राजधानीमै सरकार भेट्न नपाएकाहरू

3एकवर्ष बितिसक्दा पनि भूकम्पपीडितको अवस्था उस्तै छ । सरकारले बेलाबेला ठूला कुरा गर्छ– अहिले नै केके न गरौँला झैँ गरेर । त्रिपाल र टहरामा बस्ने पीडितहरूले भने सरकार छ भन्ने कुराको अनुभूति गर्न पाएका छैनन् । भूकम्पका कारण विस्थापित र विभिन्न स्थानबाट आएर बौद्ध चुच्चेपाटीमा रहेको खाली जमीनमा बस्नेहरूको संख्या अहिले पनि करिब १३ सयको हाराहारी छ । यहाँ बस्ने कसैले सरकारको अनुभूति नगरेको बताए । अघिल्लो वर्षा र हिउँद त्रिपालमुनि बिताएका उनीहरू यो वर्षा कसरी काट्ने भन्ने चिन्तामा छन् । टालैटाला भएको त्रिपालमा २÷४ दिन बिताउन सकिएला तर पोहोरको वर्षा त्रिपालमै बिताएका उनीहरूको अनूभूति कम कष्टकर छैन ।

‘यो त्रिपालमा बिताएको कष्टकर दिनहरूले भन्न बाध्य बनाएको छ, सरकार काठमाडौंमा ठूला घर भएकार पहुँचवालाको मात्र रहेछ, हामी गाउँबाट आएर यो सहरमा ज्यालामजदुरीले बाँच्नेहरूका लागि सरकार छैन रहेछ, अनुभूति गर्न सकेनौँ हामीले’, ओखलढुंगाका कमल खड्काले आक्रोश पोख्दै भने । कमल दिउँसोको मध्य घाममा भत्किएको टहराको मर्मत गर्दै थिए । आफ्नो कामलाई निरन्तरता दिँदै उनले भने, ‘गएको वर्षामा लागेको थियो, योपटक भूकम्प र वर्षासँगै भयो, समयले भ्याएन अर्को वर्ष सरकारले पक्कै केही न केही व्यवस्था गर्ला । तर, हामीले हेर्दाहेर्दै नयाँ सरकार पनि आयो तर हाम्रो अवस्था जहाँको तहीँ रह्यो, मन्त्रीहरू फेरिए तर आम्रो अवस्था फेरिएन ।’ खड्काको (३ जनाको) परिवारले गएको वर्षा त्रिपालमा बिताए । कोल्डस्टोरमा काम गर्ने उनका लागि सहरको महँगा कोठा खर्चले धान्दैन । यही टहरो उनका लागि वाध्यताको वास हो ।

2कमल चाहेर पनि गाउँ जान सक्दैनन् । थोरै खेतबारीको उब्जनीले खान पुग्दैन । गाउँको सानो घरलाई पनि भूकम्पले छोडेन, त्यो पनि भत्कियो । त्यसैले त उनका लागि वाध्यताको आवश्यकता बनेको छ, यो सहर । ‘हामीले टेलिभिजनमा सरकारका आर्कषक कुरा धेरै सुन्यौँ, पत्रिकामा पढ्यौँ– ‘कोही भोको बस्नुपर्दैन सबैलाई छाना दिइनेछ’ भनेको ।’ उनी दुखेसो पोख्छन्, ‘यी झुपडीमा आएर सोध्नुप¥यो हामी कसरी बसेका छौँ भनेर । हामीले सरकारको आश्वासन अनुभूति गर्न पाएनौँ ।’

‘दिउँसो घमले तातेर बस्न सकिँदैन, हावा हुरीबाट जोगाउन कहिले यो छेउ समातेर बस्यो कहिले ऊ छेउ तानेर बस्यो । अस्तिको हुरीले सबै पाल उडायो त्यसलाई तानतुन पारेर बसेको छौँ । वर्षामा पानी चुहिन्छ छेउ छेउबाट भल बगेर भित्र पस्छ, जाडोमा कति विजोक भयो । यहाँ बसेर भोग्नेको पीडा सुन्ने र बाहिरबाट हेर्नेले गर्न सक्दैन,’ कमलले आफ्नो त्रिपालमुनिको बासको कटु अनुभव सुनाउँदै गए, ‘हामी रहरले यहाँ बसेका होइनौँ, हाम्रा बाध्यता छन् । सरकारले उचित ढंगले पुनर्वास गर्ने हो भने हामी यहाँ बस्दैनौँ ।’ कमलले आफ्ना आर्थिक अवस्था र बसाइको समस्याले यति बेला पत्नीसँगै काखे छोरालाई ससुराली पठाएको बताए ।

चुच्चेपाटीमा मात्र ५ सयभन्दा बढी छाप्रो छन् । जहाँ १ वर्षदेखि अनेक संघर्षले बसेका छन्– भूकम्पपीडितहरू । सिन्धुली घर भएकी हिरा मगरका पति ज्यामी काम गर्छन् । भूकम्पको बेला उनीहरूको कोठा मैजुवालमा थियो । बसेको घर चर्किएपछि उनीहरू सुरक्षित ठाउँ खोज्दै यही चौरमा आइपुगेका रहेछन् । मगरको परिवार त्रिपालले घेरिएको साँघुरो कटेरोमा गुजारा गर्न बाध्य छन् । काखमा रहेको छोरालाई अक्षर चिनाउँदै हिराले भनिन्, ‘अब यहाँ नबसेर कता जानु, पहिला बसेको घर बस्न नहुने भयो । अन्त कोठा खोज्दा महँगो भन्छ । एकजनाको कमाइले कोठाभाडा तिर्ने की खाने ? महँगो कोठामा बसेर मात्र भएन खानुप¥यो नाकाबन्दीको बेला ग्यास पाइएन यहाँ आगोमा पकाएर खान त पाइयो ! पक्की घरको कोठामा भए आगो बाल्न पाइँदैन थियो ।’ उनको सानो कटेरोमा चुलो ओछ्यान सँगसँगै छ । हिराले सामाजिक संस्थाले दिएको राहतबाहेक सरकारी तवरबाट केही नपाएको गुनासो गरिन् ।

