोजोको आयोजनामा भएको महिला २० केजी तौल समूहको प्रतस्पिर्धामा तामाङले जोरपाटी डोजोकी रुसा वाईवालाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । आनन्द नगरकी निमा शेर्पा र स्वर्ण शिक्षाकी अस्मिता श्रेष्ठले कांस्य पाए ।

चाबहिल कुमारीगालस्थित महान सिद्धार्थ स्कुलको प्रांगणमा भएको प्रतियोगिताको २५ केजी तौलमा न्यू लिराकी पुनम पौडेलले प्रथम स्थान हात पारिन् । दोस्रो स्थानमा गोजुरियोकी रविना रम्तेल तथा तेस्रो स्थानमा सुन्दरीजलकी मनिका तामाङ र सरस्वती नगरकी सुस्मिता वाइवा रहे ।

यस्तै ३० केजी तौलमा जोरपाटी डोजोकी मिङमा तामाङले स्वर्ण प्राप्त गर्दा सरस्वती डोजोकी समिता पुरीले रजत पाइन् । शंखडोलकी लाक्पा डोल्मा शेर्पा र डेमिसकी सोनु लामाले कांस्य हात पारे । ३५ केजीमा जोरपाटी डोजोकी कोपिला लामिछानेले स्वर्ण पाइन् । उनले फाइनलमा शंख डोलकी अनिता तामाङलाई पाखा लगाएकी थिइन् ।

गोजुरियोकी सन्जु वोगटी र सुन्दरीजलकी रिता तामाङ संयुक्त तेस्रा भए । ४० केजीमा न्यू लिराकी रोजिता ढुंगेललाई पाखा लगाउँदै आनन्द नगरकी कोपिला बुढाथोकीले प्रथम स्थान हात पारिन् । भक्तपुरकी सरिता तामाङ र गोजुरियोकी अस्मिता लामाले कांस्य पाए । ४५ केजीमा जोरपाटीकी अलिसा तामाङले भक्तपुरकी करुण श्रेष्ठलाइ पन्छाउन सफल भइन् । तेस्रो स्थानमा सरस्वतीकी कृषला लामा र सुन्दरीजलकी डोमा तामाङ रहे ।

पुरुषको २० केजीमा भक्तपुरका सुभाष परियारले स्वर्ण, शंखडोलका अनमोल राईले रजत तथा स्वर्ण शिक्षाकका राजन विक र न्यू लिराका सुशान्त हुमागाईंले कांस्य पाए । २५ केजीमा सरस्वतीका मिङमा लामाले स्वर्ण, बुढानीलकन्ठका दिपेन राईले रजत तथा न्यू लिराका विनोद माग्रान्ती र सुमन तामाङले कांस्य पाए । ३५ केजीमा बढानीलकण्ठका सागर रुम्बाले सरस्वतीका श्रीकृष्ण श्रेष्ठलाई पाखा लगाउँदै स्वर्णमा नाम लेखाए । सिर्जनाका मिङसाङ लामा र भक्तपुर डोजोका एरिस शर्माले कांस्य पाए । ४० केजीमा न्यू लिराका राजकुमार लामाले स्वर्ण प्राप्त गर्दा सरस्वतीका नविन रायले रजतमा चित्त बुझाए । गोठाटार डोजोका समीर बस्नेत र प्रमिश कार्कीले कांस्य पदक पाए ।

२ दिने प्रतियोगितामा उपत्यकाका २६ डोजोका ३ सय ६१ खेलाडीले महिला र पुरुषतर्फ २० देखि ५५ केजी तौल समूह र व्यक्तिगत काता गरी १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको व्यवस्थापिका–संसदका सांसद माननीय गगनकुमार थापाले द्वीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । (सौस)

प्रतिक्रिया