जुनियर फुटबल एकेडेमी फर्कियो

nepal youth playerकाठमाडौं, २९ वैशाख । अमेरिकामा रहेको विश्वकै उत्कृष्ट मानिएको आइएमजी एकेडेमीमा फुटबल प्रशिक्षण गरेर जुनियर फुटबल एकेडेमीका खेलाडी स्वदेश फर्किएका छन् । फ्लोरिडास्थित रहेको आइएमजीमा विश्वका ३० भन्दाबढी राष्ट्रसँगै नेपाली युवा खेलाडीले प्रशिक्षण गरेका थिए ।

जुनियर फुटबल एकेडेमी(जेएफए)का खेलाडीले अर्जेन्टिना, ब्राजिल, घाना, दक्षिण अफ्रिका र अमेरिकाका प्रशिक्षकसँग विधागत र स्किल प्रशिक्षण लिएका थिए । खेलाडीलाई भिजल, प्रयोगात्मक, मनोरन्जन र सैद्धान्तिक रूपमा दक्षिण अमेरिकी प्रशिक्षकले प्रशिक्षण गराए । जेएफए यू–१६ खेलाडीलाई एकेडेमीका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले नेतृत्व गरेका थिए । चार दिने तालिम पश्चात खेलाडीले यू–१६ फुटबल फेस्टिबलमा समेत सहभागिता जनाए ।

त्यस्तै ३० अप्रिलदेखि १० मे आइएमजीमा रहेका १८ खेलाडी, ३ अफिसियल र १ प्रशिक्षक मनोरन्जनात्मक क्रियाकलापमा सहभागी भए । टोली अफिसियलमा डिकेस प्रधान र उपेन्द्र श्रेष्ठ छन् । पुजन लामाको कप्तानीमा रहेको खेलाडीहरूमा क्रृत दत्त, ओम दाहाल, एलेन पन्त, विपेश बुढाथोकी, अनिष थापा, विप्लप लामिछाने, प्रनव श्रेष्ठ, लिटल सुवेदी, कुशल श्रेष्ठ, रोज श्रेष्ठ, अर्मान श्रेष्ठ, प्रगति राई, अमिशा श्रेष्ठ, निक्की सुवेदी र निश्चल न्यौपाने सहभागी थिए ।

जेएफएका युवा खेलाडीको मिहिनेतबाट आइएमजीका प्रमुख प्रशिक्षक केभिन राइट प्रभावित भएको जेएफए प्रशिक्षक क्षेत्रिले बताए । बालुवाटारस्थित रहेको जुनियर फुटबल एकेडेमीमा हाल १ सय युवा फुटबल प्रशिक्षणरत छन् । यसअघि एकेडेमीले थाइल्यान्ड, चीन र भारतलगायत थुप्रै राष्ट्रमा प्रशिक्षण गर्नुका साथै प्रतियोगितासमेत खेलिसकेको छ ।

प्रतिक्रिया