दोलखा घर भएकी सरस्वती मगरको समस्या पनि उस्तै छ । उनको परिवारले पनि १ वर्षदेखि यही संघर्ष गरिरहेका छ । धुवाँको मुस्लोमा आँखा मिच्दै उनले भनिन्, ‘पति मिस्त्री काम गर्छन्, उनको कमाइले पेट पाल्न गाह्रो छ । कोठा भाडा एक्कासी बढ्यो, बजारको महँगी धान्न सकिँदैन, यहाँ नबसेर कता जानु ?’ सरस्वतीको गाउँको घर पनि सुरक्षित छैन । फेरि बेलाबेला आउने पराकम्पनले उनको मन त्रसित छ । यस्तो अवस्थामा कसरी गाउँ जाउन् उनी । अँगेनामा बसालेको तरकारी चलाउँदै उनले भनिन्, ‘यी यहाँ भए आगोमा पकाएर खान पाइयो । के गर्ने काँचो खान सकिँदैन जसरी पनि बाँच्नै प¥यो । यस्तो ठाउँमा यति दुःखले रहरले बसेका हौँ र ? राती अनेक खालका मान्छे आउँछन् ढोका छैन ढुक्कले निदाउन पाउदैनौँ । एकै सासमा आफ्ना पीडा सुनाइन् उनले ।

‘परिवार पाल्न कामखोज्दै भारत गएका पति ५ वर्ष पहिला बिते, काठमाडौंमा काम गरेर केटाकेटी पालौँला भनेर आएको, अहिले भोकभोकै मर्ने भयौँ,’ सुर्खेतकी पवित्रा जोसीको पीडा पनि उस्तै छ । १२ वैशाखको भूकम्पले जयबागेश्वरीमा उनी डेरा गरी बसेको घरमा पुरिएर घाइते भइन् । अहिले पनि उनको स्वास्थ्य अवस्था ठीक छैन । ‘४ जना साना केटाकेटी छन्, अरूको घरमा साँझबिहान काम गरेर गुजारा गर्दै आएकी थिएँ । अहिले काम गर्न पनि सक्दिनँ केटाकेटी पनि सानै छन्,’ मलिन अनुहार बनाउँदै उनले भनिन्, ‘यसरी मर्नु न बाँच्नुको अदकल्चो भएर बस्नुभन्दा भुतुक्कै मर्नु पाए हुन्थ्यो ।’ बेलाबेला हुने सरकारी घोषणा उनले पनि सुनेकी छन्, तर उनले पनि केही पाएकी छैनन् । सरकारप्रति उनको पनि उस्तै आक्रोश छ, ‘सबै भन्ने मात्र हुन्, केही गर्दैनन् । उनीहरूले खान नपाएको भए थाहा हुन्थ्यो भोकाहरूको समस्या ।’

1तारागाउँ विकास समितिको उक्त जमिनमा भूकम्पीडित बस्न थालेसँगै उनीहरूको सहयोगमा जुटेकी सोलुखुम्बुकी समाजसेवी याङजी शेर्पाको समय पनि धेरैजसो यतै बित्छ । दिनहुँजसो उनीलाई यहाँ भेट्न सकिन्छ । उनले सुरुका दिनमा खानेपानी र शौचालय निर्माणका लागि सहयोग जुटाइन् । आफूले देखेको यहाँको अवस्था उनले सुनाइन्, ‘यहाँ सुरक्षाको ग्यारेन्टी छैन, महिला केटाकेटी बस्छन् । कसैको पनि टहरामा ढोका छैन ।’ त्रिपालभित्रको ओड्ने ओच्छाउनेसमेत दिउँसै हरायो भन्ने बेलाबेला आफूले सुन्ने गरेको उनले अनुभव सुनाइन् । शेर्पाले भनिन्, ‘यो ठाउँमा सरकारी निकाय कोही आएको छैन । सामाजिक संघसंस्थाको सहयोग र आफ्नै ज्याला मजदुरीले चलेको छ यिनीहरूको दैनिकी ।’ यो एक वर्षमा धेरै महिला यही टहराहरूमा सुत्केरी भए । महिलाको लागि त्योभन्दा कठिन समय कहिले होला ? त्यस्तो अवस्थामा पनि उनीहरूका लागि राज्यले केही गरेन । सरकारले दीर्घकालीन रूपमा हुनेगरी यसरी घामपानीमा बस्न बाध्य भूकम्पपीडितलाई तत्काल सहयोग गर्नुपर्ने याङजीको आग्रह छ ।

यो चौरमा बस्ने भूकम्पपीडितका लागि बत्तीको समस्या छ । उनीहरू दिउँसो खाजा बनाएर खान पनि पाउँदैनन् । ग्यास किन्न नसकिने र यस्तो खुला ठाउँमा दिउँसो आगो बाल्दा आगलागी हुनसक्ने भएकाले भोकै बस्छन् उनीहरू । यहाँका केटाकेटीलाई स्कुल पढ्न पनि समस्या रहेको छ । यहाँका सबै भूकम्पपीडितको एउटै प्रश्न छ, ‘खै कहाँ छ सरकार ?’ उनीहरूले आफ्नो झुपडीमा आएर दुःख बुझिदिन सरकारसँग आग्रहसमेत गरे ।

प्रतिक्रिया